काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ भने समानुपातिकतर्फको मतगणना जारी रहेको छ। हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ठूलो मतान्तरसहित अग्रता कायम गरेको छ।
निर्वाचन आयोगका अनुसार हालसम्म ७७ लाख ८५ हजार ९ सय ५७ मत गणना भइसकेको छ। गणनाअनुसार रास्वपाले ३७ लाख ६५ हजार ९ सय ३७ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ।
त्यस्तै नेपाली कांग्रेस १२ लाख ६९ हजार ३ सय ३० मतसहित दोस्रो स्थानमा रहेको छ भने नेकपा एमाले १० लाख ७४ हजार ८२ मतसहित तेस्रो स्थानमा देखिएको छ।
आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ५ लाख ५२ हजार ५ सय ८ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ लाख ६३ हजार ६ सय ७३ मत प्राप्त गर्दै थ्रेसहोल्ड कटाउने दिशातर्फ अघि बढिरहेको छ।
त्यसैगरी हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले २ लाख ५६ हजार ४६ मत प्राप्त गरेको छ। मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) नेपालले १ लाख ७ हजार ८ सय ४२ मत पाएको छ भने सीके राउत नेतृत्वको जनमत पार्टीले ४९ हजार ८ सय ३१ मत प्राप्त गरेको आयोगले जनाएको छ।
समानुपातिकतर्फको मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन आयोगले जनाएको छ।






Comments are closed.