सम्पदा संरक्षणमा स्थानीय तह

सानेबहादुर नेपाली/तनहुँ । यहाँका स्थानीय तह आफ्नो पालिकाभित्र रहेका धार्मिक, वातावरणीय, पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएका पुख्र्यौली सम्पदाहरूको संरक्षणमा जुटेका छन् । पुख्र्यौली सम्पदाका रूपमा रहेका पाटीपौवा, चौतारा, पोखरी, घुमाउने घरलगायत संरचानाको संरक्षण एवं संवद्र्धनका लागि स्थानीय तहहरू जुटेका हुन् ।

बटुवा हिँड्दा बास बस्ने, घामपानी पर्दा ओत लाग्ने, वन्यजन्तुका लागि रहेको पराम्परागत पोखरी, घुमाउने घरलगायत लोप हुँदै जान थालेपछि संरक्षणमा जुटेका हुन् । बटुवा बास बस्ने, काम गरेर थाकेपछि थकाइ मेट्ने, काम तथा हिँड्ने क्रममा हावाहुरी, असिनापानी आउँदा ओत लाग्न प्रयोग हुने पाटीपौवा संरक्षण अभावमा भत्कँदै गएपछि यहाँका सबै पालिकाले संरक्षण थालेका छन् ।

जिल्लाको आँबुखैरेनी गाउँपालिकाले आफ्नो मातहतमा रहेका छ वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत पुरानो बाटो, चौतारा र सामुदायिक वनमा पोखरी र घुमाउने घर निर्माण गरेको छ । आँबुखैरेनी गाउँपालिका–६ स्थित हिलेखर्कमा रहेको दुई घुमाउने घरको संरक्षण गरिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए । वनमा पानी नहुँदा वन्यजन्तु गाउँमा पस्ने र मानवीय क्षति हुने गरेकाले पोखरी निर्माणलाई प्राथामिकतामा राखेर काम गरेको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए ।

गाउँपालिकाले विभिन्न सामुदायिक वन क्षेत्रमा आठ पोखरी निर्माण गरिसकेको छ भने दुई पाटीपौवाको समेत मर्मतसम्भार गरी संरक्षण गरिएको उनले बताए । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत विकास निर्माणका काम गर्दा करिब रु ५० लाख खर्च भएको गाउँपालिका कार्यालयले जनाएको छ । आधुनिक जीवन शैलीले पनि पाटीपौवाको संरक्षणमा सम्बन्धित पालिकाको अझै ध्यान पुग्न सकेको देखिँदैन ।

पाटीपौवाको वातावरणीय तथा धार्मिक महत्व भएकाले यसको संरक्षण गर्नुपर्छ भनेर क्लबमा आवद्ध युवा मिलेर जनचेतना जगाउने तथा सरसफाइका काम गर्दै आएको एलायन्स क्लब अफ तनहुँका अध्यक्ष जमुना जोशीले बताइन्। “सडक सञ्जाल नजोडिएको र होटल सुविधा नभएको समयमा बटुवा र तीर्थयात्रीका लागि पाटीपौवा अनिवार्य हुन्थ्यो”, अध्यक्ष जोशीले भनिन्, “बजारमा होटल र गाउँमा घरबास भएकाले लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षणमा जुट्नुपर्ने आवश्यक देखिएको छ ।”

राति बास बस्नसमेत प्रयोग गर्न मिल्ने गरी बाटाको छेउमा तथा तनहुँको धार्मिकस्थल देवघाट, व्यास तथा पराशर क्षेत्र, थानीमाई, छाब्दीवाराही, ढोरबाराही, विभिन्न ठाउँमा निर्माण गरिएका पाटीपौवा संरक्षणको अभावमा सङ्कटमा पर्दै जान थालेका छन् । वावारणीय दृष्टिकोणले राम्रो, ढुङ्गाको छानो, ढुङ्गा र माटोको गारो तथा काठ प्रयोग गरिएका पाटीपौवा लोप हुँदै गएको र धार्मिक भावाना भएका केही व्यक्तिले सिमेन्ट, फलाम र टिनको प्रयोग गरेर बनाउने गरेको यसको महत्व ओझेलमा पर्दै गएको छ ।

