पर्यटनमा ४ दशकको अनुभवपछि आरडी किरणले जन्माए ‘सनसाइन रिसोर्ट’

सुरेन्द्र पौडेल, पोखरा । राजु ध्वज किरण (आरडि किरण) पर्यटन क्षेत्रमा प्रशिद्ध नाम हो । उनले ४ दशक भन्दा बढी समय पर्यटन क्षेत्रमा बिताएका छन्, त्यो पनि व्यवस्थापनको नेतृत्व तहमा रहेर । पर्यटन क्षेत्रमा उनको सक्रियता अझ बढ्दो छ । स्वदेश तथा विदेशका तारे होटलहरुमा काम गरेको अनुभव संगालेका राजु किरण अहिले आफ्नै रिसोर्टमा व्यस्त छन् । स्वदेशी तथा विदेशी पाहुनालाई आफ्नै नेतृत्वमा स्वागतसहित आतिथ्यता प्रदान गरिरहेका छन् ।

राजु किरणले पोखरा २१ फेदीपाटनमा ‘सनसाइट रिसोर्ट’ सञ्चालन गरेका छन् । जुन रिसोर्ट सन् २०१९ जनवरीबाट सुरु भएको हो । रिसोर्ट पुग्न पोखराबाट केही टाढा जस्तो लागे पनि त्यहाँ पुगेपछिको आनन्द छुट्टै खालको छ । १० रोपनी जग्गामा आकर्षक डिजाइनमा बनेको रिसोर्ट शान्त तथा रमणीय वातावरणमा अवस्थित छ ।

रिसोर्टमा २१ वटा रुम छन् । स्ट्याण्डर्ड, सुपेरियर, डुप्ली, स्विट गरी ४ वटा क्याटागोरीका रुम रहेको राजु किरणले आर्थिक आवाजलाई जानकारी दिए । आकर्षक डिजाइनमा बनाइएका रुम र बाथरुम फराकिला छन् । सल्लाको काठ प्रयोग गरेर आधुनिक शैली प्रदान गरिएको छ । रिसोर्टमा ८ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्मका रुम छन् । ‘अहिले कोभिड पछिको अवस्थालार्ई मध्यनजर गरी विशेष छुटमा प्याकेजसहित पर्यटकलाई स्वागत गरिरहेका छौं,’ राजु किरणले भने ।

मिटिङ तथा सेमिनारका लागि रिसोर्टमा सय जना क्षमताको कन्फ्रेन्स हल पनि छ । केही ठूलो कार्यक्रम तथा जमघट गर्नुपर्दा रिसोर्ट परिसरको खुल्ला चौर प्रयोग गर्न सकिन्छ । ‘रिसोर्ट परिसरमा रहेको खुल्ला गार्डेनमा पिकनिक लगायतका पार्टीहरु गर्न सकिन्छ,’ उनले भने, ‘बार्बिक्यु पार्टीका लागि पनि यो ठाउँ उपयुक्त छ ।’ रिसोर्टमा ७० जना क्षमताको रेष्टुरेन्टसहित बारको सुविधा पनि छ ।

स्विमिङ पुल, चिल्ड्रेन प्ले एरिया, अर्गानिक भेजिटेबल गार्डेन रिसोर्टका आकर्षण हुन् । रिसोर्टका लागि आवश्यक पर्ने तरकारीहरु यहीँको गार्डेनबाट उत्पादन हुन्छ । ‘मेवा, एभोेकाडो, आँप, अम्बा लगायतका फलफूल यहीँ उत्पादन हुन्छ,’ राजु किरणले भने ।

jutta mela

राजु किरणले फरक खालको झझल्को प्रदान गर्ने गरी रुमहरुको डिजाइन गरेका छन् । प्रत्येक रुमबाट हिमालयको दृश्य अवलोकन गर्न सकिन्छ । पछाडि जंगल, अगाडि फुस्रे खोलाको सुन्दर दृश्यले पनि यहाँ आउने पाहुनाहरु प्रफुल्लित हुन्छन् । गाइडसहित भिलेज टुरको व्यवस्थासमेत गरिएको छ । ४ मिनेटदेखि ३ घन्टासम्मको टुरको व्यवस्था गरिएको उनले जानकारी दिए ।

रिसोर्टमा आउने पाहुनाले रोजाई अनुसारको खाने परिकार प्राप्त गर्न सक्छन् । ‘नेपाली थालीलाई प्राथमिकता दिइए पनि कन्टिनेन्टल, चाइनिज खाना लगायत इच्छा अनुसारको खानाको परिकारको व्यवस्था हुन्छ,’ उनले भने । रिसोर्टमा उनले करिब २५ करोड रुपैयाँ लगानी गरेका छन् ।

कोभिड सुरु हुनु अगाडिसम्म अमेरिका, इङल्याण्ड, स्पेन, चाइना, डेनमार्क, फ्रान्स, अष्ट्रेलिया, इन्डिया लगायतका मुलुकबाट रिसोर्टमा प्रशस्त पर्यटक आउने गरेका थिए । स्वदेशी पर्यटकको रोजाई पनि रिसोर्ट परेको थियो । कोभिडका कारण केही महिना सुनसान भएपनि पछिल्लो समय क्रमशः पर्यटकहरु आउने क्रम सुरु भएको राजु किरण बताउँछन् । ‘पोखरामा पर्यटनको अथाह सम्भावना छ,’ उनले भने, ‘यही सम्भावनालाई मध्यनजर गरी पर्यटन क्षेत्रमा लगानी गरेको हुँ ।’

आफूले रिसोर्ट सञ्चालन गर्नु अघि उनले पोखराको पाँचतारे होटल फुलबारी र काठमाडौंको होटल द्वारिकाको महाप्रवन्धक भएर काम गरिसकेका छन् । सोल्टी ओवराय (अहिलेको सोल्टी क्राउन प्लाजा) मा समेत काम गरेको अनुभव छ उनीसँग । कलकत्ता, हैदरावाद, दुवाई, कतारका स्टार होटलहरुमा समेत व्यवस्थापकीय नेतृत्वमा रहेर काम गरिसकेका राजु किरण यतिबेला आफ्नै होटलको व्यवस्थापनमा व्यस्त छन् ।

You might also like

Comments are closed.