स्वतन्त्रता भनेको विद्यमान कानुनको अधिनमा रहेर कुनै पनि काममा प्रतिवन्ध लगाउन नमिल्ने अवस्था हो । राज्यका विभिन्न परिवर्तन संस्थागत गरिँदा अधिकार र दायित्वका धेरै प्रावधान समेटिएका छन् । कतिपय यस्ता अवस्था छन् ती प्रावधान व्यवहारमा लागू गर्दा हाम्रा व्यवहारिक पक्ष थला पर्दै गएका छन् । मैले यस आलेखमा उठान गरेका कुरा स्वतन्त्रताको मात्र होइन स्वच्छन्दतामाथि उठेका प्रश्नहरूको पनि हो । भएका व्यवस्थाको समूचित प्रयोगमा हामी कतै चुकेका छौ कि अथवा चुक्यौं कि भन्नेमा हो । अर्थात स्वतन्त्रताको नाममा बहकिने र व्यवस्थापन गर्नै नसक्ने अवस्थामा पुग्यौं कि भन्ने कुरामा हो ।
कतिपय अवस्थामा लाग्छ, हामीलाई स्वतन्त्रता धेरै नै दिइएको हो कि ? पछिल्ला केही हाम्रा सामाजिक गतिविधि हेर्दा यस्तोे लाग्न थालेको छ आज यही स्वतन्त्रता बढी हुँदा धेरै नतिजा देखेको छौं, कोही यसकै प्रभावमा डिप्रेसनमा पुगेर औषधिको अम्मली जस्तै बन्नु परेको छ त कसैले आत्महत्याबाट आफैलाई गुमाएका दृष्टान्त छन् । यी धेरै परिस्थिति स्वतन्त्रतताको सही उपयोग र व्यवस्थापन नहुँदाका परिणाम पनि हुन् । हरेक मानिसले आफ्नो अधिकार उपभोग गर्न पाउनुपर्छ । हरेकको वृत्ति विकास र मानवीय हक स्थापित गर्न स्वतन्त्रतता अनिवार्य औजार हो । तर स्वतन्त्रतताको व्यवस्थापन र नियन्त्रण परिस्थिति र संवेदनशीलताको आधारमा गरिनुपर्छ । कतिपय अवस्थामा हाम्रो परिभेष, सामाजिक संरचना र सामाजिक अभ्यास अनुकूलताका आधारमा स्वतन्त्रतताको उपभोग गरिनुपर्छ । हाम्रो हजुरबुबा आमाको समयमा ९–१० वर्षको उमेरमा बिहे गरिदिने चलन थियो । यो उमेर भनेको स्कुलमा गएर पढ्ने उमेर थियोे नि त्यो अवसर पाउनुभएन तर घरको संस्कार, मानमर्यादा, जिम्मेवारीको कुरा उहाँहरूले सिक्नुहुन्थ्यो । किताबको ज्ञान नभएपनी उहाँहरूसँग व्यवहारिक ज्ञान, जिम्मेवारी, धार्मिकपन सबैकुराले सम्पन्न हुनुहुन्छ÷हुनुहुन्थ्यो । बुबाममीको पालोमा पढाइलाई पनि केही मान्यता दिनुहुन्थ्यो, पारिवारिक, सामाजिक जिम्मेवारी र दायित्वमा उत्तिकै संवेदनशील हुनुहुन्थ्यो । ममीहरूको पालोमा पनि बिहे हुँदा रोजेर पाउनु हुन्न थियोे, फलानोको छोराछोरी को हुर्केको छ भनेर खोजेर माग्न जाने काम हुन्थ्यो । के कस्तो छ भनेर बुझ्नु पर्दैन थियोे केटो असल छ केटी असल छ भन्यो बिहे गर्योको अवस्था थियो । समय परिवर्तनशील छ, पछिल्ला पुस्तामा तिनै अघिल्ला पुस्ताका संस्कार यता हस्तान्तरण हुन सकेनन् । अहिलेको समय यति परिवर्तन भयो कि आजकल आफ्नो परम्परा, धर्म, मानप्रतिष्ठा, इज्जत भन्नेकुरा त छोडांै सामान्य मर्यादा र सामाजिक, पारिवारिक जिम्मेवारी बोध हुन सकेको अवस्था छैन ।
पहिले जस्तो जिम्मेवारी र बन्धन छैन, अधिक स्वतन्त्रतता छ तर निम्त्याउने परिणाम भयाभह छ । हिजो नियन्त्रण र बन्धनकाबीच पनि समाज व्यवस्थित बन्ने तर आज त्यही समाज परिस्कृत स्वरूपभित्रका अभ्यास समाज अनुकूल बन्न नसक्ने किन होला ? अहिले हामीले देख्दै, भोग्दै र सुन्दै आएका सामाजिक घटनाक्रम हामीले जुन कुरालाई स्वतन्त्रतता ठान्दै आएका छौं, तिनै कुराले निम्ताएका परिणाम हुन् । जस्तो अहिले केटाकेटी कुनै सम्बन्धमा रहनु