पहिले हरेका गाउँ र बस्तीका बाटोघाटोको छेउमा पाटीपौवा हुने गरेको हाल भत्किएर कमै मात्रामा देखिन थालेको व्यास नगरपालिका–३ पोल्याङस्थित पोल्याङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष खडानन्द कैनीले जानकारी दिए । नेपाली कला तथा पहिचान झल्काउने सालका काठमा बुट्टाहरु कुँदिएका, कलात्मक पटीपौवासमेत संरक्षण अभावमा लोप हुने अवस्थामा पुगेकाले सम्पदाको संरक्षण गर्न सरोकारवालाले चासो दिनुपर्ने कैनीले बताए ।

धार्मिक भावना जागृत गर्न यस्ता सम्पदाको संरक्षण हुन जरुरी देखिएको छ । आफ्ना स्व बुबाआमाको सम्झनामा हालै रु सात लाख ५० हजार खर्च गरेर सामुदायिक भवन निर्माण गरिदिएको व्यास नगरपालिका–११ तल्लोपोल्याङ, जिम्माल गाउँका केशव पन्थ बताउछन् । असिनापानी परेको बेला यात्रुलाई ओत लाग्न, धार्मिक तथा सामाजिक कार्यमा सहज होस् भन्ने उद्देश्यले भवन निर्माण गरेको हुँ, मैले गरेको कार्यबाट अरुलाई पनि प्रेरणा मिल्न सक्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने उद्देश्यले सम्पदाको संरक्षण बन्दीपुर गाउँपालिकाले पनि गर्दै आएको छ । बन्दीपुर गाउँपालिका–२ साम्दीमा रहेको पाटीपौवाको संरक्षण गर्नुका साथै १२ चौतारा मर्मतसम्भार गरी संरक्षण गर्दै आएको अध्यक्ष पूर्णसिं थापाले बताए । उनका अनुसार बन्दीपुर गाउँपालिकाको वडा नं ५ र ३ मा रहेका घुमाउने घरको संरक्षण गर्दै आएको छ । पर्यटकीय क्षेत्रका रूपमा विकास हँुदै गएको यस क्षेत्रमा पर्यटकलाई आकर्षण गर्नका लागि पनि संरक्षण गरिएको सो गाउँपालिकाले जनाएको छ । चितुवाको प्रभावित क्षेत्रका रूपमा यस पालिका रहेकाले सामुदायिक वन क्षेत्रमा पोखरी खन्ने कार्यलाई पनि निरन्तरता दिँदै आएको छ ।

पौराणिक इतिहास बोकेका सम्पदाको संरक्षणका लागि गाउँपालिकाले प्राथामिकतामा राखेर काम गर्दै आएको उनले बताए । गाउँपालिकाभित्र रहेका यस्ता सम्पदाको खोजी संरक्षण कार्यमा जुटेको गाउँपालिका कार्यालयले जनाएको छ । त्यसैगरी व्यास नगरपालिका कार्यालयले पर्यटन प्रवद्र्धनका क्रियाकलापलाई अघि बढाएको छ ।

लोपोन्मुख विभिन्न जातजातिका वेषभूषा, पैतृक चालचलन वेषभूषा, ठाटीपौवा, बाद्यवादन, स्याखु, ढाक्रे संरक्षणलगायत पर्यटन प्रवद्र्धन क्षेत्रमा काम गर्दै आएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए । पाटीपौवा, घुमाउने घर, चौतरालगायत संरक्षणका लागि भनेर छुट्टै बजेट व्यवस्थापन नगरे पनि समग्ररूपमा समेटिएको उनले बताए । आगामी वर्षमा यस क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेर अघि बढ्ने योजना बनाएको नगरपालिका कार्यालयले जनाएको छ ।

त्यसैगरी जिल्लाको शुक्लागण्डकी नगरपालिकाले आफ्नो मातहतमा रहेका १२ वटै वडा नमूना पोखरी र चौतारो निर्माणलाई प्राथामिकतामा राखेर काम गर्दै आएको जनाएको छ । वातावरण शाखाको आयोजनामा प्रत्येक वडामा अभियानकै रूपमा पोखरी र चौतारो निर्माणलाई अघि बढाइएको नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिए । पुरानो खानेपानीको मुहान, उद्यान र पाटीपौवालाई संरक्षण गर्दै आएका छौं । उनले भने, “मुहानबाट सबै पानी बस्तीमा ल्याउँदा वन्यजन्तु जनावरका लागि पानी नहुँदा समस्यामा पर्ने गरेकाले मुहानको संरक्षण गर्दै पोखरी निर्माण गरिएको छ ।”

You might also like

Comments are closed.