आजदेखी वैदेशिक रोजगारीमा रहेका नेपालीले स्वस्तिक लघुवित्तको आईपीओ भर्न पाउने

काठमाडौं ।  स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि (असार २७ गते) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ।

लघुवित्तले आफ्नै जारी पूँजीको ४० प्रतिशत अर्थात् २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको थियो । यसमध्ये १ हजार १५५ कित्ता शेयर कर्मचारीहरूका लागि, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २३ हजार १०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि छुट्याइएको छ ।

यस आईपीओमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ताबाट अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।

स्वस्तिक लघुवित्तले गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई “इक्राएनपी इस्यूअर रेटिङ्ग बी@” प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

यस आईपीओको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

लघुवित्तले यस कदमलाई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मुलुकको वित्तीय क्षेत्रमा सहभागी गराउने एउटा अवसरका रूपमा समेत हेरिएको छ ।

You might also like

Comments are closed.