स्वयम्भूहारती टुर्सलाई १८ वटा अत्याधुनिक जुबाओ ईभी भ्यान प्रदान

काठमाडौं । आर्क्स ग्रुप प्रा. लि. ले स्वयम्भूहारती टुर्स एण्ड ट्राभल्स प्रा. लि. लाई १८ वटा जुबाओ १४ सिटर इलेक्ट्रिक भ्यानहरू हस्तान्तरण गरेको छ। उक्त भ्यान हस्तान्तरण समारोह काठमाडौंको नागपोखरीस्थित आयसन्या बुटिक होटलमा सोमबार आयोजित एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको हो।

जुबाओ ईभी भ्यान चीनको Shandong KAMA Automobile Manufacturing Co., Ltd. द्वारा निर्माण गरिएको आधुनिक प्रविधियुक्त इलेक्ट्रिक भ्यान हो। विशेषगरी समूह यात्रा तथा व्यावसायिक यातायातका लागि उपयुक्त मानिने यो गाडी पूर्णरूपमा विद्युतीय (इलेक्ट्रिक) हो, जसले सस्तो सञ्चालन खर्चमा अधिकतम सुविधा र आराम प्रदान गर्छ।

आर्क्स ग्रुपले नेपाली बजारमा ल्याएको जुबाओ भ्यानलाई वातावरणमैत्री, भरपर्दो र दीर्घकालीन यातायात समाधानका रूपमा प्रस्तुत गर्दै आएको छ। कम्पनीका अनुसार, यी भ्यानले यात्रुको अनुभवलाई अझ सहज बनाउनुका साथै वातावरण संरक्षणमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

स्वयम्भूहारती टुर्स एण्ड ट्राभल्सले यी नयाँ विद्युतीय भ्यानमार्फत आफ्नो सेवालाई थप गुणस्तरीय र पर्यावरणमैत्री बनाउने लक्ष्य राखेको छ। यसले नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।

उल्लेखनीय छ, नेपालभर आर्क्स ग्रुपका शाखाहरू विभिन्न ९ स्थानमा सञ्चालनमा छन्, जसमा काठमाडौं, धनगढी, नेपालगञ्ज, बुटवल, सुर्खेत, पोखरा, चितवन, इटहरी र बिर्तामोड रहेका छन्।

You might also like

Comments are closed.