पोखरा । सूर्य नेपाल गल्फ टुर २०२५(२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६ औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपन भोलि बुधबारदेखि पोखराको हिमालयन गल्फ कोर्समा सुरु हुँदैछ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजीए) द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछन्। तीन दिने प्रतियोगिता ५४ होलको हुनेछ। दोस्रो दिनको समाप्तीपछि कट लागु हुनेछ। १८ शीर्ष प्रोफेसनल र एमेच्योर खेलाडीहरूले अन्तिम १८ होलको लागि कट बनाउनेछन्।
शनिबार हुने प्रो(एम इभेन्ट हुनेछ।
सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा यो पटक कुल पुरस्कार राशि वृद्धि गरिएको छ। कुल १० लाख ५० हजार नगद पुरस्कार रहेको यो प्रतियोगिताको विजेताले १ लाख ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछ। यस्तै दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश १ लाख २५ हजार र १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। साथै शीर्ष १८ स्थानमा रहने अन्य प्रोफेसनल खेलाडीहरूले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।
डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर एक प्रोफेसनल गल्फर निरज तामाङसहित यो कोर्समा कोर्स रेकर्ड बनाएका भुवन नगरकोटी, सञ्जय लामा र जयराम श्रेष्ठलाई प्रमुख दाबेदारको रूपमा हेरिएको छ। प्रोफेसनल खेलाडीहरूलाई एमेच्योर राहुल विश्वकर्माले कडा चुनौती दिन सक्छन्।
माछापुच्छ्रे हिमालको मनोरम दृश्य र विजयपुर खोलाको किनारमा रहेको आकर्षक कोर्सलाई नेपालकै चुनौतीपुर्ण गल्फ कोर्स मानिन्छ। साथै यो कोर्सलाई साहसिक गल्फ कोर्स मध्ये एक भनेर गल्फ डाइजेस्टले समेत मान्यता दिएको छ। जहाँ गल्फरहरूको लागि पनि यो कोर्समा उत्कृष्ट प्रदर्शन गर्नु चुनौती हुनेछ। हिमालयन गल्फ कोर्सलाई यो प्रतियोगिताको लागि तयार पारिएको छ। पार-६९ को १६ वटा होल रहेको कोर्समा पहिलो र दोस्रो होल दुई पटक खेलिनेछ।
एनपिजीएका अध्यक्ष रवीन्द्र मान श्रेष्ठले भने, “हामी लगातार २६ औँ वर्ष यो प्रतियोगिता आयोजना गर्न पाउँदा अत्यन्त खुसी छौँ। निरन्तर सहयोगका लागि प्रायोजक सूर्य नेपाल प्रालिप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। प्रोफेसनल र एमेच्योर दुवै खेलाडीहरूले रोमाञ्चक र प्रतिस्पर्धात्मक प्रदर्शन गर्नेमा म विश्वस्त छु।”






Comments are closed.