सफ्टेड ग्रुपले ५ वर्षमा एक हजारलाई रोजगारी दिने

काठमाडौं । आइटी शिक्षा तथा आइटी व्यवसायमा काम गर्दै आइरहेको सफ्टेड ग्रुप (सफ्टवेरिका ग्रुप) ले अबको ५ वर्षमा एक हजार जनालाई प्रत्यक्ष रोजगारी प्रदान दिने बताएको छ । ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले ग्रुपले रोजगारी बृद्धिको योजना अगाडि सारेको बताए ।

ग्रुप अन्तर्गत अहिले ३ सय जनाले रोजगारी प्राप्त गरेका छन् । करिब २५ वर्ष अगाडि सफ्टवेयर कलेज स्थापना गरी शिक्षा क्षेत्रमा काम गर्दैै आएको उक्त समूहले ग्रुप अन्तर्गत लगानी विस्तार गर्दै गइरहेको छ । उनले ग्रुप अन्तर्गत अहिले १२ वटा विभिन्न कम्पनी स्थापना भएको बताए ।

नेपालमा आइटी एजुकेसन र आइटी सोलुसनका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको श्रेष्ठको भनाइ छ । ‘अब त १२ लाख कमाउन विदेश धाउनै पर्दैन,’ उनी भन्छन्, ‘नेपालमै अथाहा अवसरहरू छन् ।’ सम्भावनाहरुको खोजी गर्दै अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

बर्तमान समय ‘भर्चुअल वर्ल्ड भर्चुअल जब’को जमाना रहेको र संसारभरको आइटीको काम नेपालमा आफ्नै घरमा बसेर गर्न सकिने श्रेष्ठ बताउँछन् । ‘संसार नै एउटा देशजस्तो हुँदैछ,’ उनले भने ।

३ वर्षसम्म कोभिडले थकाउन र गलाउन खोजेपनि संघर्ष गर्ने बानीले आफूहरुले कहिल्यै हरेश नभइ काम गरेको श्रेष्ठको अनुभव छ । ‘कोभिडले थकाउन र गलाउन धेरै नै खोज्यो तर संघर्ष गर्ने बानी भएर होला हरेस खाइएन । नेपालमा केही अवसर छैन भन्नेहरू धेरै होलान् तर म त अझ धेरै अवसर देख्छु । नेपालमै, केवल असल मित्रको साथ र विश्वास अनि टिम वर्क मिलाउनुपर्छ, बेस्सरी मिहिनेतले काम गर्नुपर्छ जबसम्म सफल हुँदैन,’ उनले भने ।

सफ्टेड ग्रुप अन्तर्गत सफ्टवेरिका कलेज, युनिक्याम्पस ग्लोबल, सनवे इन्टरनेशनल बिजनेस स्कुल, डिजी स्कुल, युके कलेज, डिजी टेक्नोलोजी लगायत कम्पनी छन् ।

You might also like

Comments are closed.