सफ्टेरिका कलेजद्वारा आयोजित ‘टेक–एक्स २०२३’ सुरु

पछिल्लो दशकमा सूचना तथा सञ्चार प्रविधिमा उल्लेख्य प्रगति भएको मन्त्री शर्माको भनाई

काठमाडौं । सफ्टेरिका कलेजको आयोजनामा ‘टेक-एक्स २०२३’ सुरु भएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेक–एक्सको उद्घाटन गरिन् ।

उक्त अवसरमा बोल्दै मन्त्री शर्माले नेपालमा पछिल्लो दशकमा अन्य क्षेत्रको तुलनामा सूचना तथा सञ्चार प्रविधिमा उल्लेख्य प्रगति भएको बताइन् । सरकारले पनि यसको आवश्यकता महसुस गरी विभिन्न क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढाएको उनले उल्लेख गरिन् । उनले मानवीय जीवनको बहुआयामिक पक्षमा सूचना प्रविधिले महत्वपूर्ण प्रभाव पारेको बताइन् ।

सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा गइसकेको बताउँदै उनले कुल पुँजीगत खर्चको एक प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्ने बताइन् ।

विसं २०७६ देखि अगाडि बढाइएको डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रममार्फत कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र पूर्वाधारलगायतका क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढाइएको उनको भनाइ छ ।

मन्त्री शर्माले सरकारी सेवामा सूचना प्रविधिसम्बन्धी दक्ष जनशक्तिलाई आकर्षण गर्ने गरी सरकारले योजना बनाएको बताइन् । साथै संघीय निजामती ऐनमा आइटी समूहलाई अलग बनाउने तयारी भइरहेको भन्दै उनले युवालाई सरकारी सेवामा प्रवेश गराएर देशप्रति प्रतिबद्ध बनाउने र स्वदेशैमै रोजगारीको सिर्जना गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पारिन् ।

पछिल्लो समयमा साइबर सुरक्षा, डाटा सुरक्षाको समस्या बढ्दै गएकोतर्फ इङ्कित गर्दै मन्त्री शर्माले साइबर सुरक्षाका निम्ति सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले हरेक क्षेत्रलाई सूचना प्रविधिसँग जोड्नुपर्ने धारणा राखिन् । सञ्चार मन्त्रालयले साइबर सुरक्षा नीति बनाएर मन्त्रिपरिषद्मा पठाएको जानकारी दिँदै त्यसले जतिसक्दो चाँडो अगाडि बढ्ने बताइन् ।

आइटी तथा ईकमर्श कलेजको रूपमा परिचित सफ्टवेरिका कलेजले स्मार्ट प्रविधिको प्रदर्शनी आयोजना गरेको हो । डिल्ली बजारस्थित कलेज परिसरमा अध्ययनरत विद्यार्थीले तयार पारेका प्रोजेक्टहरूको चार दिनसम्म प्रदर्शन हुनेछन् ।

आइतबारसम्म चल्ने उक्त प्रदर्शनीमा रोबोटहरूको वार मुख्य आकर्षण बनेका छन् । प्रदर्शनीमा नवप्रवर्तन सम्बन्धी ३० भन्दा बढी प्रोजेक्टका स्टलहरू छन् । स्मार्ट ग्लास (चस्मा) तथा स्मार्ट ब्लाइन्ड स्टिक (दृष्टि विहीनले प्रयोग गर्ने छडी) र होम सेक्युरिटी सहित घरमा अनधिकृत व्यक्तिको घुसपैठ भएको थाहा पाउने सिस्टम पनि प्रदर्शनमा राखिएको छ ।

कोलोनीका लागि आगलागी सम्बन्धी सूचना दिने फायर अलार्म सिस्टम, स्मार्ट वाच, हेल्थ मनिटरिङ सिस्टम, स्मार्ट ट्राफिक व्यवस्थापन प्रणालीका साथै स्मार्ट प्रिसिजन एग्रिकल्चर सम्बन्धी प्रोजेक्ट समेत राखिएका छन् । रिमोट मनिटरिङसहित डढेलो लागेको पहिचान गरी जानकारी दिने सिस्टम, फिल्ड मनिटरिङ तथा बाली निरीक्षण सिस्टमका लागि अग्मेन्टेड रियालिटी (एआर) र प्लानेटरी एक्सप्लोरेसन रोबोट पनि कलेजका विद्यार्थीहरूले बनाएका छन् ।

स्मार्ट फोहोर व्यवस्थापन प्रणाली, अण्डा कोरल्ने स्मार्ट सिस्टम, स्मार्ट डुङ्गा, स्मार्ट हाइड्रोपोनिक, सर्भिलेन्स मिलिट्री रोबोट लगायतका नवीनतम परियोजना समेत प्रदर्शनीमा राखिएका छन् । बेलायतको कोभेन्ट्री युनिभर्सिटीबाट सम्बन्धन प्राप्त उक्त कलेजमा इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटी, कम्प्युटिङ, डेटा साइन्स तथा कम्प्युटेसनल इन्टेलिजेन्स लगायतका विषयहरूको अध्यापन हुने गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका प्रोजेक्टहरू सार्वजनिक गर्न हरेक वर्ष प्रदर्शनी आयोजना हुँदै आएको छ । आईओटी एक्स्पोको रुपमा परिचित सफ्टवेरिकाको प्रदर्शनी यस पटक भने टेक एक्स्पोको नाममा प्रस्तुत गरिएको हो ।

You might also like

Comments are closed.