काठमाडौं । भारतमा उत्पादन भएको उच्चस्तरीय विद्युतीय स्कुटर ब्रान्ड Ampere Vehicles नेपालमा भित्रिएको छ । भारतमा १६५ वर्षको इन्जिनियरिङ अनुभव भएको Greaves Electric Mobility ले उत्पादन गरेको एम्पीयर ब्रान्डका स्कुटरको आधिकारिक बिक्रेताको रूपमा STC Auto Solution Pvt. Ltd. ले नेपाली बजारमा ल्याएको हो ।
एसटीसी अटो शोलुसन प्रा. लि. ले एम्पीयरका दुई मोडलका स्कुटरसहित नेपाली बजारमा प्रवेश गरेको छ । ग्रीभ्स इलेक्ट्रीक मोबिलिटीले विगत १७ वर्षदेखि भारतमा विद्युतीय दुई पाङ्ग्रे साधन उत्पादन गर्दै आएको छ भने एम्पीयर ब्रान्ड भारतमा शीर्ष ६ ब्रान्डमध्ये बलियो उपस्थितिसहित स्थापित रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले एम्पीयरका हाई–पर्फमेन्स विश्वस्तरीय स्कुटर Ampere Nexus र Ampere Magnus Neo गरी दुई मोडलको बिक्री सुरु गरेको जानकारी दिएको छ । एम्पीयरका स्कुटरमा लिथियम फेरो फोस्फेट (LFP) ब्याट्री प्रयोग गरिएको छ, जसलाई अत्यन्तै चिसो (माइनस ४० डिग्री) र अत्यन्तै तातो (६० डिग्री) तापक्रममा परीक्षण गरिएको कम्पनीको भनाइ छ । यी ब्याट्रीको लाइफ साइकल करिब २ हजारसम्म रहने तथा ७५ हजार किलोमिटर वा ५ वर्षसम्मको वारेन्टी प्रदान गरिने बताइएको छ ।
एम्पीयरका स्कुटरमा मजबुद च्यासिस, ट्वीन सस्पेन्सन र विभिन्न स्मार्ट प्रविधि प्रयोग गरिएको छ । एम्पीयर म्याग्नस निओमा २.५ किलोवाट क्षमताको मोटर तथा २.३ किलोवाट–आवरको लिथियम ब्याट्री प्याक उपलब्ध छ, जसलाई एक पटक फुलचार्ज गर्दा १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ । स्कुटरमा आरामदायी सिट, १५० किलो लोडिङ क्षमता र १६५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा लो, हाई र रिभर्स राइडिङ मोड उपलब्ध छन् । यसको मूल्य तीन लाख रुपैयाँ तोकिएको छ ।
त्यसैगरी नेक्सस मोडलमा ३.९ किलोवाट क्षमताको मोटर र ३ किलोवाट–आवरको एलएफपी ब्याट्री उपलब्ध छ, जसलाई एक पटक फुलचार्ज गर्दा १०७ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ । उक्त ब्याट्री घरमै करिब ३ घन्टा ३० मिनेटमा चार्ज गर्न सकिने बताइएको छ । मिड–माउन्ट मोटर भएको यस स्कुटरमा रिभर्ससहित पाँच राइड मोड, अलोय ह्वील, डिस्क ब्रेक, सबै एलईडी लाइट, यूएसबी चार्जर तथा कनेक्टिभिटी जस्ता फिचर उपलब्ध छन् । यसको मूल्य तीन लाख ३० हजार रुपैयाँ तोकेर बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ ।






Comments are closed.