काठमाडौं । नेपालको वैदेशिक व्यापारमा भटमास तेलको हिस्सा हाल सबैभन्दा ठूलो बनेको छ । देशभित्र उत्पादन नहुने भटमास तेल विदेशबाट कच्चा रूपमा आयात गरी प्रशोधन र प्याकेजिङ गरेर पुनः निर्यात गरिँदै आएको छ ।
भन्सार विभागका तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो तीन महिनामा ३० अर्ब २४ करोड ८७ लाख रुपैयाँ बराबरको क्रुड सोयाबिन आयल आयात भएको छ । सोही अवधिमा ३० अर्ब ६९ करोड ७८ लाख रुपैयाँ बराबरको प्रशोधित भटमास तेल निर्यात गरिएको छ ।
गत आर्थिक वर्ष २०८१/०८२ को पहिलो तीन महिनामा भने ५ अर्ब ३४ करोड ७७ लाख रुपैयाँको आयात र ९४ करोड १२ लाख ७९ हजार रुपैयाँको निर्यात मात्र भएको थियो। त्यसअनुसार यस वर्ष भटमास तेलको आयात करिब ४.६ गुणा र निर्यात करिब ३२ गुणा बढेको देखिन्छ ।
छिमेकी भारतमा भटमास तेलको उच्च माग भएका कारण नेपालबाट निर्यात ह्वात्तै बढेको विश्लेषकहरूले बताएका छन् । तर, उनीहरूका अनुसार यस किसिमको तीव्र वृद्धि दीगो नहुने सम्भावना पनि रहन्छ ।
नेपालमा भटमास तेलका लागि आवश्यक कच्चा पदार्थ पर्याप्त उत्पादन नहुँदा अर्जेन्टिना, ब्राजिल, पाराग्वे, कतारजस्ता मुलुकबाट ठूलो परिमाणमा आयात गरिएको तथ्यांकले देखाउँछ ।
आयातित कच्चा तेललाई व्यवसायीहरूले सामान्य प्रशोधन गरी तयारी तेलका रूपमा भारत निर्यात गर्ने गरेका छन् । यस कारण भटमास तेल आयात र निर्यात हुने दुवै वस्तुहरूको सूचीमा शीर्ष स्थानमा पुगेको भन्सार विभागले जनाएको छ ।







Comments are closed.