काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले आगामी कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ (साधारण शेयर) निष्काशन गर्ने भएको छ ।
कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको आईपीओ बाँडफाँट सम्पन्न गरिसकेको हो ।
कम्पनीले कुल जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँ मध्ये ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ ।
पहिलो चरणमा कम्पनीले २ लाख ६१ हजार ६२९ कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र ४ लाख ९७ हजार ९२ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ । साथै, आफ्ना कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरिएको छ ।
अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्काशन गर्न लागेको हो, जसको कुल मूल्य ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँ हुनेछ ।
न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आईपीओ निष्काशन छिटोमा कात्तिक २३ गते बन्द हुनेछ भने ढिलोमा मंसिर ३ गतेसम्म आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनको लागि गरिएको रेटिङमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई ‘इक्राएनपी इश्यूअर रेटिङ डबल बी (ICRANP IR BB)’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।








Comments are closed.