पाँच हजार डलर पुरस्कार सहित २०२५ पब्जी मोबाईल नेपाल सिरिजको ग्राण्ड फिनाले सुरु

काठमाडौं ।  नेपालमा अत्याधिक लोकप्रिय ई–स्पोर्ट्स पब्जीको बहुप्रतिक्षित प्रतियोगिता २०२५ पब्जी मोबाईल नेपाल सिरिज को ग्राण्ड फिनाले औपचारिक रूपमा सुरु भएको छ। कुल पाँच हजार अमेरिकी डलर पुरस्कार राशीसहित भदौ १० गतेदेखि सुरु भएको यो श्रृंखलामा देशभरिबाट ११,००० भन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए, जसबाट उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष १६ टोलीले डिसेम्बरमा हुने पब्जी मोबाईल स्टार च्यालेन्जमा प्रतिस्पर्धा गर्ने अवसर पाएका छन् ।

यस वर्ष पहिलोपटक फ्रान्चाइज स्टाइलको फर्म्याट अपनाइएको प्रतियोगितामा टोलीहरूले राष्ट्रिय उपाधिका लागि मात्र नभई प्रख्यात गेमिङ क्रिएटर र कन्टेन्ट पर्सनालिटीहरूसँग सहकार्य गर्ने अवसरसमेत पाउनेछन्। विभिन्न चरणहरू हुँदै सम्पन्न भएको यो प्रतियोगितामा समावेशिताप्रति ऐतिहासिक पहल गर्दै नेपालमै पहिलोपटक १६ महिला टोलीबीच गर्ल्स ओन्ली शो–म्याच आयोजना गरिएको छ, जसका विजेताले रु. २५,००० नगद पुरस्कार प्राप्त गर्नेछन् ।

ग्राण्ड फिनालेलाई PUBG Mobile Esports South Asia को युट्युब च्यानलमार्फत प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । आयोजकका अनुसार यो सिरिज नेपाली गेमरहरूको प्रतिभा, उत्साह र विश्वस्तरीय सम्भावनाको उत्सव बनेको छ, जसले स्थानीय प्रतिभा विकास, सामुदायिक संलग्नता र ई–स्पोर्ट्सलाई समावेशी तथा एकताबद्ध बनाउने लक्ष्य बोकेको छ ।

You might also like

Comments are closed.