पोखराको सार्वजनिक यातायात सुधारका लागि ‘स्मार्ट र दिगो मोबिलिटी’ मा जोड

पोखरा । पर्यटन राजधानी पोखराको सार्वजनिक यातायात प्रणालीलाई आधुनिक, प्रविधिमैत्री र वातावरण अनुकूल बनाउन सरोकारवालाहरूले जोड दिएका छन् । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र (बीपीसी) र आर्थिक आवाजको साझेदारीमा पोखरामा आयोजित ‘स्मार्ट एण्ड सस्टेनेबल मोबिलिटी’ विषयक सार्वजनिक–निजी संवादका वक्ताहरूले यस्तो धारणा राखेका हुन् ।

विश्वव्यापी जलवायु परिवर्तन, वायु प्रदूषण र तीव्र सहरीकरणको चुनौती सामना गर्न पोखरामा हरित यातायातको विकास अपरिहार्य भएको निष्कर्ष छलफलले निकालेको छ । संवादमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको यातायात क्षेत्रलाई आमूल परिवर्तन गर्न महानगरले ठूलो वैदेशिक साझेदारी भित्र्याएको जानकारी दिए ।

‘दिगो सहरी यातायात व्यवस्थापन र विद्युतीय सवारीसाधन (इ–मोबिलिटी) परियोजना सञ्चालनका लागि एसियाली विकास बैंक (एडीबी) र ग्रीन क्लाइमेट फन्डको साझेदारीमा नेपाललाई १०० मिलियन अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियत ऋण प्राप्त भएको छ । सो रकममध्ये पोखरामा मात्रै ४० मिलियन अमेरिकी डलर (करिब साढे ५ अर्ब रुपैयाँ) लगानी हुनेछ,’ उनले भने ।

पोखरालाई पर्यटन राजधानी घोषणा गरिएसँगै एडीबीले यस परियोजनालाई प्राथमिकतामा राखेको उनले बताए । उक्त परियोजना अन्तर्गत विद्युतीय गाडीको प्रयोगमा प्रोत्साहन, चार्जिङ स्टेसन निर्माण, सार्वजनिक यातायातको डिजिटलाइजेसन र व्यवस्थित बस स्टप लगायतका पूर्वाधार निर्माण गरिने योजना महानगरको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले स्मार्ट र सस्टेनेबल मोबिलिटीका लागि नारामा मात्र सीमित नभई सरकारले आजैदेखि ठोस तयारी थाल्नुपर्ने बताए । ‘सरकारले ल्याएका नीतिहरूमा सहकार्य गर्न निजी क्षेत्र तयार छ, लगानीका लागि पनि तयार छ,’ उनले भने, ‘त्यसका लागि सरकारले निजी क्षेत्रलाई लगानीका लागि आकर्षित गर्नुपर्छ र नीतिगत अप्ठ्याराहरू हटाउनुपर्छ ।’ यस्ता परियोजनाहरूमा दीर्घकालीन नीति आवश्यक रहेको उनले बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले यातायात व्यवसायीहरू परम्परागत इन्धनबाट विद्युतीय तथा दिगो प्रणालीतर्फ रूपान्तरण हुन र लगानी थप्न तयार रहेको स्पष्ट पारे । तर, यसका लागि सरकारले धरातलीय चुनौती र लगानीको सुरक्षालाई ध्यान दिनुपर्ने उनको भनाइ छ ।

‘व्यवसायीहरू सार्वजनिक यातायातमा ठूलो लगानी खन्याउन तयार छन्, तर त्यसका लागि सरकारले आवश्यक पूर्वाधार र चार्जिङ नेटवर्क बनाइदिनुपर्छ,’ उनले भने, ‘पर्यटकीय क्षेत्रमा विद्युतीय बस वा शटल सेवा सञ्चालन गर्न रुट पर्मिट, चार्जिङ उपलब्धता र लगानी सुरक्षा सबैभन्दा ठूला चुनौती हुन् । सार्वजनिक यातायातमा जीपीएस र सीसीटीभी जडान गरी डिजिटल टिकटिङ र सेवाको गुणस्तर सुधार्न व्यवसायीहरू सकारात्मक छन् ।’

