पोखरा सडक महोत्सवमा सहभागी हुन रेवानको निम्तो

काठमाडौं । अँग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने सडक महोत्सवमा सहभागी हुन रेवान पोखराले सबैमा निम्तो गरेको छ । शनिबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी रेवानले सम्पूर्ण सर्वसाधरणलाई पोखरामा निमन्त्रणा गरेको हो ।

रेवानको आयोजनामा पुस १५ देखि १७ सम्म पोखराको लेकसाइडमा २३औं संस्करणको सडक महोत्सव हुँदैछ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सवका संयोजक नरेश भट्टराईले जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको उनले बताए ।

यस अगाडि ५ दिनसम्म चल्ने महोत्सव यस वर्ष कोभिड संक्रमणलाई मध्यनजर गरी ३ दिन गर्न लागिएको हो । स्वास्थ्य सतर्कतासहित महोत्सव आयोजना गर्न लागिएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । ‘अँग्रेजी नयाँ वर्षमा देशभरका आन्तरिक पर्यटकलाई पोखरामा स्वागत गर्न हामी आतुर छौं,’ उनले भने ।

jutta mela

लेकसाइडको ३ किलोमिटर खुल्ला सडकमा आयोजना हुने सडक महोत्सवमा पर्यटकहरुको आकर्षण देखिने र महोत्सवले पर्यटन सहित पोखरा क्षेत्रको समग्र विकासमा योगदान पुग्ने पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । ‘सडकमै खाउँ, सडकमै रमाऔं’ भन्ने मूल नाराका साथ सडक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा स्थानीय कला र संस्कृति संरक्षणसँग सम्बन्धित गतिविधि तथा झाँकीहरुको प्रदर्शनीसमेत गरिनेछ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारहरुको प्रदर्शनी, दोहोरी प्रतियोगिता, रात्रिकालीन कन्सर्ट, बोट रेस, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, हुइल चियर रेस, संस्थागत भलिबल प्रतियोगिता, टग अफ वार लगायतका गतिविधि महोत्सवमा समावेश गरिएको छ । महोत्सव अवधिभर पोखरामा आउने पाहुनालाई विशेष छुट तथा आकर्षक प्याकेजमा सेवा प्रदान गरिने रेवान पोखराले जनाएको छ ।

You might also like

Comments are closed.