काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी हालै जारी गरेको निर्देशिकाले सुरक्षित र जिम्मेवार डिजिटल वातावरण बनाउन सकारात्मक पहल गरेको भए पनि, केही प्ल्याटफर्महरूलाई पूर्णरूपमा प्रतिबन्ध लगाउने कदमले सम्पूर्ण आईटी क्षेत्रलाई प्रत्यक्ष असर गरेको भन्दै नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्विस कम्पनीज (NAS-IT) ले गम्भीर ध्यानाकर्षण गराएको छ ।
नास-आईटीका अनुसार प्रतिबन्धका कारण नेपालभित्र र अन्तर्राष्ट्रिय स्तरमा सेवा प्रवाह गर्ने आईटी कम्पनीहरूको दैनिक कार्य अवरुद्ध भएको छ । यसले ग्राहकहरूसँगको संचार पूर्णरूपमा अवरुद्ध हुँदा परियोजना समन्वयमा ढिलाइ मात्र नभई समग्र व्यवसायलाई नै जोखिममा पुर्याएको छ।
संस्थाले विश्व बजारमा नेपालको बढ्दो अवसर र सकारात्मक छवि कायम राख्नका लागि सञ्चार माध्यमहरूको अविच्छिन्न पहुँच अपरिहार्य भएको उल्लेख गर्दै हाल लगाइएको प्रतिबन्ध तत्काल हटाउन आग्रह गरेको छ । साथै, दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायसँग सहकार्य गरी व्यवहार्य उपाय खोज्न सरकारसँग अनुरोध गरेको छ ।
नास-आईटीले सुरक्षित र जिम्मेवार डिजिटल वातावरण सुनिश्चित गर्ने सरकारको उद्देश्यलाई स्वागत गर्दै भनेको छ, “सेवामा पूर्ण अवरोध नगरिने वैकल्पिक उपायहरू खोज्ने प्रक्रियामा हामी सहयोग र सहकार्यका लागि तत्पर छौं ।”
नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्विस कम्पनीज (NAS-IT) नेपालकै अग्रणी गैर-नाफामुखी संस्था हो जसले आईटी उद्योगलाई प्रतिनिधित्व गर्दै आएको छ । नवप्रवर्तन प्रवर्द्धन, उद्यमशीलता प्रोत्साहन, र विश्व बजारमा नेपालको आईटी क्षेत्रलाई सफल बनाउन सक्षम नीति समर्थन गर्ने यसको मूल उद्देश्य हो। उद्योग र सरकारबीच सहकार्य प्रवर्द्धन गर्दै नास-आईटी नेपाललाई प्रतिस्पर्धात्मक र भरपर्दो प्रविधि केन्द्रको रूपमा स्थापित गर्न निरन्तर क्रियाशील छ ।




Comments are closed.