पोखरा । सुन्दर नगरी पोखरामा अत्याधुनिक सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । पोखराका पर्यटन व्यवसायी दाजुभाइ विश्वराज पौडेल र भीष्मराज पौडेलले ‘टेम्पल बेल बुटिक होटल’ सञ्चालनमा ल्याएका हुन् । नेपाली नयाँ वर्ष २०८१ को पूर्व सन्ध्याबाट होटलको सफ्ट ओपनिङ गरिएको हो ।
आन्तरिक तथा बाह्य पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको आतिथ्यता प्रदान गर्ने गरी होटल सञ्चालनमा ल्याइएको सोमबार आयोजित पत्रकार सम्मेलनमा सञ्चालक विश्वराज पौडेलले जानकारी दिए ।
चिल्ली ग्रुप अन्तर्गत सञ्चालनमा आएको होटल पोखराको लेकसाइडस्थित स्ट्रिट नं. १७ लालुपाते मार्गमा अवस्थित छ । २०२० डिसेम्बरमा सिलान्यास गरिएको होटल सन् २०२३ को अन्तिमसम्म सञ्चालनमा ल्याउने लगानीकर्ताहरुको लक्ष्य भएपनि कोभिड लगायत विविध कारणले केही समय ढिलो भएको हो ।
होटलमा ५३ वटा डिलक्स रुम र ३ वटा प्रेसिडेन्सियल स्विट रुम छन् । स्विमिङ पुल, कन्फ्रेन्स हल, फिटनेस हल लगायत पर्यटकका लागि आवश्यक सेवा होटलमा उपलब्ध रहेको सञ्चालक भीष्मराज पौडेलले आर्थिक आवाजलाई जानकारी दिए । ‘पोखरामा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न होटल निर्माण गर्न सफल भएका छौं,’ उनले भने, ‘एन्टिक लुक्स दिएर निर्माण गरिएको होटल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्नेमा हामी विश्वस्त छौं ।’
आधुनिक डिजाइनमा निर्माण भएको होटलमा अण्डर ग्राउण्डसहित प्रयाप्त पार्किङ, कार्यक्रम गर्नका लागि सेमिनार तथा मिटिङ हलको सुविधा उपलब्ध छ । साढे २ रोपनी पुर्खेउली जग्गामा निर्माण भएको छ । जग्गाको मूल्यांकनसहित होटलमा एक अर्व २५ करोड रुपैयाँ भन्दा बढी लगानी भएको सञ्चालकहरुको भनाइ छ ।
चिल्ली ग्रुप अन्तर्गत अहिले चिल्ली बार एण्ड रेष्टुरेन्ट, हिमालयन ग्लोरी इन र ३६० डिग्री स्काई लाउन्ज सञ्चालनमा छन् ।
Comments are closed.