स्वेदेशी तथा विदेशी लगानीकर्तामाझ विश्वासको वातावरण बनाउँदैछौँः सीइओ ज्ञवाली

काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विदेशी लगानीकर्ताको विश्वास जित्न र लगानीको वातावरणलाई पुनः लयमा फर्काउन सक्रिय रुपमा पहल गरिरहेको बताएका छन् ।  आइतबार नेपाल आर्थिक पत्रकार संघसँगको भेटमा सीइओ ज्ञवालीले यस्तो बताएका हुन् ।

उनले गत भदौ २३ र २४ को जेनजी आन्दोलनका कारण अन्तर्राष्ट्रिय स्तरमा सिर्जना भएको नकारात्मक छविलाई सुधार गर्ने प्रयास भइरहेको उल्लेख गरे ।   सीइओ ज्ञवालीले पछिल्ला घटनाक्रमले लगानीकर्ताहरूको आत्मबल घटेकोले विश्वास जगाउनु पर्ने अवस्था रहेको बताए ।

‘संकटका बीच पनि बोर्डले एक दिन पनि आफ्नो सेवा प्रवाह नरोकि कामलाई निरन्तरता दियो, जसले लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह भएको छ। हामीले ‘हामी उठ्नैपर्छ’ भन्ने संकल्पका साथ सबै सरोकारवालालाई एकै ठाउँमा ल्याएर विश्वासको वातावरण बनाउने प्रयास गरेका छौं,’ उनले भने ।

ज्ञवालीका अनुसार आन्दोलनले मुलुकको अन्तर्राष्ट्रिय छविमा धक्का पु¥याउँदै लगानीकर्ताको मनोबलमा केही कमी ल्याएको उनको बुझाइ पनि छ ।  ‘अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि राजनीतिक र सामाजिक स्थिरता सबैभन्दा महत्वपूर्ण हुन्छ,‘ उनले भने,‘यस्तो अवस्थामा उनीहरूमाझ नकारात्मक सन्देश प्रवाह हुनु स्वाभाविक थियो। तर, बोर्डले त्यो विषयलाई तोडेर अघि बढ्ने गरी काम गरिरहेको छ ।’

पछिल्लो चुनौतीलाई सामना गर्न बोर्डले तत्काल निजी क्षेत्र, सरकारी निकाय र लगानीकर्ताहरूसँग उच्चस्तरीय संवाद गरिसकेको छ ।
पछिल्ला चुनौतीका बाबजुद पनि लगानी स्वीकृतिमा भने उत्साहजनक वृद्धि देखिएको छ। विगतमा वार्षिक करिब एक सय अर्ब रुपैयाँको लगानी स्वीकृत हुने गरेकोमा गत आर्थिक वर्षमा बोर्डले २५६ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको बताए । उनले चालु आर्थिक वर्षका लागि सात सय अर्ब रुपैयाँको महत्वाकांक्षी लक्ष्य राखिएको उल्लेख गरे ।

अहिले १६ खर्ब रुपैयाँ बराबरका लगानी आयोजनाहरू पाइपलाइनमा रहेको भन्दै उनले यसले पनि थप आशाको संचार गरेको बताए । परम्परागत जलविद्युत् बाहेक सूचना प्रविधि पार्क, हाइड्रोजन ऊर्जा र कृषि–सोलार जस्ता भविष्यमुखी परियोजनाहरू समेत समावेश रहेको उनको भनाइ छ ।

अहिलेसम्म बोर्डले जलविद्युत्, सिमेन्ट, पर्यटन, पूर्वाधार र सूचना प्रविधिजस्ता क्षेत्रमा खर्बौंको लगानी स्वीकृत गरिसकेको छ । लगानीको यो प्रवाहलाई निरन्तरता दिन बोर्डले आफ्नो कार्यशैलीमा समेत परिवर्तन गरेको उनको भनाइ छ ।  उनका अनुसार विगतमा सरकारले आयोजना तय गरेर लगानीकर्ता खोज्ने परम्परालाई तोड्दै अहिले लगानीकर्तालाई नै नवीन सोच र प्रस्ताव लिएर आउन प्रोत्साहित बोर्डले गरिएको छ।

‘हामीले लगानीकर्तालाई सोध्ने गरेका छौं, ‘तपाईंहरू के चाहनुहुन्छरु’ यसले गर्दा बजारको माग र लगानीकर्ताको विशेषज्ञताअनुसारका परियोजनाहरू आउन थालेका छन्,’ उनले भने ।  विदेशी लगानीकर्ताको सबैभन्दा ठूलो चिन्ताको विषय राजनीतिक अस्थिरता र नीतिगत परिवर्तन रहेको उनको बुझाइ छ ।

यसलाई सम्बोधन गर्न बोर्डले कानुनमा परिवर्तन गरी लगानीकर्ताको लगानी सुरक्षित हुने प्रत्याभूति दिने उल्लेख गरे ।  बोर्डले कुनै लगानीकर्ताले सम्झौता गरिसकेपछि सरकार परिवर्तन वा नयाँ कानुन बन्दा त्यसले आयोजनामा पार्ने नकारात्मक असरबाट जोगाउने गरी ऐन नीति बनाएको जानकारी सीइओ ज्ञवालीले दिए ।

उनले प्रधानमन्त्रीको अध्यक्षतामा रहेको बोर्डको संरचनाले ठूला आयोजनाहरूलाई ‘फास्ट ट्रयाक’मा निर्णय गराउन र विभिन्न मन्त्रालयबीच समन्वय गर्न सहज बनाएको बताए । प्रक्रियागत झन्झट कम गरी लगानीकर्तालाई एउटै छातामुनिबाट सेवा दिने वातावरण सिर्जना बोर्डले गरेको बताए ।

 

You might also like

Comments are closed.

Secret Link