पोखरा । पोखराको लेकसाइडस्थित टेम्पल ट्री रिसोर्ट एण्ड स्पाले स्थापनाको १३ वर्ष पुरा भई १४ वर्षमा प्रवेश गरेको छ । रिसोर्टले शुक्रबार विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ । सो अवसरमा रिसोर्टमा लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई मेडल सहित दीर्घ सेवा सम्मान प्रदान गरिएको छ । सम्मानित सुमित्रा परियार र कृष्णबहादुर थापाले १० वर्ष तथा रजनी गुरुङ, कुसल गुरुङ, अमर रावल र मुक्ति पाध्याले विगत ५ वर्षदेखि रिसोर्टमा काम गर्दै आएका छन् । कार्यक्रममा रिसोर्टमा कार्यरत कर्मचारी कलाकारहरुले मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए । उनीहरुलाई प्रमाणपत्र तथा मायाको चिनोले सम्मानित गरियो ।
रिसोर्टका प्रवन्ध निर्देशक चन्दनकृष्ण श्रेष्ठ, निर्देशक प्रेम श्रेष्ठ, रञ्जनकृष्ण श्रेष्ठ, जिन्ना जिन्टीलि लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै उनीहरुलाई सम्मान गरेका हुन् । रिसोर्टमा १ सय ३ जना कर्मचारी कार्यरत छन् ।
रिसोर्टका अध्यक्ष वसन्त गौतमले रिसोर्टले आफ्ना पाहुनाहरुलाई प्रदान गरेको सेवा स्तरीय रहेको बताए । कर्मचारीहरुको मेहनत, सञ्चालकहरुको लगाव, धैर्यता तथा रिसोर्टका आफ्नैं विशेषताका कारण पनि टेम्पल ट्री रिसोर्ट सफल भएको बताए । रिसोर्टका मानव संसाधन विभाग प्रमुख रामकृष्ण कँडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
यसैबीच, रिसोर्टले वार्षिकोत्सवकै अवसरमा पोखराको छोरेपाटनस्थित मानव सेवा आश्रममा आर्थिक तथा खाद्यान्न सहयोग गरेको थियो ।
फेवाताल नजिकैको बुटिक रिसोर्टमा डिलक्स, सुपर डिलक्स, जुनियर स्विट र एक्जुकेटिभ स्विट विशेषताका ६८ वटा कोठाहरु छन् । रिसोर्टमा स्विमिङ पुल, ज्याकोजी, जिम, फिटनेस सेण्टर लगायतका सुविधाहरु छन् । परम्परागत गाउँले शैली झल्कने रिसोर्टका प्रत्यक कोठामा छुट्टाछुट्टै बल्कोनी छन् । बजारको बीच भागमा रहेर पनि रिसोर्ट भित्रको शान्त वातावरण, सुन्दर बगैचा पाहुनाहरुको रोजाइमा पर्ने गरेको छ ।
Comments are closed.