देशभरका पर्यटकीय क्षेत्र २४सैं घन्टा खुलाउने सरकारको तयारी

पोखरा । रेवान पोखराको आयोजनामा २३औं संस्करणको सडक महोत्सव सुरु भएको छ । लेकसाइडमा आयोजित महोत्सवको बिहीबार एक कार्यक्रमबीच गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले पर्यटकीय क्षेत्रलाई आवश्यकता अनुसार २४ घण्टा खोल्ने तयारीमा सरकार रहेको बताए । उनले पर्यटकीय क्षेत्र २४सै घण्टा खुलाउदा स्थानीयको सहयोग आवश्यक रहेको बताए । पर्यटकीय क्षेत्र लेकसाइड चौबिसै घण्टा खोल्ने विषयमा छलफल र बहस चलिरहँदा गृहमन्त्री खाँणले पोखरामा यस्तो बताएका हुन् ।

पोखराबाटै पर्यटकीय क्षेत्र २४ सै घण्टा खोल्न शुरु होस् भन्दै उनले सबै पक्षबाट सहयोग आवश्यक रहेको बताए । ठूलो साउण्ड बजाउँदा आसपासका छिमेकीलाई असर पर्ने भएकाले त्यसमा भने हेक्का राख्नुपर्ने उनको भनाइ छ ।

गृहमन्त्री खाँणले पोखराको फेवासहितका अन्य ताल संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताए । ‘फेवाताल संरक्षण गर्न बुझाइएको प्रतिवेदन कार्यान्वयन गर्न सरकार तयार छ,’ उनले भने, ‘कार्यान्वयन गर्न स्थानीय सरकार जिम्मेवार र संवेदनशील बनोस् ।’ गृहमन्त्री खाँणले मञ्चमा बसेर भाषण मात्रै दिएर ताल संरक्षण नहुने भन्दै कार्यान्वयन गर्न मञ्चमै बसेकाको सहयोग हुनुपर्ने बताए ।

महोत्सव पर्यटकीय स्थलको करिब साढे ३ किमी क्षेत्रलाई दुलहीझैं सिंगारिएको छ । महोत्सवको बेला रेष्टुरेन्ट तथा पसलहरुले पनि सडकबाटै निकालिएको छ । महोत्सव पुस १७ सम्म सञ्चालन हुनेछ । महोत्सव स्थलमा ३० भन्दा बढी हस्तकलाको स्टल राखिएका छन् ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालीन कन्सर्ट, डुङ्गा दौड, ह्वीलचियर दौड, वेटर रेस, टग अफ वार जस्ता प्रतियोगिता हुनेछन् । महोत्सव सुरु अघि खहरेदेखि ¥याली सुरु भई मितेरीपार्क अगाडि आएर उद्घाटन समारोहमा परिणत भएको थियो ।

रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालको अध्यक्षतामा महोत्सवको उद्घाटन कार्यक्रम भएको हो । महोत्सवका संयोजक नरेश भट्टराईले उद्घाटनमा सहभागी सबैप्रति आभार व्यक्त गरे । पुस १६ र १७ गते पनि महोत्सवमा उत्साहजनक सहभागिता रहनेमा आफूहरु विश्वस्त रहेको रेवानका महासचिव विकास भट्टाईले बताए ।

तस्बिरहरुः सागरराज तिमिल्सिना

You might also like

Comments are closed.