रोयल बहुउद्देश्यीय सहकारी संस्था लि. बिगत २५ वर्षदेखि संचालनमा छ । यो सहकारी देशभरका उत्कृष्ट सहकारी मध्यको पहिचान बनाउन सफल छ । राजधानीको बसुन्धारामा केन्द्रीय कार्यालय रहेको सहकारीका ५ वटा सेवा केन्द्रहरु छन् । सहकारीमा अहिले करिब ८ हजार सदस्य आवद्ध छन् । पछिल्लो समय नेपालका सहकारी क्षेत्रमा विभिन्न प्रकारका समस्या, विकृति तथा विसंगति बढिरहेको गुनासाहरु आइरहेका छन् । यी लगायत विविध सन्दर्भमा केन्द्रित रहेर सहकारीका प्रवन्ध निर्देशक सीताराम काफ्लेसंग आर्थिक आवाजका लागि सुरेन्द्र पौडेलले गरेको कुराकानीः
रोयल बहुउद्देश्यीय सहकारी संस्था लि. २५ वर्षदेखि संचालित छ । रोयलको २५ वर्षे यात्रालाई कसरी स्मरण गर्नुहुन्छ ?
रोयल बहुउद्देश्यीय सहकारी संस्था अहिले २५औं वर्षको यात्रामा छ । हामी काठमाडौंसहित पोखरा, स्याङ्जा, तनहुँलगायत विभिन्न ठाउँमा २०५७ सालसम्म १० वटा शाखा विस्तार गरेका थियौं । २०५८ सालमा हामीले सबै शाखालाई स्वायत्तता प्रदान गर्यौं । यो २५ वर्षको अवधिमा धेरै आरोह अवरोह, धेरै नै उतारचढावसहित सबै परिस्थितिको सामना गर्दै आजको अवस्थामा आएका छौं । विविध परिस्थितिहरुको सामना गर्दै अगाडि बढ्ने क्रममा रोयल सहकारीले सफलताको यात्रालाई भने निरन्तर अगाडि बढाइरहेको मैले महसुस गरेको छु ।
कोरोना महामारी र आर्थिक मन्दीको अवस्थाका बीच गत वर्षको वित्तीय विवरण कस्तो रह्यो ?
हामीसँग अहिले ८ हजार सदस्य छन् । हाम्रो प्राथमिक पुँजी करिब ११ करोड रुपैयाँ छ । निक्षेप १ अर्ब ३० करोडको हाराहारीमा छ भने कर्जा लगानी १ अर्ब ५० करोडको हाराहारीमा छ । यसको प्रधान कार्यालय बसुन्धारामा करिब १ रोपनी जग्गामा फैलिएको छ । हामीले चार पाँच वर्षदेखि शाखाहरु पनि आफ्नै भवनमा संचालन गर्ने सोचअनुरुप फर्पिङमा आफ्नै भवन बनिसकेको छ । टोखामा पनि आफ्नै भवन छ । बाँकी तीन ठाउँबाट पनि जमिन खरिद गरेर संस्थाको आफ्नै भवन संचालन गर्ने भन्ने योजना बनाएका छौं । पछिल्लो समय विश्वव्यापी कोरोना महामारीले पारेको असरले अहिले समग्र वित्तीय क्षेत्रमा तरलताको चाप बढेको छ । तरलताको चापले निक्षेपको व्याजदर बढेको छ । जसले गर्दा नाफामा संकुचन आएको छ । हाम्रो गत वर्षको नाफा डेढ करोडको हाराहारीमा छ ।
रोयल सहकारी समग्र सहकारी क्षेत्रको एउटा उत्कृष्ट सहकारी मध्येमा पर्छ । सहकारीका सदस्यहरुको हकहितमा कसरी काम गरिरहनुभएको छ ? लगानीका लागि विशेष गरी कुन क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्नुभएको छ ?
