स्केभिन नेचर केयर हस्पिटल प्रा.लि.का मेडिकल डाइरेक्टर डा. दीपा पाण्डे प्राकृतिक उपचार पद्धतिमा एम डी गर्ने नेपालमा नै पहिलो र एकमात्र महिला डाक्टर हुन् । ललितपुरको बागडोलमा उनको नेतृत्वमा यो हस्पिटल सञ्चालन भइरहेको छ । यो हस्पिटलमा उपचार गर्न देशभरबाट बिरामीहरु आउने गरेका छन् । यसैक्रममा प्राकृतिक उपचार पद्धतिको महत्व र आकर्षण, हस्पिटलबाट प्रदान हुने सेवा सुविधा लगायत विषयमा केन्द्रित रहेर पाण्डेसँग आर्थिक आवाजले गरेको कुराकानीः
स्केभिन नेचर केयर हस्पिटल प्रा.लि.मा बिरामीको उपचार कसरी हुन्छ ?
ललितपुरको बागडोलमा रहेको स्केभिन नेचर केयर हस्पिटल प्रा.लि. २०५९ सालमा स्थापना भएको हो । शुरुमा क्लिनिकको रुपमा यसलाई स्थापना गरेका थियौं । २०६९ सालमा हस्पिटलमा स्तरवृद्धि गरी सञ्चालन गरिरहेका छौं । काठमाडौंमा नै पहिलो पटक हामीले इन्टिग्रेटेड एप्रोचमा यसलाई सञ्चालन गरेका हौं । बिरामीबाट सकारात्मक प्रतिक्रिया पाउन थाल्यौं र उहाँहरुकै आग्रहमा हस्पिटलको रुपमा यसलाई विकास गरेका हौं । हामीले कम्प्लिट ड्रगलेस थेरापी मार्फत सेवा प्रदान गरिरहेका छौं । प्राकृतिक चिकित्सा भन्ने वित्तिकै कुनैपनि औषधिको प्रयोग तथा चिरफार नगरिकन गरिने उपचार पद्धति भन्ने बुझिन्छ । हाइड्रो थेरापी, फास्टिङ थेरापी, योगा थेरापी, म्यानेटो थेरापी, अकुपंचर थेरापी, फिजियो थेरापी लगायतका विभिन्न किसिमका उपचार पद्धतिमार्फत यहाँ उपचार हुन्छ ।
एलोपेथिक र प्राकृतिक उपचार पद्धतिमा कस्तो फरक छ ?
एलोपेथिक र प्राकृतिक उपचार पद्धतिमा धेरै फरक छ । एलोपेथिकमा औषधिको प्रयोग हुन्छ, प्राकृतिक चिकित्सामा औषधिको प्रयोग हुँदैन । बिरामीहरु विभिन्न अस्पताल गएर विभिन्न औषधीहरु प्रयोग गरिसकेपछि निको नभएमा बल्ल हाम्रोमा आउने गरेको पाइन्छ । यो ज्ञान नभएर पनि हो भन्ने मलाई लाग्छ । केले गर्दा ठिक हुन्छ भन्ने कुराको ज्ञान पनि हुनुपर्छ । हामीले पहल नगरेर सर्वसाधारणाई बुझाउन नसकेर पो होकि भन्ने पनि लाग्छ । मानिसलाई रोग लाग्ने वित्तिकै प्राकृतिक चिकित्सातर्फ लाग्नुपर्छ र भएन भने मात्र एलोपेथिक उपचारमा जानुपर्छ भनेर बुझाउन अझै समय लाग्छ होला । हामी एलोपेथिकको विरोधमा जान खोजेको भने होइन । इमर्जेन्सी कन्डिसन, इन्फेक्टियस कन्डिसनमा हामीले एलोपेथिक उपचारको साथ लिनैपर्छ । हाम्रो जीवनशैलीलसँग सम्वन्धित केसहरुका लागि प्राकृतिक उपचार पद्धति नै उपयुक्त हुन्छ । एलोपेथिक डाक्टरहरुले पनि लाइफस्टाइल, योगाहरुलाई अनुशरण गरेको देख्न सकिन्छ ।
प्राकृतिक उपचार पद्धति लाइफस्टाइलसँग कत्तिको सम्बन्धित छ ?
