काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को सचिवमा सुरज सिलवालले उम्मेदवारी घोषणा गरेका छन् । पुस २८ गते हुने आसन्न निर्वाचनका लागि उनले सचिवमा उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
बिगत १५ वर्षदेखि शिक्षा परामर्श व्यवसायमा सक्रिय सिलवालले संस्थागत सुधार र व्यवसायीहरूको हकहितका लागि सचिवमा उम्मेदवारी दिएको बताएका छन् ।
कनेक्ट ग्लोब एजुकेशन ग्रुपका निर्देशक समेत रहेका सिलवाल हाल इक्यानको कार्यसमिति सदस्य भएर काम गरिरहेका छन् । सिलवालले आफ्नो उम्मेदवारीसँगै ८ बुँदे कार्ययोजना अघि सारेका छन् । सम्पूर्ण ईक्यान सदस्यहरूलाई संघको कार्यक्रममा नेतृत्वदायी भूमिका प्रदान गर्ने र व्यावसायिक तालिम सुनिश्चित गर्ने, केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गरी शिक्षा परामर्श क्षेत्रको नवीकरण र नयाँ स्वीकृति प्रक्रियालाई सरल र प्रभावकारी बनाउन पहल गर्ने, विदेशी विश्वविद्यालय तथा कलेजहरूलाई नेपालमा आमन्त्रण गरी अन्तर्राष्ट्रियस्तरको व्यावसायिक सहकार्यका कार्यक्रमहरू सञ्चालन गर्ने, केन्द्रदेखि शाखासम्मका सदस्यहरूको व्यावसायिक अवसर र सूचनामा पहुँच पु¥याउन ‘मेम्बर ओरिएन्टेड’ कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, ‘द नलेज हाउस’ अभियानमार्फत कोष संकलन गरी इक्यानको आफ्नै भवन निर्माण गर्ने दीर्घकालीन लक्ष्यतर्फ ठोस कदम चाल्ने लगायतका प्रतिबद्धता उनले गरेका छन् ।

‘व्यक्तिगत स्वार्थभन्दा माथि उठी इक्यानको संस्थागत हित र सम्पूर्ण सदस्यहरूको आवाज बनेर पारदर्शिता र जवाफदेहिताका साथ अघि बढ्ने मेरो प्रतिबद्धता छ,’ उनले भनेका छन् । उनी बिगत १० वर्षदेखि इक्यानको साधारण सदस्य भएर काम गरेका छन् । आफ्नो विगतको कार्यसम्पादन र भावी योजनाका आधारमा सदस्यहरूबाट अमूल्य मत र समर्थन पाउनेमा आफू विश्वस्त रहेको उनले बताए ।




Comments are closed.