हामीले बिजनेसलाई विविधीकरण गरेका छौं । हामीले बैंकिङलाई सानो लोनमा फोकस गरेका छौं । हाम्रो मल सेक्टर भनेको कृषि हो । कृषिलाई व्यावसायीकरण गर्ने, औद्योगीकरण गर्ने र आत्मनिर्भर मात्रै होइन कि प्रमुख आर्थिक आर्जन गर्ने क्षेत्रको रुपमा विकास गर्नुपर्छ भन्ने मान्यताका साथ कृषि कम्पनीमार्फत हामीले इको सिस्टम विकास गर्न खोजिरहेका छौं । किसानदेखि उपभोक्तसम्मलाई यसमा जोड्न खोजिरहेका छौं । हामीले बिगत लामो समयदेखि अध्ययन गरेर किसानका क्षेत्रका समस्या, आम उपभोक्ताको समस्या, समग्र कृषि क्षेत्र र कम्पनीका समस्या बुझेका छौं । समस्याबारे गहिराइमा गएर विश्लेषण गरी हामीले त्यसभित्र समाधानका उपाय निकालेका छौं । यीनै समस्याहरुलाई सम्बोधन गर्दा एउटा विजनेश मोडल बन्यो । यसमा किसानका समस्या के छन् त्यसको सम्बोधन गर्नेछौं । सबै उत्पादक पनि उपभोक्ता हुन् । अहिले मूल्य तिरेर पनि गुणस्तरीय चिजहरु उपभोग गर्न पाइरहेको अवस्था छैन । अहिले बजारबाट उपभोग गरिरहेको वस्तुहरुमा अधिकांसको केहि पनि परीक्षण गरिएको छैन । हामीले अहिले अन्धाधुन्ध खाइरहेको अवस्था छ । त्यसले शारीरिक मात्रै होइन हाम्रो मानसिक स्वास्थ्यलाई पनि असर गरिरहेको छ । जसले गर्दा खानालाई शुद्धीकरण गर्नुपर्छ र उपभोक्ताले शुद्ध कुरा खान पाउनुपर्छ भन्ने उद्देश्यले कृषि क्षेत्रमा हामीले प्राथमिकताका साथ लगानी गरिरहेका छौं । हामीले सहकार्य गरिरहेको मुक्तिनाथ कृषि कम्पनीमार्फत कृषि क्षेत्रमा प्रयाप्त काम भएका छन् । हेल्थी र सेफ फुड उत्पादन हुनुपर्छ भन्ने हाम्रो मुख्य मान्यता रहँदै आएको छ । मुक्तिनाथ प्रडक्ट खाइसकेपछि मानिसलाई त्यसले अनुकुल फाइदा गर्छ प्रतिकुल असर गर्दैन । भोलि तपाईंले जे–जे कुराहरु मुक्तिनाथ प्रोडक्टबाट प्राप्त गर्नु हुन्छ त्यो हेल्थ हाइजेनिक मानव स्वास्थ्यप्रति सचेत र हेल्दी चिजहरु मात्रै उत्पादन हुन्छन् । त्यो भोलिका दिनमा तपाईंहरुले मुक्तिनाथ मार्ट अथवा मुक्तिनाथ बजारमार्फत प्राप्त गर्नुहुन्छ । हामीले उपभोक्ताको हितको लागि काम गर्न खोजिरहेका छौं । ताकि पैसा तिरिसकेपछि उपभोक्ताले शुद्ध र स्वस्थ कुराहरु उपभोग गर्न पाउनुपर्छ ताकि मानिसहरुको शारीरिकका साथै मानसिक स्वास्थ्य पनि राम्रो होस् । तेस्रोमा कृषि क्षेत्रलाई फाइदा हुँदैन भनेर आम मानिसले कृषि क्षेत्रलाई घाटा हुने क्षेत्रको रुपमा लिनेगरेका छन् । हिजो हामीले ट्रेडिसनल खेति गरिरहेका थियौं तर अब हरेक कुराहरु संस्थागत हुनुपर्छ । संस्थागत हुनका लागि कम्पनी बनाएर काम गर्दा कम्पनी घाटामा धेरै दिन टिक्न सक्दैन । त्यो नाफामा जानुपर्छ । त्यसैले हामीले भनेको मोडलमा जादा यस्ता कम्पनीहरु घाटामा होइन नाफामा जान सक्छन् । हामीले बनाएको योजनाले एकातर्फ आम उपभोक्ताले शुद्ध तथा अर्गानिक खाना खान पाउने भए भने अर्कोतर्फ देशलाई इकोनोमिक क्षेत्रमा र कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन पनि योगदान पुग्ने छ । यसका साथै गाउँगाउँमा कृषि सहकारी संस्थाहरुले कृषकलाई सपोर्ट गर्नेछन् भने सहर बजारमा यहाँ भएका सहकारी संस्थाहरुले सपोर्ट गर्ने भए ।
सहकारीहरुले कृषिलाई प्राथमिकता दिएर विविध क्षेत्रमा लगानी गरिरहेको छ । कतिपय बहुउद्देश्यीय सहकारीहरुको उद्देश्य एउटा हुन्छ भने बचत तथा ऋणको मात्रै काम गरेको हामी देख्छौं । रोयल सहकारी अरुभन्दा फरक कसरी छ ?