लाइफस्टाइलसँग सम्वन्धित सुगर, प्रेशर लगायतका रोगलाई योग तथा प्राकृतिक उपचार पद्धतिले धेरै राम्रो गरेको देख्न सकिन्छ । खानपिन, लाइफस्टाइल मोडिफिकेसनमा हामी जान्छौं । कस्तो खाना खाने, बिहान उठेदेखि बेलुका सुत्नेबेलासम्म लाइफस्टाइल कस्तो हुनुपर्छ भन्ने कुराको जानकारी दिन्छौं । हामी शरिरको सर्भिसिङमा जान्छौं । प्राकृतिक चिकित्सा भनेकै होल वडी सर्भिसिङ हो । टाउकोदेखि खुट्टासम्मको सर्भिसिङमा जान्छौं । हाम्रोमा सुगर, प्रेशर, बाथ रोग, माइग्रेन, पिनास, दम, नशा च्यापिएको, हड्डी खिइएको लगायतका बिरामी आउनुहुन्छ । उहाँहरुलाई हामीले प्राकृतिक उपचारबाट निको बनाएका छौं ।
दीर्घ रोगीका लागि प्राकृतिक उपचार पद्धति बढी प्रभावकारी हो ?
अवश्य पनि हो । होलवडी चेकअप भनेर विभिन्न प्याकेजमा सम्पूर्ण शरिरको जाँच गर्छौं । तर, आफ्नो शरिरको होल बडी सर्भिसिङ गर्नुपर्छ भन्ने ज्ञान नै आम मानिसमा छैन । हाम्रो शरिर २४सै घन्टा चलिराखेको हुन्छ । हामीले गाडी, बाइकहरुको त सर्भिसिङ गर्छौं तर आफ्नै शरिरको बेवास्ता गरिराखेका छौं । हाम्रो शरिरलाई पनि निरन्तर राम्रोसँग काम गर्ने तन्दुरुस्त बनाउन, निरोगी हुन, रोगप्रतिरोधात्मक क्षमता बढाउन होल बडी सर्भिसिङ गर्न अत्यन्त जरुरी छ । उपचार गर्ने तर होल बडी सर्भिसिङ गर्नुपर्छ भन्ने सोचको विकास अहिलेसम्म भएको छैन । अब यस विषयमा आम मानिस गम्भिर बन्न जरुरी छ ।
त्यसैगरी हाम्रो शरिरलाई निरोगी बनाउनको लागि होलबडी सर्भिसिङको आवश्यकता छ र प्राकृतिक चिकित्सा भनेकै होलबडी सर्भिसिङ हो जहाँ कुनै किसिमको औषधि प्रयोग हुँदैछ । खाना, फास्टिङ, केइयासहरुले इन्टरनल (भित्री) सर्भिसिङ गर्छ भने अरु प्राकृतिक उपचारहरुले एक्टर्नल (बाहिरी) सर्भिसिङ गर्छ । त्यसैले यदि हामी निरोगी बन्न चाहन्छौं भने हामी प्रकृतिको नजिक जानैपर्छ । जति हामी प्रकृतिको नजिक जान्छौं त्यति नै रोगबाट टाढा हुन्छौं र जति हामी प्रकृतिबाट टाढा जान्छौं उति नै रोगबाट नजिक जान्छौं । यति यथार्थतालाई मध्यनजर गर्दै हामीले ‘रिटर्न टु नेचर’ भन्ने कुरालाई अंगाल्न जरुरी छ ।
त्यस्तै रिटर्न टु नेचर भनेजस्तै गरी प्राकृतिक चिकित्सामा फर्कने हो भने दीर्घ रोगबाट छुटकारा पाइन्छ । सुगर प्रेसरका बिरामीलाई केही समयसम्म उपचार गर्ने तर पछि आफ्नो जीवनशैलीमा फर्कन वा उपचारपछि घरमा गएर पुरानै लाइफस्टाइलमा जाने हो भने निको हुँदैन । खानपानको शैलीमा पनि परिर्वतन जरुरी छ । यहाँ सिकेको कुरालाई प्रयोगमा ल्याउनुपर्छ । हामी यहाँ बिरामीलाई जीवनउपयोगी ज्ञान दिन्छौं ।
औषधी सेवन गरिरहेका बिरामीले प्राकृतिक उपचार सुरु गरेपछि त्यो औषधी छोड्न पनि सक्छन् ?
