बुबा ममीको त्यो महानता

सुजना सिंखडा

सानैदेखि म भित्र चञ्चल स्वभाव थियो । मेरो बाल्यकालमा मेरो मिल्ने साथी मेरो बुबा हुनुहुन्थ्यो । बुबाले मलाई अति माया गर्नुहुन्थ्यो अनि मलाई बोकेर जतापनी लाग्नुहुन्थ्यो केटाकेटीपनमा हिड्न नपरेपछि मैले पनि धेरै माया बुबालाई नै गर्न थाले । बिस्तारै बिस्तारै स्कुल जाने समयपनी आउन लाग्यो । मलाई ६ वर्षको उमेरमा स्कुल भर्ना गरियो । जब मेरो स्कुलमा भर्ना भएदेखि बुबाछोरीको फरक खालको कहानी सुरु भयो ।

घरमा काम गरेर सघाउनुपर्ने बेलामा मेरो बुबा छोरीको भविष्यको लागि दिनभरी स्कुलमा बस्नुपर्ने बाध्यता । म कतिसम्म जिद्धी स्वभावकी थिएँ भने म बसुञ्जेल बुबा पनि स्कुलमै बस्नुपर्ने । मेरो बालहठको सामु बुबाको केही लाग्दैनथ्यो । मलाई साथ दिएर स्कुलमै बस्नुहुन्थ्यो । साँझ सँगै घर जान्थ्यौं । सर मिसले पनि बुबालाई भन्नुहुन्थ्यो ‘हजुर कति समय यसरी छोरीलाई साथ दिन सक्नुहुन्छ ? घरमा काम पनि बितेको होला । यता छोरी हजुर नबसे पढ्दैपढ्दिनन् । कस्तो दोधारमा पारिन् हजुरलाई छोरीले ।’ मेरो बुबाले केही नबोली हासेर नै जबाब दिनुहुन्थ्यो, छोरीको लागि यति त गर्नैपर्यो ।

कहिले काँही मेरो कारणले ममीको गाली बुबाले खानुहुन्थ्यो । गृहस्थी जीवन पनि गाह्रो नै थियो ममीलाई । घरको भान्सादेखि बाहिरको खेतीपाती समेत आफैंले सम्हानुपर्दा कति गाह्रो हुने थियो त्यो अहिले आएर मैले महसुस गर्छु । साथ दिने जीवनसाथी छोरीको भविष्यको लागि दिनभरी स्कुलमै बस्नुपर्ने बाध्यता । यो ममीको महनता थियो ।

हिजोको दिनमा हजुरले बुबालाई त्यो ४ वर्ष स्कुलमा मसंगै नपठाउनु भएको भए आज हजुरको छोरीले शिक्षाबाट बञ्चित हुने थिई कि ? त्यो समयमा आफूले अध्ययनको अवसर नपाएपनि छोराछोरीले पढ्नुपर्छ भन्ने मान्यता थियो मेरो ममीबुबामा । बुबाले स्कुलमा शिक्षक पेशा नगर्नु भएतापनी घरमा बुबा मेरो लागि शिक्षक हुनुहुन्थ्यो । स्कुलमा दिएको होमवर्क केही जानेन भन्ने मलाई सिकाउनु पनि हुन्थ्यो । म दुई कक्षामा थिए मलाई एउटा कुरा याद छ कि मलाई गुणान १२ सम्म भनेको थिए गणित पढाउने सर छक्क पर्नुभएको थियोे । तिमिलाई कसरी आयो भन्नेर भन्नू भयो म लाठी चाहिँ थिएन घरमा मकैको दाना गर्नेर सिकेको भन्ने उहाँहरुलाई के थाहा मेरो बुबालाई गणित विषय एकदम राम्रोसंग आउने थियोे । त्यो समयमा क्यालकुलटेर नभएपनी म गणित विषयमा बुबालाई नै जितिदिने थिएँ । अनि बुबा खुशीले गदगद हुनुभयो । स्कुलको हरेक क्रियाकलापमा भाग लिएर पहिलो, दोस्रो भएर घर फर्कदा ममी बुबा खुसी नहुने कुरै भएन । ममीलाई कापी र कलम किन्ने पैसा बचाउँथे । ममी बुबा सधैं खुशी हुनुहुन्थ्यो मेरो त्यो मेहनत र लगनशीलता देखेर ।

सानोमा मैले बुबालाई घरमा काम गर्न कहिल्यै दिइन । त्यो शिलशिला ३ कक्षासम्म पढ्नेबेलासम्म रह्यो । त्यसपछि साहेद म पनि बुझ्ने भएँकि म एक्लै स्कुल जान सुरु गरेँ । पढाईमा प्रतिस्पर्धा नै थियो । मैले पनि सक्दो मेहेनत नै गरेर पढ्ने गर्थेँ ।

मेरो साथीको घर नजिकै थियो । उसले म पनि तिम्रो घरमा आउँछु दुईजना मिलेर पढौं है भन्ने प्रस्ताव राखिन् । मैले सिधै नाइँ भनेँ । कहाँ भोलि तिमीले मलाई जित्छौ भन्ने डरले घरमा पढ्न आउछु भन्ने साथीलाई पनि रोकिदिएँ । म आज त्यो दिनहरु याद गरिरहेको हुन्छु । त्यो बाल्यकालको जीवन एकदम आन्नदमय बिताएको हुँदा फेरि पनि त्यो दिनहरु आएपनि हुन्थ्यो जस्तो लाग्छ । सायद सबैको बाल्यकालमा एउटा एउटा यस्ता हिस्साहरु हुन्छन् जुन जीवनभर स्मरणीय रहन्छन् । म पनि समय समय त्यो समयको यादलाई बर्तमानमा पनि मानसपटलमा सम्झिरहन्छु । सबैभन्दा बढी याद मेरो बुबा ममीको त्यो महानतालाई गर्छु ।

You might also like

Comments are closed.