हामीले हाम्रो यो पाँच वर्षे योजनामा कृषिलाई व्यावसायिक गर्ने, देशभरीको कृषिलाई लार्ज स्केलमा प्रोडक्सन गर्ने र क्वालिटीको चिजहरुलाई सहकारीमार्फत नै डिष्ट्रिब्युसन गर्ने रहेको छ । हाम्रो पाँच वर्षे योजनामा म्याक्सिमम वान थर्ड कर्जा किसान र उत्पादनलाई टार्गेट गरेर गर्छौं । अहिले हामीले महिला, किसानलाई अथवा सानसानो लोनहरु दिइरहेका छौं । खासगरी माइक्रोफाइनान्सको मोडलबाट काम गरिरहेका छौं । माइक्रो फाइनान्सको मोडलबाट काम गर्दा हामी कम्पिटेटिभ हुन्छौं । घ वर्षको बैंकहरुले गर्ने ठाउँमा कम्पिटेटीभ छौं । त्यो थर्डभन्दा बढी बिजनेस हामी मार्ट चलाउँछौं । देशभरबाट हजारौं सहकारीहरुले उत्पादन गरेका मुक्तिनाथका प्रोडक्टहरुलाई बेच्ने स्थल मार्टलाई बनाउँछौं । उपभोक्ताप्रति कन्सियस भएर शुद्ध क्वालिटीको चिजहरु आम उपभोक्तालाई दिन सक्यौं भने भोलि गएर बल्ल सहकारीको महत्व हुन्छ । अनि मात्रै रोयल सहकारी भनेर मान्छे पनि आउने भए । समग्रमा हेर्दा सहकारीहरुले जे गर्नु पथ्र्यो त्यो गरिरहेका छैनन् । जे गर्नु पर्दैनथ्यो त्यो गरिरहेका छन् । यसले गर्दा हामीले जुन मोडल डेभलप गरेका छौं, त्यो हाम्रो लागि मात्रै भनिरहेका छैनौं । त्यो देशकै लागि हो । र, आउने पुस्ताको लागि यो मोडल हो ।
कतिपय सहकारीहरुको गलत कामले गर्दा समग्र सहकारी क्षेत्रलाई वित्तीय कारोबार गर्न अप्ठेरो अवस्था छ । सबै सहकारीहरु उस्तै हुन् भन्ने खालको मानसिकता आम नागरिकमा आउन थालेको छ । यस सन्दर्भमा यहाँको भनाई के छ ?