औषधि एकैचोटी छोड्न भने मिल्दैन । स्टेप वाई स्टेप कम गर्दै लैजाने हो । छोड्न मिल्ने अवस्था छ भने छोड्न सकिन्छ तर कतिपय अवस्थामा पुरै छोड्न नमिल्ने पनि हुन्छ । औषधि छोडनु अगाडि पनि धेरै ध्यान दिनुपर्ने हुन्छ ।
स्केभिन नेचर केयर हस्पिटलमा उपचार गरेका बिरामीहरुको रिजल्ट कस्तो छ ?
हड्डी खिइएको, नशा च्यापिएको, बिरामीहरुमा धेरै राम्रो रिजल्ट आएको छ । एलोपेथिक हस्पिटलमा जाँदा यस्ता समस्यालाई अपरेसनका लागि सिफारिश गरिन्छ । २० वर्षको अवधिमा हामीले हड्डी खिइएका र नशा च्यापिएका धेरै बिरामीलाई उपचार गरेर सञ्चो पनि बनाएका छौं । उहाँहरु मार्फत धेरै भन्दा धेरै बिरामीहरु आउनुभएको छ । एकजना बिरामीले नै करिव १ सय जना अन्य बिरामी पठाइसक्नुभएको छ । हामीले प्रतिक्रिया पनि धेरै राम्रो पाएका छौं । अन्य दीर्घ रोगीहरुको पनि ओपिडी चेकअपमा आउने र यहाँ उपचार गर्ने क्रम बढ्दो छ । यहाँ हामीले पूर्ण पारिवारिक वातावरणमा स्तरीय सेवा प्रदान गर्न सफल छौं । नेपालमा ठीक नभएर उपचारका लागि विदेश जानलाग्नुभएको बिरामी समेत यहाँ आएर सञ्चो भएको धेरै उदाहरणहरु छन् ।
यो उपचार पद्धति कत्तिको महंगो छ ?
अन्य हस्पिटलको तुलनामा हाम्रो हस्पिटल सस्तो छ । अपरेसन गर्ने हो भने त्यहाँ लाग्ने खर्च भन्दा यहाँ धेरै कम लाग्न सक्छ । बिरामीको केस हेरेर उपचारका लागि कति समय र खर्च लाग्छ भन्ने कुरा निर्धारण हुन्छ । शुरुको अवस्थामा छ भने २/३ दिनमा नै ठिक हुन्छ । लामो समयको पुरानो धेरैथरी रोग छ भने निको हुनलाई समय बढी लाग्न पछि सक्छ ।
यो उपचारमा जनशक्तिको अवस्था कस्तो छ ?
