पोखरा । पोखराकी युवा व्यवसायी टीका कुमारी गुरुङ निशेधाज्ञामा पनि व्यस्त छन् । व्यापार व्यवसाय बन्द भएपनि उनको सक्रियता बन्द हुन सकेन । दैनिक श्रम गरी जीविकोपार्जन गर्ने मजदुर तथा दुःखी, पीडितहरुलाई उनले खाद्यान्न लगायत राहत वितरण गरिहेकी छन् ।
फेवातालका डुंगा चालकहरुलाई उनले करिब ४० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेकी छन् । पोखराको मालपोत नजिकको सुकुम्बासी बस्तीका स्थानीयलाई खाद्यान्न अभाव भएको जानकारी पाएपछि उनले तत्काल ४० हजार रुपैयाँ बराबरको खाद्यान्न पठाइन् । उक्त खाद्यान्नबाट सुकुम्बासी बस्तीका २० घर परिवार लाभान्वित भए ।
पोखरा महानगरपालिका र लायन्सको अग्रसरतामा लेखनाथमा बनेको कोभिड डेडिकेटेड हस्पिटललाई उनले ५० हजार रुपैयाँ सहयोग गरेकी छन् । मणिपाल हस्पिटलमा उपचाररत २१ दिने सुत्केरीका लागि गुरुङले २० हजार रुपैयाँ सहयोग गरिन् ।
१२ वटा अक्सिजन सिलिण्डरसमेत उनले सहयोग गरेकी छन् । २ वटा पोखरा चेम्बर अफ कमर्शमार्फत, ५ वटा गण्डकी चेम्बरमार्फत, ५ वटा गण्डकी हस्पिटललाई उनले अक्सिजन सिलिण्डर सहयोग गरेकी हुन् ।
बतास फाउण्डेसनको अग्रसरतामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बन्ने अक्सिजन प्लान्टलाई उनले १ लाख रुपैयाँ सहयोग गरिसकेकी छन् । यसका साथै उनले व्यक्तिगत रुपमा थुप्रै परिवारलाई निशेधाज्ञाको बीचमा सहयोग तथा राहत वितरण गरेकी छन् ।
पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनका कार्यसमिति सदस्य, पोखरा चेम्बर अफ कमर्शका कार्यसमिति सदस्य गुरुङ बिगत १० वर्षदेखि अटोमोबाइल व्यवसायमा आबद्ध छन् । हाल उनले नयाँ गार्मेन्ट उद्योग पनि सुरु गरेकी छन् । स्थानीय बजारमा र विदेशसमेत निर्यात गर्ने गरी उनले गार्मेट उद्योग स्थापना गरेकी हुन् । इन्जिन वयल (लुब्रिकेन्ट)को लागि उनले नेपालको लागि आधिकारिक बिक्रेता भएर काम गरिरहेकी छन् ।
Comments are closed.