सहकारी वास्तबमा प्रजातान्त्रिक, लोकतान्त्रिक विधि पद्धतिबाट संचालन हुन्छ । यसको मूल्य मान्यता, सिद्धान्त, दर्शन हेर्ने हो भने असल मानिसहरुले असल विचार, असल संस्कार, असल व्यवहार भएको समूहले संचालन गर्ने हो । सहकारी व्यवसायलाई संसारमै इमानको व्यवसाय, इमानको पेशा भनिन्छ । तर, हामीकहाँ ठ्याक्कै उल्टो, बेइमानहरुले गर्ने पेशा जस्तो भएको छ । सबैले खराब इन्टेन्सनले सहकारी चलाएका छन् म भन्दिन । समयानुसार सहकारीको भावना, मूल्य मान्यताअनुसार, देशको आवश्यकताअनुसार या समाजको आवश्यकता अनुसार हरेक कार्यक्रमहरु ल्याउनुपर्ने हो । तर, जुन कुराको जरुरी छैन त्यो कुरा सहकारीहरुले गरिरहेका छन् । एउटा त हाम्रोमा मोडल पनि बनिसकेको छैन । कतिपय मानिसहरु छिटो कमाउने, रातारात धनी हुने हिसाबले पनि सहकारीमा प्रवेश गरेका छन् । नर्मल अवस्थामा त सबै चलिराखेकै थियो । तर जब अलि तरलताको चाप पर्न थाल्यो अनि सहकारीहरु बन्द भएर जाने स्थिति देखिएको छ । अहिलेसम्म ठुलो लेभलमा जति विकृति देखिएको छ, त्यहाँ सहकारीको नाममा पैसा कलेक्सन गर्ने अनि त्यो पैसा कलेक्सन गरिसकेपछि एक दुई जनाले कम्पनी बनाएर लगानी गर्ने गरेका छन् । त्यस्ता सहकारीहरु कुनै न कुनै दिन डुब्ने नै हुन् । र, कसैले त्यसरी लगानी गरेका छन् भने पनि अहिले ती सहकारीहरु अप्ठेरो अवस्थामा छन् । नेपालमा २०४८ सालदेखि सहकारी ऐन शुरु भएको हो । सहकारीको विभिन्न काल खण्ड हेर्दा अहिलेसम्म क्वान्टिटीको रुपमा सहकारीहरुको ग्रोथ भएको छ अबको समय भने सहकारी क्षेत्रको क्वालिटी ग्रोथ गर्न जरुरी छ ।
राष्ट्र बैंकले जसरी बैंकहरुलाई नियमन गरिरहेको हुन्छ, सहकारीहरुलाई त्यसरी नियमन गर्ने संस्था नभएको कारणले सहकारीहरुमा अलि बढी विकृति भएको भनिन्छ । यसमा तपाईको भनाई के छ ?
यो एकदमै ठिक कुरा हो, मलाई पनि त्यही नै लाग्छ । यति ठूलो कारोबार भइसक्यो । बजेटमा पनि ५० करोडको भन्दा माथिको राष्ट्र बैंकले हेर्ने भन्ने कुरा आइरहेको छ । यही आर्थिक वर्षको बजेटमा सहकारीहरुलाई व्यवस्थित गर्नुपर्छ, नियमन गर्नुपर्छ भन्ने कुरा आयो । ७÷८ खर्बको कारोबार भएको क्षेत्रमा विकृति आउदा यसलाई यत्तिकै छोड्नु हुँदैन । यसलाई कुनै न कुनै रुपमा राष्ट्र बैंकको दायराभित्र ल्याउन जरुरी छ र ल्याइसकेपछि वित्तीय अनुशासन, राष्ट्र बैंकको जुन गाइडलाइन छ त्यही अनुसार चल्छन् । राष्ट्रबैंकले नियन्त्रण गरेपछि ट्रयाकभित्र नआएर सुख हुँदैन । राष्ट्र बैंकले आफ्नो छातामा नराखेर नै यो समस्या आएको छ । कुनै न कुनै हिसाबले यो विषय पेचिलो पनि भएको छ । यसलाई इग्नोर गरेर जान मिल्दैन । यसलाई व्यवस्थित गर्नैपर्छ । राष्ट्र बैंकले आफूभित्र राख्नुपर्छ ।
समग्रमा नेपालको वित्तीय क्षेत्र, आर्थिक क्षेत्रमा तीन खम्बे अर्थनीतिमा एउटा खम्बा सहकारीलाई मानिन्छ । यहाँलाई समग्रमा सहकारीको योगदान कस्तो छ भन्ने लाग्छ ?