हामीले पहल गरिराखेका छौं । यस अघि संस्कृत युनिभर्सिटी दाङको पहलमा पाठ्यक्रम तयार त भयो तर पढाई सुरु हुनै सकेन । अहिले फेरि मनमोहन टेक्निकल युनिभर्सिटीको प्रयासमा पाठ्यक्रम तयार हुँदैछ । जसमा म लगायत अन्य विज्ञहरु पनि हुनुहुन्छ र हामीलाई आशा छ अब चाडै नै बिएनवाईएस नेपालमा नै पढ्ने अवसर मिल्नेछ । सरकारस्तरबाट पनि यसको लागि पहल गर्नु पर्ने छ । छिमेकी राष्ट्रमा आयुस मन्त्रालयनै छुट्टै बनाएको छ जसमा आयुर्वेद, योगा र न्याचुरोपेथी, युनानी, सिद्ध होमियोप्याथी सबैलाई एउटै छातामुनी राखिएको छ । अब नेपालमा पनि त्यही कन्सेप्टमा अगाडि बढ्नुपर्छ अनिमात्रै यो फिल्डको विकास हुन्छ । हालै काठमाडौं महानगरपालिकाले पहिलो पटक थुप्रै फिल्डको विज्ञको लागि नोटिस निकालेको छ । जहाँ यो क्षेत्रलाई पनि समेटिएको छ । आशा छ यो एउटा राम्रो प्रयास हुनेछ ।
तपाईं यो उपचार पद्धतिमा लाग्न कसरी आकर्षित हुनुभयो ?
यस उपचार पद्धतिमा एम डी गर्ने नेपालमा नै पहिलो र एकमात्र महिला म हुँ । विवाह भएर बच्चाहरु जन्मिसकेपछि मैले यस विषयको बारेमा थाहा पाएको हुँ । मेरो पढाईको ब्याकग्राउण्ड ह्युम्यानिटिज थियो । मैले ल्याब एसिस्टेन्ट नेशनल मल्टीपल कलेजबाट पढेँ । मेरो माक्स राम्रो आएको देखेपछि कलेजका प्रिन्सिपल डा. जगदिश वैद्य सरसहित अन्य साथीहरुले पनि डाक्टर बन्ने सल्लाह दिनुभयो । पछि मैले सोही कलेजबाट साइन्स लिएर प्लस टु पास गरेँ र भारतको बैंंङलोरस्थित राजीबगान्धी युनिभर्सिटीबाट बिएवाइएस (ब्याचलर इन न्याचुरोपेथी एण्ड योगिक साइन्स) र सोही युनिभर्सिटीबाट एमडी (क्लिनिकल न्याचुरोपेथी) गरेँ । त्यसपछि नेपाल फर्किएँ । भारतमा पनि मलाई कामका लागि धेरै अफर आएको थियो । तर, आफ्नै देशमा गएर यही क्षेत्रमा काम गर्ने सोच आयो ।
अन्त्यमा के भन्नुहुन्छ ?
धेरै बिरामी भएपछि मात्र अस्पताल जाने तर छिटो रिजल्ट खोज्ने बानी नेपालीमा छ । ओच्छ्यनमा नै पर्छु कि भन्ने अवस्था आएपछि मात्र अस्पताल जाने गरेको पाइन्छ । क्रोनिक रोग छ भने रिजल्ट फास्ट खोज्ने बानी छ । अब हामीले हाम्रो जीवनशैली र उपचार शैलीमा पनि परिवर्तन ल्याउन जरुरी छ । प्राकृतिक चिकित्सामा महत्वपूर्ण सिद्धान्तमा खाना नै औषधि र औषधि नै खाना हो भनिन्छ । यदि मिलाएर खाएको खानाले औषधिको काम गर्छ भने मिलाएर खाना खान जानेन भने त्यहि खानाले बिषको काम गर्छ । त्यसैले कुन समयमा कस्तो खाना खाने, कुन समयमा कस्तो खाना नखाने भन्ने कुराको जानकारी लिनु अतिनै आवश्यक छ । त्यसैले यसतर्फ चासो बढाएर प्राकृतिक उपचार पद्धतिलाई प्राथमिकतामा राख्न जरुरी छ । यो उपचार पद्धतिको महत्व आम मानिसलाई बुझाउनुपर्ने दायित्व पनि छ । हामी पनि त्यही अभियानमा अग्रसर भएर लागिरहेका छौं ।
Comments are closed.