यमरी र नेवारी परिकारमा विशेष पहिचान बनाएको ‘द भिलेज क्याफे’

ललितपुर । नेवारी परिकार र यमरीका लागि विशेष पहिचान बनाउन सफल ‘द भिलेज क्याफे’ पुनः सञ्चालनमा आएको छ । लकडाउन र निशेधाज्ञाका कारण केही समय बन्द रहेको क्याफे नयाँ व्यवस्थापनसहित पुनः सञ्चालनमा आएको हो । झम्सीखेलको एलाकोट भवनमा रहेको द भिलेज क्याफेलाई गैर नाफामूलक संस्था सवा नेपालले सञ्चालन गरिरहेको छ । पुल्चोकमा स्थापना भएको द भिलेज क्याफे २ वर्ष अगाडिबाट झम्सीखेल सरेको हो ।

यमरी, नेवारी खाना तथा खाजाका परिकार, मौलिक खानाका परिकारसहित ग्राहकको अर्डर अनुसार खाना तथा खाजा क्याफेमा तयार हुने महाप्रवन्धक गजेन्द्र मल्लले बताए । सेलरोटी, चटामरी, बारा, हाकुछोइला पनि क्याफेमा उपलब्ध छ । ‘पूर्ण पारिवारिक वातावरणमा हामीले अतिथिलाई स्वागत गर्दै आइरहेका छौं,’ मल्लले भने, ‘यहाँको स्वाद धेरैले मन पराउनु भएको छ । आगामी दिनमा यसको लोकप्रियता अझै बढ्नेमा हामी विश्वस्त छौं ।’ पार्टी तथा भोजका लागि परिकार अर्डरसमेत गर्न सकिने उनले जानकारी दिए ।

रेष्टुरेन्ट सञ्चालन गरिरहेको सवा नेपाल सामाजिक संस्था हो । सवा नेपालले देशभर ४ हजार भन्दा बढीलाई सिपमुलक तथा उत्पादनमुलक तालिम दिएर सक्षम तथा आत्मनिर्भर बनाएको छ । तालिम प्राप्त सबै महिलाहरु सवा नेपालको मेम्बर छन् । सवा नेपालबाट तालिम प्राप्त महिलाहरुले उत्पादन गरेका कृषि सामग्रीको क्याफेमा प्रयोग हुने गरेको मल्लले जानकारी दिए । ‘रेष्टुरेन्टमा प्रयोग हुने सामान सवा नेपालका मेम्बरमार्फत ल्याउने गरेका छौं,’ मल्लले भने, ‘जसले गर्दा महिला उद्यमी तथा गृहणीहरुले उत्पादन गरेका सामानहरुको बजारीकरण तथा प्रवद्र्धनमा पनि सहयोग मिलेको छ ।’

पाहुनाको माग अनुसार क्याफेले खाना तथा खाजाको परिकार पस्किन सफल रहेको बताउँछिन् क्याफेका किचेन हेड हरिदेवी श्रेष्ठ । क्याफेमा अहिले ३५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । यो संख्या आगामी दिनमा अझै बढ्ने मल्ल बताउँछन् । क्याफेको नाफा सामाजिक काममा नै खर्च हुन्छ ।

भिडियो : यमरी र नेवारी खाजाका लागी प्रसिद्ध ‘द भिलेज क्याफे’

You might also like

Comments are closed.