फाट्ट फुट्ट केही नराम्रा घटनाहरु भएपनि सहकारीको योगदान एकदमै ठूलो छ । तीस औं हजार सहकारी संस्थाहरुमा ७४÷७५ लाख मान्छेहरु प्रत्यक्ष जोडिएका छन् । करिब एक डेढ लाख नागरिकले प्रत्यक्ष रोजगारी पाएका छन् । यसले केही हदसम्म वेरोजगारी समस्या समाधान गरेको छ । सहकारीबाट आ–आफ्नो व्यवसाय गरेका छन् । अझ खासगरी महिलाहरु जो घरभित्रै हुन्थे ती महिलाहरुले सहकारीमार्फत इम्पावर गरेका छन् । महिला सशक्तीकरणमा सक्रिय भएका छन् । विभिन्न पेशा व्यवसायमा आवद्ध भएका छन् । बोल्नै नसक्ने महिलाहरु बाहिर खुलेर बोल्न सक्ने भएका छन् । आफ्नो अधिकार अनि कर्तव्यका बारेमा जागरुक भएका छन् । सहकारीमा पुरुषको भन्दा महिलाको सहभागिता नै बढी छ । कतिपय सहकारीहरुले स्वास्थ्यको क्षेत्रमा, शिक्षाको क्षेत्रमा काम गरेका छन् । विभिन्न योजनाहरु निर्माण गरेर काम नै गर्न नजानेकाहरुलाई काम गर्न सिकाएका छन् । उत्पादन गरेका वस्तुहरुलाई बजारीकरण गर्नका लागि त्यही खालको वातावरण सिर्जना गरेका छन् । बैंक वित्तीय संस्थाहरु पुग्न नसकेका ठाउँहरुमा पनि सहकारीहरुले काम गरिरहेका छन् । अहिले देशका अधिकांस क्षेत्रमा सहकारीहरुको उपस्थिति छ । धेरै हदसम्म पोजेटिभ कुराहरु भएका छन् । शहर बजारमा विकृति अलि बढी देखिएको छ । ग्रामीण अर्थतन्त्रमा, कृषकको लेभलमा यसको एकदमै ठूलो महत्व छ । आएका विकृति सानै भएपनि त्यसलाई समाधान गर्दै जानुपर्छ । जति पनि सहकारीहरु मार्फत ठगिएका छन् उनीहरुको आफ्नो पुँजी फिर्ता हुनुपर्छ । यसमा सबै क्षेत्र जिम्मेवार हुन जरुरी छ ।
सहकारीहरुलाई व्यवस्थित गर्न अबको योजना के हुनुपर्छ ? समग्र सहकारी क्षेत्रलाई यहाँको सुझाव के छ ?
सहकारीहरु संख्यात्मक रुपमा वृद्धि हुँदा समग्र अर्थतन्त्रमा यसको योगदान खासै बढेको छैन । संख्या धेरै भएर पनि अर्थतन्त्रमा यसको योगदान बढेको देखिदैन । हामीले इतिहासका मात्रै कुरा गरेर हुँदैन । अलिकति दीगो अनि दरिलो रुपमा स्थापना भएका सहकारी संस्था बन्द हुने कल्पना पनि गर्न नसकियोस् । त्यसका लागि धेरै भएको ठाउँमा मर्जर गर्नुपर्छ । त्यो घटेर दिइने सर्भिस अनि कभरेज घट्दैन । सहकारीको दीगोपन र गुणात्मक विकासको लागि र यसलाई गतिशील बनाउन सदस्यहरुको इच्छा चाहनाअनुसार प्रोग्राम प्रोजेक्टहरु ल्याएर उनीहरुलाई इम्पावर गर्ने आर्थिकरुपमा मात्रै होइन सामाजिक लगायत सम्पूर्ण कुरामा इम्पावर गर्नेगरी सहकारीहरु अगाडि बढ्नुपर्छ । त्यो लक्षित वर्ग हुनुपर्छ । अर्थतन्त्रको मूल प्रवाहमा प्रवाहित हुन नसकेको वर्ग, तह र तप्कालाई सहकारीले समेट्नु पर्दछ । अब सहकारीहरु एकीकरण हुँदैहुँदै गएर वृहत सहकारी बन्ने र त्यसले आफ्नो दीगोपनका लागि सोच्नुपर्छ । अहिलेसम्म समस्या आएका सहकारीहरु सिंगल लिडरसिपमा चलेका सहकारीहरु छन् । मर्जर हुँदै संस्था ठूलो भयो भने त्यो नीति नियमले चल्छ । त्यस्तो गरियोे भने कुनै पनि सहकारी संस्थाहरुमा विकृति आउँदैन । त्यहाँ असल भावना र असल कामको प्रतिस्पर्धा हुन्छ । प्रगतिका लागि, समृद्धिका लागि मात्रै प्रतिस्पर्धा हुन्छ । अबको समय दीगोपनको लागि, गुणात्मक विकासको लागि मात्रै भयो भने सहकारीहरु गतिशिल हुन्छन् र सधैका लागि सहकारी स्थापित हुन सक्छन् ।
Comments are closed.