स्टक बढेर बटर र पाउडर राख्ने ठाउँ समेत छैन

सुमित केडिया

अहिले हामी डेरी व्यवसायीले धेरै समस्याहरु भोग्नु परेको छ । विशेष गरी हामीले दूध उत्पादन बढी हुँदा किसानबाट सबै दूध लियौं र मिल्क होलिडेबाट बचाउने काम गर्यौं । तर, आज हामीसँग स्टक धेरै भएको छ । आज हामीसँगै भएको स्टक बटर र पाउडर राख्ने ठाउँको समेत अभाव भइसकेको छ । यसले गर्दा किसानलाई समयमा नै भुक्तानी दिनसमेत नसक्ने अवस्था आइरहेको छ । यस्तो अवस्थामा अन्य देशमा पनि सरकारले विशेष कोषको व्यवस्था गरेर सहजीकरण गर्ने काम गर्छ । तर यहाँ हाम्रो समस्याको सुनुवाई भएको अवस्था छैन । सरकारले किसानको वाहीवाही त पायो । तर, हाम्रो पीडा चाही कसले बुझ्ने ?

आज सरकारले बाहिर बसेका नेपाली स्वदेश फर्किनुपर्छ । यहीँ उद्यमशील बन्नुपर्छ, किसानलाई बचाउनुपर्छ भनिरहेको अवस्था छ । तर, यहाँ किसानको दूधलाई खरिद गरी मिल्क होलिडेबाट बचाउने उद्योगी व्यवसायीको समस्याको सुनवाई हुँदैन । यस्तो अवस्था रहिरहेमा छिट्टै मिल्क होलिडे नहोला भन्न सकिने अवस्था छैन । यो डरलाग्दो अवस्थालाई समयमा नै सहजीकरण गर्नसक्नुपर्छ । डेरी जन्य सामान छिटो बिग्रन्छ । योे सामान फलाम वा स्टिल जस्तो होइन भन्ने कुरा सबैले बुझ्नुपर्छ । बटरको डेट ६/७ महिनामात्रै हुन्छ र पाउडरको सेफलाइन एक वर्षको मात्रै हुन्छ । हामीले समयमा नै यो पाउडर र बटरलाई कसरी जोगाउन सक्छौं भनेर सोच्ने दिन आएको छ ।

त्यस्तै सरकारले हामीलाई सफ्ट लोनको व्यवस्था पनि गर्न आवश्यक छ । पाउडर र बटर स्टक रहेका कारणले हामीले किसानलाई समयमा भुक्तानी दिन सकिरहेका छैनौं । यस्तो अवस्थामा सरकारले सहुलियत दरमा लोन उपलब्ध गराउनुपर्छ । सरकारको आम्दानी काम छ र खर्च धेरै छ । सित्तैमा हामीले केही पनि मागेका छैनौं । सफ्ट लोन दिन त सकिन्छ नि भन्ने हाम्रो माग हो । हामीले दूध उत्पादन गरेका छौं । प्रशोधन गरेका छौं । त्यसपछि हामीले प्याकेजिङ गर्नुपर्छ । प्याकेजिङ मेटेरियल्स हामीले छिमेकी मुलुकबाट ल्याउनुपर्ने बाध्यता छ । प्याकेजिङ मेटेरियल्समा लाग्ने भन्सारका कारण मूल्य बढिरहेको अवस्था छ । दूध र दुग्ध जन्य पदार्थका लागि आवश्यक प्याकेजिङ मेटेरियल्समा लाग्ने भन्सार शुल्क पनि घटाउन सकियो भने बाहिरबाट आउने दूध र दुग्ध पदार्थसँग प्रतिस्पर्धा गर्न सजिलो हुन्छ ।

त्यसैगरी दूध तथा दुग्ध पदार्थको स्वच्छता सम्बन्धी निर्देशिक कृषि तथा पशु विकास मन्त्रालयमा थन्किएर बसिराखेको छ । त्यसलाई कार्यान्वयन गरेमा राम्रो हुन्छ । कुनै किसानले घरदैलोमा दूध बेच्छ भने त्यो समस्याको विषय होइन । तर, पसलबाट दूध र दुग्ध पदार्थ बेच्छौं भने अनिवार्य रुपमा प्याकेजिङ र लेबलिङ गर्नुपर्छ । हामी पनि आफूलाई स्तरउन्नति गर्दै उपभोक्तालाई स्वच्छ दूध र दुग्ध पदार्थ खुवाउनुपर्छ ।

कुराकानीमा आधारित :

केडिया सीताराम गोकुल मिल्क्सका निर्देशक एवं नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष हुन् ।

lcci
You might also like

Comments are closed.