कालीगण्डकीको बहाव यस वर्षकै उच्च विन्दुमा, विश्वकै ठूलो शालिग्राम शिला डुबानमा

पर्वत। लगातार वर्षाका कारण कालीगण्डकी नदीको बहाव यस वर्षकै उच्च विन्दुमा पुगेको छ। मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको भारी वर्षाले नदीको सतह बढेको हो। आज बिहान नदीको सतह छ मिटर ४० सेन्टिमिटर उचाइमा पुगेको गेजरिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिए। यो यस वर्षकै सबैभन्दा बढी बहाव हो।

यसअघि आज बिहान सात दशमलब ४० मिटरको बहाव मापन गरिएको थियो। वर्षा रोकिएपछि बहाव घट्ने सम्भावना छ। कालीगण्डकी नदीको बहाव बढेसँगै तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन्। पर्वतको जलजला गाउँपालिका अन्तर्गत बगरफाँट, वारीबेनी, मिलनचोक, लस्ती, खनियाँघाट, कुश्मा नगरपालिकाको मालढुङ्गा, नयाँपुल, मोदीवेणी, फलेवास नगरपालिकाको जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीवेणीबजार उच्च जोखिममा छन्।

बहावले पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ। शिला डुबानमा परेको जानकारीसँगै त्यहाँ कार्यरत पुजारी र पण्डित चिन्तित भएका छन्। शालिग्राम क्षेत्रका सत्तल लगायत संरचना डुबानमा परेका छन्। शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबियन पानीले पुरिएका छन् र दर्शनका लागि पूर्वाधार पनि क्षति पुगेको छ।

कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधले गर्दा बाढी आउँदा सेतीवेणीबजार डुबानको जोखिम बढ्ने गरेको छ। बाँधका सबै ढोका खोलिएको छ। कालीगण्डकी र सेतीखोलाको बहाव बढेसँगै सेतीवेणीबजार डुबानमा पर्ने जोखिमले पर्वत र स्याङ्जाका बजार क्षेत्रका झण्डै दुई सय व्यापारी र सर्वसाधारण प्रभावित छन्।

१६ वर्षअघि पनि कालीगण्डकी र सेतीखोला उर्लदा तीन दर्जन घरपरिवार विस्थापित भएका थिए। विसं २०६६ असोज २१ मा बजार क्षेत्र डुबानमा परेको घटनाले स्थानीयमा त्रास छाएको छ। स्थानीय व्यापारी विष्णु न्यौपानेका अनुसार विश्वकै ठूलो शालिग्राम शिला डुबेको भए पनि बजार क्षेत्रमा भने पानी पसेको छैन।

You might also like

Comments are closed.