पर्यटनको सिजनमै ग्यास अभाव हुँदा व्यवसाय संकटमा पर्न सक्छः अध्यक्ष बराल

काठमाडौं । नेपालमा पर्यटकीय गतिविधि बढ्ने मुख्य सिजन सुरु भएसँगै बजारमा देखिएको खाना पकाउने ग्यासको अभावले पर्यटन क्षेत्रमा नयाँ संकट पैदा गरेको जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले बताएका छन् । उनले विज्ञप्ति जारी गर्दै पर्यटन तथा होटल क्षेत्रलाई आवश्यकता अनुसारको ग्यास उपलब्ध गराउनसमेत माग गरेका छन् ।

‘अन्तर्राष्ट्रिय तनाव र आन्तरिक आपूर्तिमा देखिएको अवरोधले व्यवसायीहरू मारमा परेका छन्,’ उनले भने ।

मध्यपूर्वमा जारी तनाव (विशेष गरी इरान–इजरायल द्वन्द्व) को असर नेपालको आपूर्ति प्रणालीमा देखिएको छ । यसले गर्दा होटल सञ्चालनका लागि अत्यावश्यक ग्यास पाउन कठिन भएको उनले जानकारी दिए । ‘जेन जी’ आन्दोलन र निर्वाचनपछिको सुस्तताबाट तंग्रिन लागेको पर्यटन क्षेत्रलाई ग्यास अभावले फेरि थला पार्ने जोखिम बढेको बराल बताउँछन् ।

‘ग्यास अभाव र अन्तर्राष्ट्रिय अस्थिरताका कारण युरोप र मध्यपूर्वका पर्यटकहरूले धमाधम होटल बुकिङ रद्द गरिरहेका छन्,’ उनले भने ‘भारतीय पर्यटकहरू गर्मी छल्न नेपाल आउने र नेपाली नयाँ वर्षको आन्तरिक पर्यटन बढ्ने समयमै ऊर्जा संकट देखिनु दुर्भाग्यपूर्ण छ ।’
संघले होटल तथा पर्यटन क्षेत्रका लागि छुट्टै कोटा वा विशेष व्यवस्था गरेर ग्यास आपूर्ति सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेको छ ।

You might also like

Comments are closed.