समय पनि कस्तो आयो खै सबैदेखि टाढा रहनुपर्ने । रोग लाग्यो भने साथमा बसेर हेरबिचार गर्न नपाउने । टाढा बसेर हाल खबर सोध्नुपर्ने । सन् २०१९ को अन्तिमबाट सुरु भएको यो क्रम अहिलेसम्म जारी छ । फेरी कोरोना भााइरस नयाँ भेरिएन्टसहित संसारभर फैलिएको छ । नेपाल पनि अहिले ओमिक्रोन भाइरसबाट आक्रान्त बनिसकेको छ ।
कोरोनाको डर, त्राससँग जीवन जिउनुपर्ने बाध्यता हामीसँग छ । यही बाध्यताबीच संघर्ष गरेको पनि २ वर्ष भन्दा बढी भइसक्यो । स्वतन्त्र भएर खुल्ला वातावरणमा निस्कन सक्ने अवस्था छैन । बाहिर निस्कदा पनि भिडभाड भन्दा टाढै रहनुपर्ने स्थिति छ । यो मानव जीवनमा अहिले साह्रै दुःखद समय चलिरहेको छ ।
२ वर्ष पहिले हामी कति हासिखुसी आफ्नो जीवनलाई अगाडि बढाउँदै थियौं । अहिले धेरै मानिसहरु मानसिक चिन्ताको सिकार बन्न पुगेका छन् । संसारभरको अर्थतन्त्रमा यसले नकारात्मक असर गरेको छ । पर्यटन क्षेत्रलाई अझै बढी प्रभाव पारेको छ । पर्यटन क्षेत्रमा काम गर्नेहरु मध्ये धेरैले जागिर गुमाए भने कतिपयलाई जीविकोपार्जनका लागि अर्कै काम तथा व्यवसाय अंगाल्नुपर्ने परिस्थिति बन्यो । व्यापार गरौं भने विदेशी पर्यटक आउन पाएका छैनन्् । अफिसमा कर्मचारी राखिएको छ तर तलब दिन सक्ने अवस्था छैन । घरभाडामा लिएर अफिस, होटल, रेस्टुरेन्ट चलाउनेहरुले पनि समयमै पैसा तिर्न सकेका छैनन्् । बैंक, फाइनान्सले पनि पर्यटन क्षेत्रलाई ऋण लगानीमा प्राथमिकता दिन छोडेको अवस्था छ । सबै व्यापार व्यवसाय कोरोनाका कारण प्रभावित भएपनि यसको प्रत्यक्ष मार पर्यटन क्षेत्रमा परेको छ । यो क्रम लामो समयसम्म जारी रह्यो भने अवस्था अझै विकराल हुनेछ ।
मानिस यति सौखिन भएर बस्ने बानी परेको छ कि हामी शहरमा बसेर चामल बेसाएर खान्छौं । तर, त्यो हाम्रो बाझो बारीमा गएर रोपाईं गर्न सक्दैनौं । रासायनिक, विषादी प्रयोग गरेको खानेकुराले हाम्रो शरीरमा दिनप्रतिदिन रोगले हामीलाई छोइसकेको छ । हामी मानिसमा अल्छिपन अत्याधिक मात्रामा बढेको छ ।
विषम परिस्थितिबीच पनि हामी आशावादी भने बन्नैपर्छ । सकारात्मक सोच राख्नैपर्छ । अब आशा गरौं सबै देशमा भ्याक्सिन पुगेको छ । अब बिस्तारै फेरी त्यो रमाइलो दिनहरु पक्कै पनि छिट्टै आउने छ । हामीले कोरोना महामारीलाई छिट्टै परास्त गर्नेछौं । तर, हाम्रो समाज कस्तो छ भने अब केही कारण लकडाउन भयो भने व्यापारीहरुले मन लाग्दी गरेर सामानको मूल्य बढाउँछन् । यहि हो नाफा कमाउने समय भनेर धेरैलाई लाग्छ । दैनिक उपभोग्य तथा खाद्यान्न सामग्रीको मूल्य आकाशिन्छ । यही समयमा अस्पतालमा बेडहरुको चार्जपनि अत्याधिक हुन्छ । सेवामुखी भन्दा नाफामुखी हुने र मौकाको फाइदा उठाउने चलन छ । यस्तो गैरमानवीय कार्य अब तत्काल रोकिनुपर्छ ।

कोरोनाको समयमा अहोरात्र खटिने राष्ट्र सेवकहरु छन् । हाम्रो लागि सेवा गर्ने स्वास्थ्यकर्मीहरु, मिडियाकर्मीहरु, सुरक्षाकर्मीहरुले योगदान कोरोना महामारीको समयमा स्मरणीय रहेको छ । यो महामारीमा अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई हामीले सम्मान गर्नैपर्छ । म पनि सबैलाई सम्मान गर्छु । आफ्नो स्वास्थ्यको ख्याल नगरी दिनरात जनताको स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मीहरु बास्तवमै महान छन् ।
कोरोना महामारीको २ वर्ष व्यतित भइसकेको छ । यो २ वर्षमा हामीले जेजति पाठ सिकेका छौं आगामी दिनमा यो सिकाइले जीवन जिउने कलालाई थप रचनात्मक बनाउनेछ भन्ने मैले विश्वास लिएको छु । स्वास्थ्य मापदण्ड पालना गर्दै दैनिक जीवन चलाउनुको विकल्प हामी कसैलाई पनि छैन । विश्वास गरौं हामी सबै मिलेर यो महामारीलाई छिट्टै परास्त गर्नेछौं ।







Comments are closed.