नेपालमा हवाई उडानः अवसरको खोजी, चुनौतिको सामना

सुदर्शन बर्तौला, हवाइ सुरक्षा प्रमुख तथा प्रवक्ता, यती एअरलाइन्स

नेपालका विभिन्न शहर तथा ग्रामीण क्षेत्रलाई एक आपसमा जोड्नका लागि हवाई सेवाले महत्वपूर्ण योगदान दिदै आएको छ । आन्तरिक तथा बाह्य पर्यटक तथा यात्रुलाई आवतजावतमा हवाई सेवाले धेरै सहज बनाएको छ । पछिल्लो समय धेरै मानिसहरुमा व्यस्त जीवनशैली बढ्दो छ । छिटो छरितो गन्तव्यमा पुग्ने माध्यम पनि हवाई सेवा बनेको छ । नेपालका कतिपय ठाउँमा सडक सञ्जाल व्यवस्थित हुन सकेका छैनन् । त्यस्ता ठाउँमा हवाई सेवाको महत्व अझै बढी छ । हवाई सेवा सुरु भएको ७ दशकको अवधि नेपालमा विभिन्न आरोह तथा अवरोहसँगै गुज्रिएको छ । यो क्षेत्रमा अवसरसँगै चुनौतिहरु पनि छन् । अवसरको खोजी गर्दै र चुनौतिको सामना गर्दै नेपालमा बिमान सेवा प्रदायकहरु अगाडि बढिरहेको मान्न सकिन्छ ।

पछिल्लो समय समग्र देशको आर्थिक अवस्था कमजोर छ । आर्थिक मन्दीसँगै नेपालको हवाइ उडान पहिला भन्दा केही कठिन बन्दै गइरहेको छ । मानिसको जति चहल पहल बढ्नुपर्नेमा बढ्न सकेको छैन । बाध्यात्मक चहलपहल मात्र देखिन्छ । विभिन्न सडकहरु रोकिदा हवाइ यात्रा गर्ने यात्रुको चाप धेरै हुन्थ्यो । अहिले त्यस्तो छैन । उडानका लागि पैसा चाहियो । अहिले उडान पनि महंगो भएको छ । यस कारण हवाई व्यवसाय फस्टाउन आर्थिक समृद्धि पनि प्रमुख आधार रहेको पुष्टि हुन्छ ।

इन्धनको मूल्य बढेका, उडानमा भ्याट लगाइएका तथा एयरपोर्ट सेवा शुल्कमा वृद्धि भएका कारण बिगतमा भन्दा उडान केही महंगो पर्न गएको छ । हवाई भाडा निर्धारण गर्दा वायुसेवाले लिने शुल्क, ईन्धन शुल्क र बिमानस्थल यात्रु सेवा शुल्कलाई जोडेर निर्धारण गरिन्छ । समग्र रुपमा हेर्ने हो भने नेपालमा वायुसेवाले लिने शुल्क नबढेको ८ वर्ष भइसक्यो । यो अवधिमा डलरको मूल्य झण्डै दुई गुणा बढिसकेको छ, यसले वायुसेवाको खरिद मूल्य, पाइलटको तालिम, प्राविधिकहरुको तालिम, स्पेयर्स पार्टस खरिदमा प्रत्यक्ष असर पारेको छ । त्यति हुँदा पनि वायुसेवा कम्पनीले भाडा बढाउने अवस्था छैन । संसारमै महङगो इन्धनका कारण यात्रुलाई भाडा केही महंगो भने भएको हो ।

यती एअरलाइन्सको कुरा गर्दा हामीसँग अहिले ५ वटा जहाज छन् । हामीले पोखरामा पनि रात्रिकालीन उडान सञ्चालन गरिसकेका छौं । काठमाडौं पोखरा दैनिक ७ वटा फ्लाइट चल्छन् ।

