नासा र सिद्घार्थ ग्रुपको बलियो साझेदारी: सदस्यलाई होटल तथा रेस्टुरेन्टमा २५% सम्म छुट

काठमाडौं । नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा नेपाल) का सदस्य, खेलाडी, प्राविधिक, तथा सम्पूर्ण अफिसियलहरुलाई अब सिद्घार्थ विजिनेस ग्रुप अफ हस्पीटालिटीले आफ्ना सेवाहरुमा विशेष छुट प्रदान गर्ने भएको छ । संघको तर्फबाट जारी हुने सदस्यता कार्ड, डाईभिङ र राईडिङ लाईसेन्स, तथा ईभेन्टका सहभागी अफिसियलको प्रमाणपत्र भएका सबैले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस सम्बन्धी सम्झौता पत्रमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नासा नेपालका अध्यक्ष दशरथ रिसाल तथा सिद्घार्थ ग्रुपका निर्देशक दुर्गा दत्त पन्तले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार, सिद्घार्थ ग्रुपका नेपालभर फैलिएका दुई दर्जनभन्दा बढी होटल, रेस्टुरेन्ट, क्याफे, क्याटरिङ र पार्टी प्यालेसहरुमा नासा नेपालको प्रिभिलेज कार्ड मार्फत विशेष छुट उपलब्ध हुनेछ ।

यो सुविधा अन्तर्गत, सिद्घार्थ ग्रुपका सबै प्रकारका होटलहरुको रुम सर्भिस (बेड एण्ड ब्रेकफास्ट) मा २५ प्रतिशत, फुड एण्ड बेभरेज (खाना तथा पेय पदार्थ) मा १२ प्रतिशत छुट प्राप्त हुनेछ । साथै, सभा, समारोह तथा क्याटरिङ सेवामा पनि विशेष छुटको व्यवस्था गरिएको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा नासा नेपालकी टुरिजम कमिसनकी संयोजक कमला आचार्य, प्रशासन तथा मोविलिटी म्यानेजर किरण धिताल, तथा टुरमाण्डु नेपालका मिलन पन्त र सागर आचार्यको पनि उपस्थिति रहेको थियो । यस सम्झौताले दुवै संस्थाको संस्थागत र व्यवसायिक प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।

यो छुट सुविधाबाट नेपाली मोटरस्पोटर््स, अटोमोबाईल, मोविलिटी तथा ड्राईभ टुरिजम र रोड सेफ्टीको क्षेत्रमा संलग्न विभिन्न व्यक्ति, क्लब, कम्पनी तथा उनीहरुका परिवारका सदस्यहरुले समेत लाभ लिन सक्नेछन् ।

संघको टुरिजम कमिसनको समन्वयमा टुरमाण्डु नेपालले नासा नेपालको हस्पिटालिटी, ट्राभल टुरिजम, मोविलिटी र सदस्य प्रिभिलेज लगायतका व्यवस्थाहरुको व्यवस्थापन गर्नेछ । यो सम्झौताले नेपाली अटोमोबाईल तथा खेलकुद क्षेत्रमा सिद्घार्थ ग्रुपको व्यवसायी छवि अझ वृद्घि हुने अपेक्षा गरिएको छ ।

नासा नेपालले भविष्यमा ट्राभल र टुरिजमका अन्य क्षेत्रमा समेत यस्तै किसिमका सम्झौताहरु गरी आफ्ना सदस्यहरुलाई थप सेवा सुविधा प्रदान गर्ने योजना बनाएको छ ।

You might also like

Comments are closed.