‘पोखराको गौरवका रुपमा सडक महोत्सव स्थापित भएको छ’

लक्ष्मण बराल, अध्यक्ष, रेवान पोखरा

रेवान पोखराको आयोजनामा पुस १५ देखि १७ गतेसम्म २३औं संस्करणको सडक महोत्सव हुँदैछ । लेकसाइडस्थित खुल्ला सडकमा आयोजना हुने महोत्सवले पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटनमा सकारात्मक टेवा पुग्ने आयोजकको विश्वास छ । यसै सन्दर्भमा रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरेका छौंः

सडक महोत्सवको तयारी कसरी गरिरहनुभएको छ ?

हामी २३औं पोखरा सडक महोत्सवको तयारीमा जुटिरहेका छौं । स्पोन्सर, साँस्कतिक समूह तथा कलाकारको छनोट, प्रचार–प्रसार लगायतका काम लगभग सकिसकेका छौं । समग्र तयारी अन्तिम चरणमा पुगेको छ । हामी अब उद्घाटनको प्रतिक्षामा छौं ।

jutta mela

कोरोना संक्रमण अझैपनि छ, महोत्सवलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

अहिलेपनि हामीले कोरोनाबाट छुटकारा पाएको अवस्था छैन । स्वास्थ्य सम्वन्धी प्रोटोकललाई विशेष ध्यान दिएर तथा स्वास्थ्यप्रति सजग भएर नै हामी महोत्सवमा सहभागी हुन्छौं । महोत्सव क्षेत्रका विभिन्न स्थानमा हेल्थ डेस्क राख्छौं । महोत्सव स्थलमा छिर्ने सबै नाकामा सेनिटाइजर पनि राख्छौं । स्वास्थ्यप्रति सजग भएर मात्र सडक महोत्सवमा सहभागी हुन हामीले सूचना प्रकाशन तथा प्रशारण पनि गरिरहेका छौं । ३ किलो मिटरको खुला क्षेत्रमा महोत्सव हुन्छ । एकै स्थानमा भिडजन्य तरिकाले सहभागी हुनुपर्दैन । महोत्सव व्यवस्थित, सभ्य र भव्य बन्नेछ ।

कोरोना महमारीले पर्यटन क्षेत्रमा कस्तो असर परेको छ ?

कोरोनासँग डराएर मात्र हुँदैन सुरक्षित भएर जिउनुपर्छ । यो २ वर्षमा हामी व्यवसायिक रुपमा निकै पछाडि परेका छौं । लामो समयसम्म व्यवसाय ठप्प जस्तै रह्यो । पछिल्लो ३÷४ महिनाको समय हेर्ने हो भने केही आशावादी बनेका छौं । कोभिडलाई कारण बनाएर व्यवसाय संचालन नगर्ने, पर्यटकीय गतिविधि नगर्ने हो भने हामी पलायन हुनु बाहेक अन्य विकल्प छैन । त्यसैले कोभिडसँग जुध्दै अगाडि बढ्नुको विकल्प छैन ।

सडक महोत्सवले पोखराको पर्यटनमा कत्तिको सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ?

२२ औं सडक महोत्सव गर्ने समयमा पनि हामी निकै दुविधामा थियौं । कोरोना महामारीको समय थियो । गर्ने वा नगर्ने भन्ने निर्णय गर्न पनि गाह्रो थियो । मोडालिटी चेन्ज गरेर हामीले २२औं सडक महोत्सव गर्यौं । अहिले पर्यटन क्षेत्र केही चलायमान छ । आन्तरिक पर्यटक आइरहेको अवस्था छ । शतप्रतिशत तरिकाले व्यवसाय नगरेपनि व्यवसाय ठप्प पार्ने पक्षमा हामी छैनौं । गतवर्ष महोत्सव गर्ने समयमा कतिपय व्यवसाय बन्द नै थिए । महोत्सवका लागि भनेर खोल्नुपरेको थियो । महोत्सवलाई भनेर खोलिएपनि त्यसपछि वैशाखसम्म राम्रोसँग चलेको थियो । दोस्रो चरणको लकडाउनसँगै व्यवसाय बन्द भए । अहिले उत्साहका साथ पर्यटन व्यवसाय पुनः संचालन गरिएको छ । नयाँ भेरियन्टका कारण केही डरभने फेरि थपिएको छ । सजग हुँदै अगाडि बढ्नुपर्छ । यस वर्ष महोत्सव ३ दिन संचालन हुन्छ । पुस १५, १६ र १७ गते महोत्सव चल्छ । ३ दिन भएपनि यसले पर्यटन क्षेत्रलाई ट्रयाकमा ल्याउँछ भन्ने लाग्छ ।

महोत्सवमा के–कस्ता गतिविधि सञ्चालन हुन्छन् ? महोत्सवलाई कसरी व्यवस्थित गर्नुहुन्छ ?

महोत्सवमा फुड, म्युजिक र कल्चर भन्ने हाम्रो स्लोगन छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खाना हामी पस्कन्छौं । पर्यटनको महत्वपूर्ण पाटो कल्चर पनि हो । गण्डकी प्रदेशका विभिन्न कल्चरलाई हामी प्रस्तुत गर्छौं । सडकमा नै स्टेज बनाएर विभिन्न कार्यक्रम गर्छौं । कोमागाने पार्कमा पनि विभिन्न साँस्कृितक कार्यक्रम संचालन गर्छौं । भित्र जानका लागि ५० रुपैयाँको टिकट काट्नुपर्छ । चिल्ड्रेन पार्क, पिङ लगायत पनि व्यवस्था गरिएको हुन्छ । साँझको समयमा लाइभ कन्सर्ट हुन्छ । लाइभ कन्र्सटको टिकट १ सय रुपैयाँको हुन्छ । इभको टिकट भने केही महंगो हुनसक्छ । ३ किलो मिटर क्षेत्रलाई नो भेइकल जोन बनाउने छौं । एम्बुलेन्स, दमकल, प्रहरीका सवारी साधन जस्ता अतिआवश्यक सवारी साधनभने सजिलै आवत जावत गर्नसक्ने व्यवस्था गर्छौं । हस्तकलाका सामानलाई पनि हामीले प्राथमिकतामा राखेका छौं । मेड इन नेपालका प्रोडक्ट बेच्नुपर्छ भनेर हामीले ३० भन्दा धेरै स्टलमा निशुल्क रुपमा हस्तकलाका सामान बिक्री गर्ने व्यवस्था मिलाउँछौं ।

रेवानद्वारा आयोजित सडक महोत्सवलाई पोखरेलीको साथ कस्तो छ ?

रेवान खासै ठुलो संस्था होइन । रेवान एक्लैले यो गर्न सम्भव पनि छैन । सबैको साथ र सहयोगले नै यहाँसम्म आइपुगेका हौं । २३औं संस्करणसम्म महोत्सव संचालन गर्नु भनेको ठुलो उपलब्धी हो भन्ने लाग्छ । स्थानीय क्लब, आमा समूह, स्थानीय बासिन्दा, पर्यटन व्यवसायी, पर्यटनसँग आवद्ध विभिन्न संघ संस्था तथा समग्र पोखरेलीको साथ र सहयोग रहन्छ । समग्र पोखराको गौरवका रुपमा सडक महोत्सव स्थापित भएको छ । पोखरेली जनताले महोत्सवको अपनत्व लिएको हामीले आभास गरेका छौं । पर्यटन प्रवद्र्धनमा यसको निकै ठूलो महत्व स्थापित भइसकेको छ ।

भिडियो :

You might also like

Comments are closed.