काठमाडौं । सामाजिक सुरक्षा कोषमा जम्मा हुने कुल योगदान रकम झण्डै एक खर्ब नजिक पुगेको छ । कोषका अनुसार हालसम्म जम्मा योगदान रकम ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार ३६२ पुगेको छ । कोषमा सूचीकृत रोजगारदाताको संख्या २२ हजार ३०९ पुगेको छ भने सूचीकृत योगदानकर्ता श्रमिक २६ लाख ४१ हजार १८९ पुगेका छन् ।
यस्तै, कोषले हालसम्म विभिन्न सुरक्षा योजनाअन्तर्गत १७ अर्ब ६४ करोड ८८ लाख ३४ हजार ६८४ रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ ।कोषले प्रदान गरेको दाबी भुक्तानीमध्ये सबैभन्दा धेरै रकम अवकाश योजनामा व्यय भएको छ । अवकाश दाबी रकम मात्रै १४ अर्ब ६१ करोड ७३ लाख १४ हजार २७१ रहेको छ ।
त्यसैगरी, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सम्बन्धी दाबी भुक्तानी दुई अर्ब ५१ करोड २० लाख ९४ हजार ८२२ पुगेको छ । दुर्घटना तथा अशक्तता दाबी भुक्तानी २२ करोड ८६ लाख ५३ हजार ४७५ रहेको छ । आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत २९ करोड ७ लाख ७२ हजार ११६ रुपैयाँ भुक्तानी गरिएको कोषले जनाएको छ ।
कोषका अनुसार योगदानकर्ता संख्या बढ्दै जानु तथा दाबी भुक्तानी नियमित रूपमा प्रवाह हुनु सामाजिक सुरक्षा योजनाप्रति श्रमिक तथा रोजगारदाताको विश्वास वृद्धिको सूचक रहेको बताइएको छ ।




Comments are closed.