हामीले काठमाडौंसँग हवाई उडानमा ८ वटा शहरलाई जोडेका छौं । पर्वतारोहण उडान समेत गरेर सेक्टरको हिसाबले हेर्ने हो भने ९ वटा सेक्टर हुन्छ । हाम्रो भगिनी संस्था तारा एअरले पनि दुर्गम क्षेत्रलाई जोड्ने काम गरिरहेको छ । पोखरा–जोमसोम, डोल्पा, सिमिकोट, रारा, बाजुरामा तारा एअरले उडान भरिरहेको छ । सिजनको समयमा रामेछापबाट लुक्ला, काठमाडौं लुक्ला उडान गर्दै आएका छौं । हामी सुगम दुर्गम दुवै क्षेत्रमा नेपालमा वाइडेस्ट नेटवर्कका रुपमा छौं । सेवाको हिसावमा हामी अगाडि छौं । यात्रुलाई उत्कृष्ट सेवा दिन हामी लागिरहेका छौं ।

लिमिटेड कम्पनीमा रुपान्तरण

jutta mela

यती एअरलाइन्स लिमिटेड कम्पनीमा रुपान्तरण भएका छौं । हामी सकेसम्म यही आर्थिक वर्षभित्र ३ वटा एटिआर जहाज थप्ने योजनामा छौं र सर्वसाधारणको लागि शेयर जारी गर्नेछौं । जहाज थपेपछि हामीले एउटा बेस पोखरालाई बनाउछौं । अन्नपूर्ण रेन्जमा माउण्टेन फ्लाइट गर्ने, पोखराबाट भैरहवा उडान गर्ने हाम्रो योजना छन् ।

एअरलाइन्स चलाउने भनेको यात्रुलाई सेवा बढाएर नै हो । हाम्रो स्लोगन नै ‘यु कम फस्ट’ छ । यात्रुको सुविधाको लागि इन फ्लाइट वाइफाई सर्भिस ल्याएका छौं । सुविधाका हिसाबले हामीले ह्विलचियर प्यासेन्जर बोक्नका लागि इलेक्ट्रिक गाडी ल्याएका छौं । स्पेशल काउन्टर पनि छन् । काउन्टरमा कहिले पनि भिडभाड हुँदैन । हाम्रो पहिलो प्राथमिकता नै यात्रुको सेवा हो ।

सुगमको हवाइ उडानमा हाम्रो पहिलेदेखिको प्राथमिकता पोखरा नै हो । पर्यटकीय क्षेत्रमा उडान गर्ने हिसाबले पोखरा जहिलेपनि हाम्रो प्राथमिकतामा छ । दुर्गमको पर्यटनलाई सुगमसँग जोड्न सुरु गर्ने पनि यती एअरलाइन्स नै हो । भगिनी संस्था तारा एअरले पोखरा जोमसोम उडान गरिरहेको छ । मौसमले साथ दिँदा एउटा मात्र उडान भएपनि गर्छौं । पोखरामा आफ्नै भवनमा क्रु क्याम्प समेत रहेकाले बेस स्टेसन बनाएरै सेवा दिइरहेका छौं ।

भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भयो भने यात्रुको चाप बढ्छ । हामीले पनि भैरहवाबाट नेपालगञ्ज, पोखरा उडान गर्न सक्छौं । यात्रु भए उडान गर्न तयार छौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान भयो भने पोखराबाट अन्य शहरमा पनि आन्तरिक उडान गर्न सकिन्छ ।

हवाई उडानमा समस्या ल्याउने मुख्य कुरा भनेकै मौसममा आउने फेरवदलले हो । मौसम चुनौतिपूर्ण नै बनेको छ । नेपालमा ४ सिजन हुन्छ । कतिबेला घाम लाग्छ कतिबेला बादल लाग्छ भन्ने थाहा पनि हुँदैन । मौसम कै कारण उडान डिले हुने तथा उडान क्यान्सिल हुने गरेका छन् । आर्थिक नोक्सानी पनि हुने गरेको छ । जहाज लामो समयसम्म आकाशमा होल्ड गर्नुपर्दा टाइम लस हुनुका साथै इन्धन पनि धेरै कन्ज्युम हुन्छ । यात्रुको गुनासो पनि बढ्छ ।

कुराकानीमा आधारितः

You might also like

Comments are closed.