राधिका ढकाल
पोखरा । नेपालको पर्यटकीय राजधानी पोखरा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पुनः एकपटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बनेको छ । रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा हुन लागेको २७औँ पोखरा सडक महोत्सव सुरु भएको छ । अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गरिएको यो महोत्सवले पोखरालाई नयाँ वर्ष मनाउने प्रमुख गन्तव्यका रूपमा स्थापित गर्दै आएको छ ।
देशभरका नागरिक, पर्यटन व्यवसायी तथा आन्तरिक तथा विदेशी पर्यटकलाई पोखरामा आएर नयाँ वर्ष मनाउन निम्तो गरिएको छ । आयोजकका अनुसार सडक महोत्सव केवल मनोरञ्जनको कार्यक्रम मात्र नभई पर्यटन प्रवद्र्धन, आर्थिक चलायमान र पोखराको अन्तर्राष्ट्रिय ब्रान्डिङसँग प्रत्यक्ष रूपमा जोडिएको कार्यक्रम हो ।
पोखरा सडक महोत्सव विगत २६ वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ । “सडक मै खाऊँ, सडक मै नाचौँ, सडक मै रमाऔँ” भन्ने मूल नारासहित सुरु गरिएको यो महोत्सव आज नेपालकै सबैभन्दा ठूलो सडक–आधारित पर्यटन उत्सवको रूपमा परिचित बनेको छ । सुरुका दिनमा सीमित दायरामा आयोजना हुँदै आएको महोत्सव समयक्रमसँगै विस्तारित हुँदै पोखराको पहिचानकै रूपमा स्थापित भएको छ ।
रेवान पोखराका निबर्तमान अध्यक्ष नरेश भट्टराई सडक महोत्सवको यात्राबारे भने, “कुनै समय अङ्ग्रेजी नयाँ वर्ष मनाउन नेपालीहरू गोवा र थाइल्याण्ड जाने गर्थे । पोखरालाई नयाँ वर्षको गन्तव्य बनाउने उद्देश्यले सुरु गरिएको सडक महोत्सवले आज त्यो प्रवृत्तिमा उल्लेखनीय परिवर्तन ल्याएको छ ।” उनका अनुसार महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनमा ऐतिहासिक योगदान दिएको छ ।
रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार पोखरा सडक महोत्सव पोखराको पर्यटन ब्रान्डिङको सबैभन्दा बलियो माध्यम हो । उनले भने, “फुड, म्युजिक र कल्चरलाई एउटै प्लेटफर्ममा जोडेर पर्यटन प्रवद्र्धन गर्ने हाम्रो अवधारणा नै सडक महोत्सवको आत्मा हो । यसले पोखरालाई जीवन्त, सुरक्षित र उत्सवप्रिय सहरका रूपमा चिनाएको छ ।” उनका अनुसार महोत्सवका कारण नयाँ वर्षको समयमा पोखराको पर्यटन व्यवसायमा वृद्धि हुँदै आएको छ ।
पुस १३ देखि १७ गतेसम्म सञ्चालन हुने महोत्सव फेवाताल किनारको साढे तीन किलोमिटर सडक क्षेत्रमा आयोजना हुनेछ । महोत्सव अवधिभर उक्त क्षेत्रलाई आंशिक रूपमा सवारी आवागमनबाट व्यवस्थापन गरी खुला सांस्कृतिक तथा पर्यटन क्षेत्रको रूपमा प्रयोग गरिने आयोजकले जनाएको छ । सडकभरि विभिन्न फुड स्टल, सांस्कृतिक मञ्च, लाइभ म्युजिक कार्यक्रम र प्रदर्शनी कक्षहरू रहनेछन् ।
महोत्सवमा नेपाली तथा अन्तर्राष्ट्रिय खानाका परिकार, लोक तथा आधुनिक सांस्कृतिक प्रस्तुति, लाइभ ब्यान्ड, परम्परागत नृत्य तथा सांगीतिक कार्यक्रम समावेश गरिनेछ । साथै पोखरा आसपासका गाउँमा उत्पादित कृषि उपज, हस्तकला र घरेलु सामग्रीको प्रदर्शनी तथा बिक्रीका लागि समेत महोत्सवले मञ्च प्रदान गर्नेछ ।
