बजारमा आएका ०.४७ प्रतिशत तरकारीमा घातक विष

काठमाडौं–आयातित तरकारीमा विषादीको मात्रा कति छ भनेर सरकारले विभिन्न ठाउँमा जाँच गर्दै आएको छ । विभिन्न सात स्थानमा केन्द्रीय कृषि प्रयोगशाला मातहत सञ्चालित विषादी अवशेष दु्रत विश्लेषण एकाइ (आरबिपिआर) को परीक्षण रिपोर्टले गएको शुक्रवारसम्मको कुल जाँचको ०.४७ प्रतिशत मात्र खान अयोग्य नमुना भेटेको देखाएको छ।

विषादी जाँच हुने कालीमाटी, बुटवल, नेपालगन्ज, अत्तरिया, बिर्तामोड, पोखरा र सर्लाही एकाइमा यो अवधिमा परीक्षण गरिएको ९ हजार ४४६ मध्ये ४४ नमुना मात्र खान अयोग्य भेटिएको हो। प्रयोगशालाका अनुसार एकाइमा अर्गानोफस्फेट र कार्बामेट गरी दुई समूह अन्तर्गतका विषादी जाँच हुन्छ । यो परीक्षणले एसिडाइल कोलिन्स्ट्रेन इन्जाइमको रोकावट दर पत्ता लगाउँछ । सामान्यतया इन्जाइमको रोकावट प्रतिशत ३५ प्रतिशतसम्म खानयोग्य, ३५ देखि ४५ सम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा माथिको तरकारी तथा फलफूल उपभोग गर्न नमिल्ने बुझिन्छ। जसलाई क्रमशः हरियो, पहेँलो र रातो गरी तीन समूहमा छुट्ट्याउने गरिन्छ।

यो अवधिमा सबैभन्दा बढी नमुना जाँच गरिएको बिर्तामोडमा रातो समूह ४ छ । प्रयोगशालाका बाली संरक्षण अधिकृत विवेक सुनारले बिर्तामोडमा यो अवधिमा १९६८ नमुना जाँच गरिएको बताए । उनले बिर्तामोड पछि धेरै जाँच भएको अत्तरियामा ११ नमुना रातो समूहमा छ, जहाँ १८९१ नमुना परीक्षण गरिएको थियो ।  सर्लाही र बुटवलमा खान अयोग्य विषादीको मात्रा भएको नमुना परिणाम शून्य रहेको उनले बताए। सर्लाही र बुटवलमा क्रमशः ८२५ र १४७५ नमुना परीक्षण भएको थियो।

यो अवधिमा पोखराको एकाइमा ९१३ नमुना जाँच गरिएकोमा नौंवटा खान अयोग्य भेटिएको छ । त्यस्तै, १८२६ नमुना जाँच भएको कालीमाटीमा १७ नमुना खान अयोग्य भेटिएका छन् । ५४८ नमुना परीक्षण भएको नेपालगञ्जमा ३ वटा नमुना खान अयोग्य भेटिएको सुनारले बताए।

अघिकृत सुनारले प्रयोगशालाले परीक्षण गरिने अर्गानोफस्फेट र कार्बामेट मानव स्वास्थ्यको लागि अन्यभन्दा घातक भएको र जसलाई नेपालमा प्रतिवन्ध लगाइएको बताए । ‘धेरै थोरैभन्दा पनि प्रतिबन्ध लगाइएको विषादी भेटिनु गम्भीर कुरा हो, परीक्षणको उद्देश्य त्यस्ता विषादीको प्रयोग शून्यमा झार्न पहल गर्नु हो,’ उनले भने । यो बाहेकका विषादी पनि जाँच गर्न आवश्यक देखिए पनि प्रविधि, जनशक्ति र लगानीका कारण संभव नभएको र प्रयोगशालाले अन्य विषादी जाँचको योजना बनाइरहेको बताए ।

You might also like

Comments are closed.