सामान्य भइसकेको छ । उनीहरूलाई सम्बन्धमा बस्नको लागि न परिवार न समाज र न व्यवस्था नै बाधक छ तर उनीहरू सम्बन्धमा एक खालको लाभ लिनेबेलासम्म त्यसलाई राम्रैसँग भूमिका निभाएका हुन्छन् तर जब एक अर्कामा असमझदारी आउँछ, त्यसबेला फरक खालको अवस्था सृजना हुन्छ । यसले के देखाउँछ भने हामी स्वतन्त्रतताको प्रयोगको लागि तयार भयौं तर त्यसले निम्त्याउने परिणामका विषयमा हामीलाई तयार राख्न सकेनौं । यो अवस्था किन आएको हो भने यस्ता परिवर्तनलाई आत्मसाथ गर्ने र स्वीकार गर्ने संस्कृतिको विकास समान रूपमा हुन सकेन । जबसम्म यस्ता विकास क्रम समान गतिमा सबैतिर जान सक्दैनन् यसलाई समाजले स्वीकार गर्ने परिस्थिति र परिणाम फरक आउन सक्छ ।
त्यस माथि अहिलेको प्रविधिले हामीलाई धेरै विकृत बनाएको छ । प्रविधिको पहुँचमा भयौं तर यसको प्रयोग र यसबाट लिने लाभको विषयमा हामी सचेत रहन सकेनौं । प्रविधिकै कारणले अहिले समाजमा विभिन्न खालका अपराध घटिरहेका छन् । प्रविधिको प्रयोगमा पनि स्वतन्त्रतताले भूमिका खेलिरहेको छ । स्वतन्त्र भएर सबैलाई रमाउन मनपर्छ आफ्नो लागि जीवनसाथी खोज्ने अधिकार पनि , आफ्नो जीवन कसरी विताउने भन्ने कुराको स्वतन्त्रतता पनि छ तर हाम्रो समाजमा यसरी विकृत भयो कि हरेक सम्बन्धमा दरार आउनको लागि कुनै समय लाग्ने देखिएन । हिजो असामान्य र कल्पनासम्म पनि गर्न नसकिने घटनाक्रम अहिले सामान्य बन्दै गएका छन् । यसले समाजलाई कतातिर लैजादै छ भन्ने कुराको चिन्ता शुरू भएको छ । हाम्रो जीवनशैली किन असामान्य बन्दै गएको छ, सम्बन्धमा किन मनमुटाव बढ्दै गएको छ, एकले अर्कालाई हेर्ने आत्मियता र प्रेम भावमा किन बदलाव आइरहेको छ ? यी कुराको कनेक्सन कुनै न कुनै तरीकाले हामीले आफूलाई स्वतन्त्रतताका नाममा अनुशासन भन्दा बाहिर पुर्याउँदा यो अवस्था आएको हो भनेर अनुमान लगाउन कुनै संकोच मान्नु पर्दैन । पारिवारीक जीवनमा अहिले जस्वन छैन, मुर्दा अवस्थाको पारिवारीक सम्बन्धले भोलिको पुस्ताले के संस्कार सिक्ला ? हरेक परिवारका सदस्य कुनै न कुनै खालको तनावमा रहेका हुन्छन् । परिवार हिजो पनि थियो, समाज र संस्कार हिजो पनि थिए, समस्या हिजो पनि थिए तर हिजोको पुस्ताले त्यसलाई कसरी व्यवस्थापन गर्यो र आफूलाई कसरी अनुशासनमा राख्यो भन्ने कुरामो खोजी अहिले भएन ।
परिवर्तन आवश्यकता हो, समयानुकूल हरेक कुरामा परिवर्तन जरुरी छ तर त्यसको व्यवस्थापन र नियन्त्रण भन्दा बाहिर रहेर त्यसको दिगो सकारात्मक प्रभाव कसरी कायम गर्न सकिएला ? अहिले हामीले बच्चालाई हातमा मोबाइल थमाएर भुलाउने काम गर्दै आएका छौं । बच्चालाई आफ्नो माया, ममता , संस्कार बुझाउन सकेका छैनौं । उसलाई स्कूलमा पढाउने कुराले नै सबै कुरामा सुधार ल्याउन सकिन्छ भन्ने गलत मानसिकता हामीमा व्याप्त छ । भोलिका दिनमा असामान्य अवस्था र परिणाम निस्कन नदिनको लागि कम्तीमा परिवारमा पारिवारिक संस्कार, माया, प्रेम, पारिवारिक दायित्व र सामाजिक परिवर्तनमा आफूलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरामा तयार रहनुपर्छ । अन्यथा यसले भोलिका दिनमा यी असामान्य अवस्थालाई झनै बढावा दिने कुरा निश्चित छ ।
Comments are closed.