काठमाडौं । नेपालको प्रतिष्ठित राष्ट्रिय भलिबल प्रतियोगिता “द टाइगर कप” को छैठौँ संस्करणमा डिजिटल भुक्तानी प्लेटफर्म ‘खल्ती’ टिकटिङ पार्ट्नरको रूपमा आबद्ध भएको छ ।
यस वर्षको टाइगर कप २०८२ माघ ९ गतेदेखि माघ १७ गतेसम्म पोखरा रङशालामा आयोजना हुँदैछ । प्रतियोगिताको आयोजना टाइगर ग्रुप अफ पोखराले गर्दै आएको छ । यस संस्करणमा ७ पुरुष र ७ महिला गरी कुल १४ टोली सहभागी हुनेछन्, जसमा ४ अन्तर्राष्ट्रिय टोली समेत रहेका छन् ।
प्रतियोगिताका लागि टिकट दर रु३०० देखि रु ५०० सम्म तोकिएको छ । दर्शकहरूले प्रत्येक खेलको टिकट खल्ती एपमार्फत सजिलै अनलाइन खरिद गर्न सक्नेछन् । डिजिटल टिकटिङ सेवामार्फत दर्शकहरूले लाइन बस्नुपर्ने झन्झट बिना प्रत्यक्ष खेलको रोमाञ्चक अनुभव लिन सक्ने आयोजकले जनाएको छ ।
राष्ट्रिय स्तरमै सबैभन्दा ठूलो भलिबल प्रतियोगिताका रूपमा परिचित टाइगर कपले अघिल्ला संस्करणहरूदेखि नै देशभरिका दर्शक तथा खेलप्रेमीहरूको व्यापक ध्यान आकर्षित गर्दै आएको छ ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले “खल्ती र टाइगर कपबीचको यो नयाँ साझेदारी भलिबल तथा समग्र खेलकुद प्रेमीहरूका लागि उत्साहजनक विषय हो । डिजिटल टिकटिङको क्षेत्रमा अग्रणी प्लेटफर्म खल्ती र टाइगर कपको सहकार्यले दर्शकहरूको अनुभव अझ सहज र उत्कृष्ट बनाउनेमा हामी विश्वस्त छौँ । सबै खेलप्रेमीहरूलाई सहज रूपमा अनलाइन टिकट लिई खेलको भरपुर आनन्द लिन आग्रह गर्दछौँ”, भने ।




Comments are closed.