पोखरा सडक महोत्सवको यात्रामा विभिन्न चुनौतीहरू पनि आएका छन् । २०७२ सालको विनाशकारी भूकम्प, राजनीतिक अस्थिरता, लामो बन्द–हडताल, कोभिड–१९ महामारी तथा पछिल्लो समयको आर्थिक मन्दीले पर्यटन क्षेत्रलाई गम्भीर असर पारेका थिए । यस्ता विषम परिस्थितिमा पनि सडक महोत्सवले निरन्तरता पाउँदै आएको छ ।
रेवान पोखराका उपाध्यक्ष तथा महोत्सव संयोजक वसन्त गौतमका अनुसार, “सडक महोत्सव पोखरा सुरक्षित छ, खुला छ र पर्यटकका लागि तयार छ भन्ने सन्देश दिने माध्यम हो । संकटका बेला पनि पर्यटन व्यवसायलाई पुनर्जीवित गर्न महोत्सवले महत्त्वपूर्ण भूमिका खेलेको छ ।” महामारीपछि पर्यटन पुनरुत्थानको सन्देश दिन सडक महोत्सव प्रभावकारी साबित भएको उनले बताए ।
स्थानीय अर्थतन्त्रमा पोखरा सडक महोत्सवको प्रभाव उल्लेखनीय रहेको पर्यटन व्यवसायीहरूको भनाइ छ । महोत्सवका दिन होटल, रेष्टुरेन्ट, यातायात सेवा, साना व्यापारी र घरेलु उद्योग सबैमा चहलपहल बढ्ने गरेको छ । यसले रोजगारी सिर्जना गर्नुका साथै स्थानीय आम्दानीमा पनि सकारात्मक प्रभाव पार्ने गरेको छ ।
रेवान पोखराका महासचिव वीरेन्द्र थकालीका अनुसार सडक महोत्सवले जाडोयाममा सुस्ताउने पर्यटन व्यवसायलाई चलायमान बनाउने काम गरेको छ । उनले भने, “सडक महोत्सवले पर्यटन क्षेत्रमा आर्थिक चलायमान बढाएको छ । यसले ‘बाह्रै महिना पोखरा खुला छ’ भन्ने सन्देश प्रवाह गर्न सफल भएको छ ।” उनका अनुसार महोत्सवले होटल अकुपेन्सी दर वृद्धि गर्न उल्लेखनीय योगदान पु¥याएको छ ।
क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको समयमा नेपाल आउने विदेशी पर्यटकलाई पोखरामै आकर्षित गर्न सडक महोत्सव प्रभावकारी माध्यम बनेको छ । आयोजकका अनुसार यसले विदेशी पर्यटकको बसाइ अवधि बढाउनुका साथै विदेशी मुद्रा आर्जनमा समेत योगदान पु¥याउँदै आएको छ । पर्यटन व्यवसायीहरूका अनुसार महोत्सव अवधिमा पोखरामा विदेशी पर्यटकको संख्यामा वृद्धि हुने गरेको छ ।
सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय मिडियामार्फत पोखरा सडक महोत्सवका तस्बिर र भिडियो विश्वभर फैलिने गरेका छन् । यसले पोखरालाई सुरक्षित, जीवन्त र उत्सवप्रिय पर्यटन गन्तव्यको रूपमा चिनाउन सहयोग पु¥याएको छ । पर्यटन विज्ञहरूका अनुसार पोखरा सडक महोत्सव नेपालमा सफल इभेन्ट–बेस्ड टुरिज्मको उदाहरण हो ।
सडक महोत्सव आज पोखराको ब्रान्ड बनेको छ । यो महोत्सवले पोखराको मात्र होइन, नेपालको समग्र पर्यटन प्रवद्र्धनमा सकारात्मक योगदान दिएको छ । महोत्सवले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनाउन सहयोग पु¥याएको छ । रेवान पोखराले २७औँ पोखरा सडक महोत्सवलाई भव्य र सफल बनाउन सम्पूर्ण पर्यटन व्यवसायी, स्थानीयवासी, मिडिया र सर्वसाधारणलाई सहकार्य गर्न आह्वान गरेको छ । सुरक्षा, सरसफाइ, व्यवस्थापन र गुणस्तरलाई प्राथमिकता दिँदै महोत्सव आयोजना गरिने आयोजकले जनाएको छ ।
समग्रमा पोखरा सडक महोत्सव आज केवल मनोरञ्जनको कार्यक्रम नभई पर्यटन प्रवद्र्धन, आर्थिक चलायमान र पोखरा ब्रान्डिङको केन्द्रीय आधार बनेको छ । २७औँ संस्करणले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पोखरालाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।





Comments are closed.