योग र ध्यान अनुसरण गर्न सके महाव्याधिबाट छुट्कारा मिल्छः प्रदेश प्रमुख पौडेल

पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले योग साधनाले मन, मस्तिष्क र शरीरलाई सन्तुलन राखेर स्वस्थ जीवन प्राप्त गर्न सकिने बताएकी छन् । सातौंँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले जीवनलाई सकारात्मक सोचबाट अगाडि बढाउन योग साधना र ध्यानको महत्वमा जोड दिएकी छन् ।

योगले मनको भाव शुद्ध र सकारात्मक राख्न सघाउ पु¥याउने जनाउँदै सन्देशमा भनिएको छ, “योग कुनै धर्म र अध्यात्मसँग नभई शरीर र प्रकृतिसँग सम्बन्धित छ, चित्तको शुद्धता नै योगको प्रस्थानविन्दु हो र जीवनमा सदाचार प्राप्त गर्नका लागि योगको विकल्प छैन ।”
पुर्खाबाट खोज, अनुसन्धान र अभ्यास भइआएका योग र ध्यान साधनालाई नयाँ पुस्ताले पनि अनुसरण गर्न सके ठूलाठूला रोग र महाव्याधिबाट छुट्कारा मिल्ने र स्वस्थ जीवन बाँच्न सकिने सन्देशमा जनाइएको छ ।

सन्देशमा विश्व कोरोना महामारीसँग जुधिरहेका वर्तमान अवस्थामा शुद्ध आहार र सकारात्मक चिन्तनको आवश्यकता औंल्याउँदै स्वस्थ र तनावमुक्त जीवन शैली व्यतीत गर्न योग साधनाको महत्व रहेको उल्लेख छ ।

प्रदेश प्रमुख पौडेलले आज नै परेको संगीत दिवसका अवसरमा सम्पूर्ण नेपालीमा सकारात्मक चिन्तनसहित स्वस्थ जीवन व्यतीत गर्न सक्ने ऊर्जा मिलोस् भनी कामना गरेकी छन् । सन् २०१५ देखि संयुक्त राष्ट्र संघले अन्तरराष्ट्रिय योग दिवस मनाउन शुरु गरेको हो । संसारभर जुन २१ लाई योग दिवसका रुपमा मनाइन्छ ।

You might also like

Comments are closed.