युवा उद्यमी सुरेन्द्रकुमार उप्रेती (सुरेश) नाडाको महासचिवमा पुनः सर्वसम्मत निर्वाचित भएका छन् । अघिल्लो कार्यकाल पनि महासचिव बनेर सचिवालय व्यवस्थापन लगायत नाडाको हरेक गतिविधिमा आफूलाई सक्रिय बनाएका उप्रेती श्री एसटिसी ग्रुपका प्रवन्ध निर्देशक हुन् । यसैक्रममा नाडाका गतिविधि तथा अटो व्यवसायमा केन्द्रित रहेर उप्रेतीसँग आर्थिक आवाजले गरेको कुराकानीः
नाडाको महासचिवमा पुनः सर्वसम्मत निर्वाचित हुनुभएको छ । यो अवसरलाई कसरी लिनुभएको छ ?
पछिल्लो समय आर्थिक मन्दीको असर अटोमोबाइल लगायत समग्र व्यावसायिक क्षेत्रमा परेको छ । यो विषम परिस्थितिमा नाडाको कार्यसमिति नै सर्वसम्मत निर्वाचित गराउने भन्ने अभियानमा हामी जुटेका थियौं । सहमतिको अभियानमा हामी सफल पनि भएका छौं । करण चौधरीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति गठन भएको छ र महासचिवमा पनि मलाई साथीहरुले सर्वसम्मत स्वीकार गर्नुभयो । यो अवसरका लागि म सम्पूर्ण अटोमोबाइल व्यवसायीहरुप्रति आभारी छु ।
अघल्लिो कार्यकाल पनि महासचिव भएर काम गर्नुभयो । अघिल्लो कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
समग्रमा हेर्ने हो अघिल्लोे कार्यकाल धेरै चुनौतीपूर्ण नै रह्यो । आर्थिक मन्दी, सदस्य संख्या पनि बढेको र सबैलाई समेटेर अगाडि बढ्नुपर्ने दायित्व हामीसँग थियो । प्रदेश संरचनामा यसै कार्यकालबाट गएका थियौं । प्रदेश संरचनामा के कसरी काम गर्ने भन्ने कुरा लगायतले गर्दा चुनौती थियो । हामी सबै मिलेर चुनौती कम गरी राम्रो काम गर्न सफल भयौं । सबैलाई समेटेर नाडालाई अगाडि बढाएका छौं । केही काम अझै गर्न बाँकी छन् । अब यो कार्यकालमा ती कामलाई पूर्णता दिनेछौं । सचिवालयलाई व्यवस्थित बनाउने अभियानमा म सफल भएँ भन्ने लाग्छ । आगामी दिनमा थप रचनात्मक गतिविधिमा हामी सक्रिय हुनेछौं ।
आर्थिक मन्दीका कारण अटो व्यवसायमा परेको प्रभाव कस्तो छ ?
आर्थिक मन्दीका कारण व्यवसायमा धेरै अप्ठ्यारो आएको छ । अटो पार्टस, टु ह्विलर्स, फोर ह्विलर्स सबैको आयात कम हुँदै गइरहेको छ । व्यवसाय कसरी चलाउने, कसरी अगाडि बढ्ने भन्ने नै सबैभन्दा ठुलो चुनौती छ । बैंकको व्याजदर, बजारमा गाडी नबिक्नु, फाइनान्स नहुनु, राष्ट्र बैंकको कर्जा नीति लगायतका कारणले गाडी किन्न बन्देज नै गरेको जस्तो अवस्था थियो । यसको असर व्यवसायमा देखिएको छ । नेपालमा निर्वाध रुपमा भारतीय गाडी प्रवेश गर्ने, सामान ल्याउने, गाडी मेन्टिनेन्स नहुने, स्पेयर पार्टस, टायर, लुब्रिकेन्ट्स यहाँ नकिन्ने, गाडी नबिक्ने कारणले समस्या आएको छ । मजदुरले पनि काम नपाएको अवस्था छ । जसले गर्दा हामी पीडित छौं ।
भन्सार छलिबाट धेरै सामान नेपाल भित्रिने क्रम बढ्दा नेपालका जेन्युन व्यवसायीहरु मर्कामा परेका हुन् ?
भन्सार नाकामा कडाइ नहुनु, भारतीय व्यापारीहरु नेपालको बोर्डरमा आएर अर्डर लिने र सामान ल्याइदिने गर्दा यहाँ भएका व्यवसायी पलायन भएर विदेश जानुपर्ने अवस्था छ । सामान आयात धेरै कम भइसकेको छ । यहाँ रोजगारी पनि गुमिरहेको छ । व्यवसाय चलेमा सरकारलाई राजश्व पनि तिरिन्छ । राज्यले यस विषयलाई गम्भिर भएर हेर्नुपर्छ । नाकामा कडाई हुनुपर्छ । राज्यको नीति नै गलत छ र हामीले दुःख पाएका छौं ।
नाडामा नयाँ कार्यसमिति आएको छ । अब नाडाको कार्ययोजना कस्तो हुनुपर्छ ?
हामी संस्थागत रुपमा लड्नुपर्छ । अबका दिनमा भावी योजना बनाउँदा इम्पोर्टर र डिलरबीच समन्वय गर्नुपर्छ । डिलरहरुलाई बचाउनु पर्छ । डिलरहरुको मार्जिन छैन भने मार्जिन दिनुपर्छ । कुनैपनि ठाउँमा हिजो काम भइरहेको थियो र अहिले भएको छैन भने किन भएन भनेर अनुसन्धान गर्नुपर्छ । हामी प्रदेश संरचनाका साथीहरुसँग पनि बोर्डरमा हुने गतिविधिका बारेमा छलफल गर्छौं । हाम्रो मुख्य एजेन्डा भनेको सीमामा हुने अनैतीक व्यापारलाई कसरी कम गर्न सकिन्छ, कसरी सदस्यको हकहितमा लड्न सकिन्छ, व्यवसायी र डिलरलाई कसरी बचाउन सकिन्छ भन्ने नै हो । डिलर भएन भने इम्पोर्ट गर्ने पनि हुँदैनन् । डिलरलाई निर्वाध रुपमा काम गर्ने वातावरण बनाइदिनुपर्छ । नाडाको चासो यसैमा हुन्छ ।
नाडा सदस्यहरुसँग तपाईंको आग्रह के छ ?
नीति निर्माण गर्ने बेलामा जहिले पनि सदस्यका सुझावको आवश्यक पर्छ । कतिपय काम गर्दागर्दै छुटेका पनि हुनसक्छन् । त्यस्ता कुरा विभिन्न माध्यमबाट जानकारी गराइदिनुहुन म आग्रह गर्दछु । नाडाले यस्तो काम गर्नुपर्छ भनेर सदस्यहरुले सुझाव दिनुपर्छ । हामी कमजोरीलाई सुधारेर अगाडि बढ्न सधैं तयार छौं ।
अन्त्यमा के भन्नुहुन्छ ?
अहिले नाडामा नयाँ नेतृत्व चयन भएको छ । सहमतिका आधारमा नेतृत्व चयन भएको छ र हामी सोही भावना अनुसार अगाडि बढ्नुपर्छ । सहमतिले नाडामा सकारात्मक सन्देश पनि प्रवाह गरेको छ । सहमति हुनु आफैंमा राम्रो हो । सहमतिका लागि धेरै प्रयास तथा छलफल भयो र जुन छलफलले सार्थकता पाएको छ ।
Comments are closed.