काठमाडौं । नेपालको सूचना प्रविधि (आइटी) क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै टेकपाइला इनोभेसनले विश्वविख्यात एनसीसी एजुकेसन युकेसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ । यस साझेदारी मार्फत अब कक्षा ११ र १२ का नेपाली विद्यार्थीले आफ्नै विद्यालयमा अन्तर्राष्ट्रिय स्तरको साइबर सुरक्षा, एआई र डाटा साइन्सका कोर्सहरू पढ्न पाउनेछन् ।
हालै आयोजित एक विशेष प्रडक्ट लन्चिङ कार्यक्रममा टेकपाइला इनोभेसनका एसोसिएट डाइरेक्टर एवं प्रविधि विज्ञ चिरञ्जीवी अधिकारीले ‘डिजिटल नेपालको जगः सीपमा आधारित शिक्षा र वैश्विक प्रतिस्पर्धा’ विषयमा आफ्नो मुख्य सम्बोधन राखे । यो अभियान नेपालको प्रविधि मानचित्रमा एउटा कोशेढुङ्गा सावित हुने दाबी गरे ।
सम्बोधनका क्रममा प्रविधि विज्ञ अधिकारीले नेपालको आईटी क्षेत्र वार्षिक २०–२५ प्रतिशतले वृद्धि भइरहे तापनि ७० प्रतिशत कम्पनीहरूले प्रमाणित जनशक्ति नपाएको तथ्याङ्क प्रस्तुत गरे । ‘हाम्रा विद्यार्थीहरू डिजिटल संसारमा रमाउँछन्, तर ५ प्रतिशतसँग पनि औपचारिक साइबर सुरक्षाको ज्ञान छैन । यो ‘स्किल ग्याप’लाई पुर्नु अब हाम्रो रहर होइन, राष्ट्रिय बाध्यता हो । साइबर सुरक्षा, एआई र डाटा साइन्स अब ऐच्छिक होइनन्, यी २१ औं शताब्दीका अनिवार्य बाँच्ने सीपहरू हुन्,’ अधिकारीले भने ।
शैक्षिक संस्थाहरूका लागि ‘शून्य लगानी’
टेकपाइलाले विद्यालय र कलेजहरूका लागि कुनै थप वित्तीय भार नपर्ने गरी ‘जिरो सेटअप कस्ट’ मोडल ल्याएको छ । यस अन्तर्गत कम्पनीले नै प्रमाणित प्रशिक्षकहरू र अत्याधुनिक लर्निङ म्यानेजमेन्ट सिस्टम उपलब्ध गराउनेछ । जसले गर्दा बजेट वा पूर्वाधारको अभावमा कुनै पनि नेपाली विद्यार्थी आधुनिक प्रविधि शिक्षाबाट वञ्चित हुनुपर्ने छैन । यी प्रमाणपत्रहरूले विदेशमा उच्च शिक्षाका लागि (बेलायत, अमेरिका र अष्ट्रेलियाका ७० भन्दा बढी विश्वविद्यालयमा भर्ना र ‘क्रेडिट माइलेज’) बाटो खोल्नेछ ।
नेपाललाई ‘साउथ एसियाकै आईटी हब’ बनाउने लक्ष्य
कार्यक्रमका मुख्य अतिथि एवं नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आईटी र एआई शिक्षालाई सरकारले पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । अध्यक्ष मल्लले विगत तीन वर्षभित्रमा नेपालको आईटी र एआई सर्भिस व्यवसाय दोब्बर भएको जानकारी दिए । सन् २०२३ मा ७० अर्ब रुपैयाँ बराबरको रहेको यो क्षेत्र अहिले १ सय ४० अर्ब पुगेको उनले बताए ।

‘यो क्षेत्र नेपालको जलविद्युत भन्दा पनि छिटो आम्दानी गर्न सकिने क्षेत्र हो,’ अध्यक्ष मल्लले भने, ‘हाम्रो मुलुकमा रहेको युवा शक्तिलाई हिडेर विदेश जान नदिने र विदेश गए पनि सस्तोमा श्रम बेच्नुपर्ने अवस्थालाई यो शिक्षाले रोक्नेछ ।’ उनले यो शिक्षा शहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा पनि पु¥याउन आग्रह गरे ।
राज्यले नीति र पूर्वाधारमा जोड दिनुपर्ने
नेपाल टेलिकमका म्यानेजर शालीग्राम पराजुली डा. शालिग्राम पराजुलीले राज्यले नीति, पूर्वाधार र मानव संसाधन विकासलाई समानान्तर रूपमा लैजानुपर्ने बताए । नयाँ पुस्ताको मुख्य माग रोजगारी, सुशासन र समृद्धि भएकाले ती सबै लक्ष्यलाई आईटी र एआई टूल्स मार्फत छिटो सम्बोधन गर्न सकिने उनको भनाइ थियो।
डिजी ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले टेकपाइला इनोभेसनले विश्वस्तरीय आईटी सेवा तथा उत्पादनहरू विकास गरेर नेपाली प्रविधिलाई विश्व मानचित्रमा पु¥याउन महत्वपूर्ण जग बसालेको बताएका छन् । उनले टेकपाइलाको यो नवीनतम पहलले नेपाली युवाहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउँदै नेपाललाई विश्वकै एक अग्रणी प्रविधि केन्द्रका रूपमा स्थापित गर्न कोशेढुङ्गाको काम गर्ने विश्वास व्यक्त गरे ।







Comments are closed.