गुणस्तरीय शिक्षा र सुरक्षित भविष्यको सपना बोकेर विदेशिन्छन् विद्यार्थी

काठमाडौं । काठमाडौंको एउटा कलेजमा प्लस टु सकेका अरुण बयाली नेपालमै बिबिए अध्ययन गरिरहेका छन् । बिहान पढ्ने र दिउसो आफूलाई खर्च पु¥याउने गरी प्राइभेट कम्पनीमा जागिर खान्छन् । न उनी कलेजको पढाइमा खुसी छन् न जागिरमा नै उनको आकर्षण छ । कहिले भिसा आउँछ र क्यानडा जान पाइन्छ भन्ने पर्खाइमा छन् उनी । ‘साथीहरु सबै विदेश गइसकेका छन् । म नेपालमै पढ्ने सोचले कलेज भर्ना भएको थिएँ । अब विदेश नै जाने तयारीमा छु,’ उनी भन्छन् । विदेशमा अध्ययन गरिसकेपछि राम्रो अवसर मिल्ने र भविष्य सुरक्षित हुने उनको एकमात्रै उद्देश्य छ ।

पोखराका बिराट न्यौपाने पनि विदेश जानका लागि कन्सल्टेन्सी धाइरहेका छन् । तयारी कक्षाहरुमा व्यस्त रहेका उनी पनि राम्रो अवसरको सपना देखेर नै विदेश जान आतुर छन् । सकेसम्म अष्ट्रेलिया जाने र नभए जुनसुकै देश जाने उनले बताए । ‘प्राय दाइ दिदी पर्ने आफन्तहरु अष्ट्रेलियामा गएर सेटल भइसकेको अवस्था छ,’ उनले भने, ‘त्यही भएर मैले पनि पहिलो प्राथमितामा अष्ट्रेलिया राखेको छु ।’

नेपालमा अध्ययन सक्दासम्म राम्रो अवसर पाउन नसक्ने चिन्ताले अधिकांशहरु आफ्नो घर, परिवार र देश छोडेर जहाजको लामो यात्रा गर्न बाध्य छन् । त्रिभुवन विमानस्थलको इन्टरनेशनल टर्मिनलका दृश्यहरुले पनि नेपाली युवाहरु स्वदेशमा बस्न रुचाउँदैनन् भन्ने पुष्टि गर्छ । विदेशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुले नो अब्जेक्सन लेटर (एनओसी) लिनुपर्छ । एनओसीका लागि दैनिक ५/६ सय जनाले आवेदन दिनुले पनि युवाहरु विदेश जान कति आतुर छन् भन्ने देखाउँछ ।

अध्ययनका लागि विद्यार्थी बाहिर जाने क्रम बढ्दै गएको बताउँछन् नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराई । ‘हाम्रो देशको शिक्षा प्रणाली अझै पनि परम्परागत नै छ,’ यहाँका युवा विद्यार्थीहरु बढी स्मार्ट छन् । उनीहरु बढी अवसरको खोजीमा छन्,’ उनी भन्छन्, ‘अध्ययनसँगै भोलिका लागि रोजगारीको ज्ञारेन्टी पनि उनीहरुले खोजिरहेका हुन्छन् ।’ नेपालको शिक्षा प्रणालीलाई सुधार गरेर पर्याप्त अवसरहरु सिर्जना हुँदाको दिन अध्ययनका लागि विदेशिने क्रम घट्न सक्ने उनी बताउँछन् ।

यसरी युवाहरु धमाधम विदेश जाने क्रम बढ्नु चिन्ताको विषय भएको स्वयम परामर्शदाता व्यवसायीहरु पनि बताउँछन् । ‘हाम्रो चाहना पनि विद्यार्थीहरु विदेश जाउन् भन्ने होेइन । सकेसम्म विद्यार्थीले स्वदेशमा अध्ययन गर्ने वातावरण बनोस् भन्ने चाहन्छौं,’ अध्यक्ष भट्टराई भन्छन् ।

सकेसम्म नेपाली विद्यार्थीले नेपालमै अध्ययन गर्नुपर्छ भन्ने मान्यताका साथ इक्यानले ‘स्टडी इन नेपाल’ अभियानको सुरुवात गरेको अध्यक्ष भट्टराईले बताए । ‘यो अभियानका लागि हामीले कामको सुरुवात पनि गरिसकेका छौं,’ उनले भने ।

पूर्वाधारको विकास गरी शिक्षा प्रणालीमा आमुल सुधार गर्न सके विदेशी विद्यार्थीसमेत अध्ययनका लागि नेपाल आउनसक्ने बताउँछन् इक्यानका उपाध्यक्ष लक्ष्मण पौडेल । ‘विदेशी विद्यार्थीलाई कसरी नेपाल ल्याउन सकिन्छ भनेरसमेत हामीले यहाँका युनिभर्सिटीहरुसँग छलफलमा जुटिसकेका छौं,’ उनी भन्छन् ।

कानुन, ऐन, नियमावली नहुँदा व्यवसायी र विद्यार्थीहरुले दुःख पाउने गरेको इक्यानका महासचिव दीपकराज भुसाल बताउँछन् । ‘आज शिक्षा क्षेत्र परिवर्तित भएको छ । विद्यार्थीको पढ्ने, शिक्षकको पढाउने र त्यसलाई व्यावहारिक कार्यान्वयन गर्ने हरेक सन्दर्भमा नवीनता देखिएको छ । आजको विद्यार्थी यही बदलिदो विश्व समुदायमा प्रतिस्पर्धा गरी त्यसलाई व्यवहारमा उतार्न सकिने र बजारमा बिकाउ हुने शिक्षाको खोजीमा छ,’ उनी भन्छन् । अल्पविकसित र विकासोन्मुख मुलुकका विद्यार्थीहरू प्राविधिक र व्यावहारिक शिक्षाको खोजीमा संसार चहार्न थालेको उनले बताए । ‘सोही कारण नेपाली विद्यार्थी पनि विदेशिने क्रम बढेको छ,’ उनी भन्छन् ।

You might also like

Comments are closed.