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का कार्यकारी निर्देशक गोविन्द भट्टराईले विश्वव्यापी रूपमा अटोमोबाइल उद्योग विद्युतीकरणतर्फ अघि बढे पनि नेपालको सडक पूर्वाधार र नीतिहरू अझै कमजोर रहेको औंल्याए ।

‘स्मार्ट मोबिलिटी र न्यू इनर्जी भेइकल एक–अर्काका परिपूरक हुन् । नेपालमा चार्जिङ पूर्वाधार, ब्याट्री व्यवस्थापन र प्राविधिक जनशक्तिको ठूलो अभाव छ,’ उनले भने, ‘पोखरा आउने पर्यटकले कम कार्बन (शून्य–उत्सर्जन) यातायात प्रयोग गर्ने वातावरण बनाउने हो भने नवीकरणीय ऊर्जासँग जोडिएको चार्जिङ प्रणाली र लामो दूरीका पर्यटकीय रुटहरूमा बलियो चार्जिङ नेटवर्क बनाउन आजैका दिनदेखि स्थानीय, प्रदेश र केन्द्र सरकारसँगै निजी क्षेत्रले ठोस कदम चाल्नुपर्छ ।’
नेपालमा ईभीको आकर्षण बढेपनि त्यो निजी कारमा मात्र सीमित भएको र सार्वजनिक यातायातमा निजी क्षेत्रको लगानी आकर्षित हुन नसकेको भट्टराईले बताए । स्मार्ट मोबिलिटीको कुरा गरेपनि धरातलमा धेरै समस्या र चुनौतीहरू सार्वजनिक यातायात क्षेत्रले भोगिरहेको उनले उल्लेख गरे ।

पर्यटकीय नगरी पोखरालाई दक्षिण एसियाकै हरित यातायात गन्तव्यका रूपमा ब्रान्डिङ गर्न सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा ई–मोबिलिटीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव वक्ताहरूको छ । संघीय सरकारले आगामी आर्थिक वर्षको बजेटमा पोखराका सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्ने नीति ल्याएको छ । उक्त नीति सकारात्मक रहेपनि कार्यान्वयन चुनौतीपूर्ण रहेको उनीहरुले बताए । ब्याट्री व्यवस्थापन, रिसेल भ्यालु, सुरक्षित ईभी, गुणस्तर र दक्ष मेकानिक्स तथा चालक बिना यो नीति तत्काल कार्यान्वयन हुन कठिन रहेको बताउँदै यसमा सरकार गम्भीर हुनुपर्ने उनीहरूको भनाइ छ । सरकारले पूर्वाधार विकास र नीतिगत समस्या समाधान गर्दै निजी क्षेत्रका लागि तत्काल लगानीमैत्री वातावरण तय गर्नुपर्नेमा उनीहरूले जोड दिए ।

संवादको सहजीकरण आर्थिक आवाजका प्रधान सम्पादक सुरेन्द्र पौडेलले गरेका थिए । संवादमा सरकार, निजी क्षेत्र, यातायात व्यवसायी, अटोमोबाइल क्षेत्र, विद्यार्थी, इन्जिनियर लगायत क्षेत्रका नेतृत्वकर्ताहरुको सहभागिता रहेको पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

नासा नेपाल, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा पर्यटन परिषद्, पोखरा भिजिट इअरको सहकार्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई सफल बनाउन ओमोडा एण्ड जेको, फोटोन, बिवाइडी, टिभिएस आइक्युब इलेक्ट्रिक, प्रतिभा सेकेण्डरी स्कुल, टियागो इभी, केइ, युनाइटेड लुब्रिकेन्ट्स, माछापुच्छ«े बैंक, पोखरा फाइनान्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, ग्रिन डेभलपमेन्ट बैंक, सिटिजन्स बैंक, कामना सेवा विकास बैंक, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि, माउन्ट कैलाश रिसोर्ट, परिचय एडभरटाइजिङ, पब्लिक फोर के टेलिभिजनले साथ दिएका थिए ।

You might also like

Comments are closed.