सुरक्षा पालुवाको साधारणसभा सप्ताहव्यापी रुपमा सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ कालिकास्थानस्थित सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्थाले १४ औं वार्षिक साधारणसभा सप्ताहाव्यापी रुपमा सम्पन्न गरेको छ । कोरोना महामारीको जोखिमीलाई दृष्टिगत गर्दै सहकारीले असोज २४ गते औपचारिक शुभारम्भ गरेको साधारणसभा शुक्रबार सम्पन्न गरेको हो ।

साधारणसभाको समापन समारोहमा बोल्दै महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले सहकारीको एकिकरण गर्दै जाने सरकारको नीति रहेको र यो कार्यान्वयनमा आउने बताउँदै त्यसका लागि सहकारीहरू तयार हुनुपर्ने बताए ।
एउटै भूगोलभित्र एक व्यक्ति एक सहकारीमा मात्र आवद्ध हुने व्यवस्था सहितको कानून कार्यान्वयनमा आउने बताउँदै उनले व्यक्ति व्यक्तिले पनि आँफू आवद्ध सहकारीहरूको एकिकरणका लागि पहल गर्नुपर्ने आवश्यकता औंल्याए । नीति, विधि र प्रविधिलाईसँगसँगै अघि बढाउँदै उत्पादनमा जोडिनेगरी सहकारी कृयाशिल बन्नुपर्नेमा उनले जोड दिए ।

सहकारीका अध्यक्ष टुल्कनाथ आचार्यले कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा सजगता लगायतका कुरालाई दृष्टिगत गर्दै साधारसभाका कार्यक्रम सप्ताहव्यापी रुपमा सञ्चालन गरिएको जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नं ३३ का वडा सदस्य दीपकराज लामिछानेले एक सहकारी एक उत्पादनको नीतिलाई कार्यावयननमा ल्याउनुपर्ने बताउँदै वडा भित्रका सहकारीले एकले अर्कोलाई सहयोग एवम् सहकार्य गर्नुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका सहकारी समितिका दर्ता अधिकारी अनिल कार्कीले सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारीको व्यवस्थापकीय पक्षको प्रशंसा गर्दै आगामी दिनमा उत्पादनमुलक क्षेत्रमा जोडिने विश्वास व्यक्त गरे ।

संस्थाका सहसचिव सतिस लामिछानेले सञ्चालन गरेकोे कार्यक्रममा शिक्षा उप समितिका संयोजक निर्मल आचार्यले स्वागत गरेका थिए ।२ हजार १ सय ९ जना शेयर सदस्य रहेको सहकारीले ६५ करोड ३७ लाख ५५ हजार रुपैयाँको कारोबार गरेको छ । संस्थाले कालिकास्थानस्थित प्रधान कार्यालय, लामगादी, पुँडीटार, न्यूरोड, भण्डारढिक र पुलचोकमा सेवा केन्द्रहरूबाट सेवा प्रवाह गर्दै आएको छ ।

You might also like

Comments are closed.