ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको ४७औँ वार्षिक साधारणसभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सुशन महर्जनले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । संघका वर्तमान वरिष्ठ उपाध्यक्ष महर्जनले आगामी असोज २३ र २४ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएका हुन् ।
उम्मेदवारी दर्तापश्चात् महर्जनले संघलाई परिणाममुखी र दूरदर्शी संस्था बनाउने संकल्प व्यक्त गरे । ‘संघलाई केवल कार्यक्रममा सीमित नराखी मापनयोग्य नतिजा दिने संस्थाका रूपमा अघि बढाउनेछु,’ उनले भने, ‘साना तथा ठूला व्यवसायीका कर, नापतौल र कानुनी अडचन लगायतका समस्या फुकाउन सक्रिय हुनेछु ।’

पाटनको ऐतिहासिक कला, हस्तकला र संस्कृतिलाई पर्यटकीय समृद्धिसँग जोड्दै ‘क्रियटिभ इकोनोमी नेटवर्क’ निर्माण गर्ने उनको प्रतिबद्धता छ । ललितपुरका उत्पादनलाई ‘मेड इन ललितपुर’मार्फत विश्व बजारमा ब्रान्डिङ गरिने उनले बताए । साथै, ललितपुरको बजारलाई प्रविधिसँग र उत्पादनलाई बजारसँग जोड्ने मुख्य आधार बनाइने उनको योजना छ । ‘युवा तथा महिला उद्यमीलाई स्टार्टअप र नवप्रवर्तनमार्फत व्यवसायमा अगाडि बढाउँदै संस्थाको आर्थिक प्रशासनमा पूर्ण पारदर्शिता र वित्तीय अनुशासन कायम गर्नेछु,’ उनले भने ।




Comments are closed.