काठमाडौं । एआई टेलिफोनी सेवा प्रदायकका रूपमा परिचित टिङटिङ चारवटा नयाँ प्रडक्ट सार्वजनिक गरेको छ । कम्पनीले भर्चुअल कार्यक्रममार्फत टिङटिङ भ्वाइस, टिङटिङ टेक्स्ट, टिङटिङ फर्म्स र टिङटिङ एजेन्ट सार्वजनिक गरेको हो ।
‘टिङटिङ नेक्स्ट’ नाम दिइएको उक्त इभेन्टबाट नेपालमै पहिलो पटक प्रडक्ट लञ्च गरेको कम्पनीको दावी छ । यसलाई टिङटिङले नेपाली प्रविधि उद्योगका लागि नयाँ युगको सुरूवात भएको संज्ञा दिएको छ । टिङटिङले केवल नयाँ सञ्चार उपकरणहरू सार्वजनिक गरेको मात्र नगरेर समग्र नेपाली प्रविधि इकोसिस्टमका लागि नयाँ मानक समेत स्थापित गरेको कम्पनीको भनाइ छ ।
व्यवसाय विस्तार हुँदै जाँदा ग्राहक र कम्पनीबीचको आत्मीय सम्बन्ध कमजोर हुँदै जाने र संवाद केवल डाटामा सीमित हुने समस्यालाई सम्बोधन गर्न टिङ टिङको अवधारणा आएको हो ।
‘आधुनिक व्यवसायको सबैभन्दा ठूलो चुनौती सञ्चार होइन, ग्राहकको कुरा बुझ्नु हो,’ कम्पनीले भनेको छ । अधिकांश प्रविधिहरूले कम्पनीले कसरी बोल्छ भन्नेमा ध्यान केन्द्रित गर्दा टिङ टङले भने कम्पनीले ग्राहकलाई कसरी बुझ्छ भन्ने कुरालाई केन्द्रमा राखेर आफ्ना प्रणालीहरू विकास गरेको जनाएको छ ।
यो लन्चले साधारण स्वचालित प्रणालीबाट ‘ह्युमन–एआई एम्प्लिफिकेशन’ तर्फको यात्रालाई संकेत गर्छ, जहाँ कुनै पनि ग्राहकको आवाज डाटाको भीडमा हराउने छैन । टिङटिङले एआई प्रविधिको प्रयोग गरेर नेपालमै विश्स्तरीय प्रडक्ट बनाउनु प्रविधि क्षेत्रमा एउटा ठूलो फड्को मानिएको छ ।
अर्बौँको स्केलमा चल्न सक्ने डिस्ट्रिब्युटेड आर्किटेक्चर, उच्च सुरक्षा मापदण्ड र सेल्फ–हिलिङ क्षमतासहितको प्लेटफर्ममार्फत टिङटिङले नेपालमै विश्वस्तरीय र भरपर्दो एआई प्रविधि निर्माण सम्भव छ भन्ने प्रमाणित गरेको कम्पनीको बुझाइ छ । यसले स्थानीय एआई फस्टाउनका लागि बलियो आधार तयार गरेको कम्पनीको भनाइ छ ।
यस ऐतिहासिक लन्चसँगै कम्पनीले नेपालका व्यवसायहरूलाई साधारण लेनदेनभन्दा माथि उठेर दक्षता र समानुभूतिसँगै अघि बढ्ने भविष्य अँगाल्न आह्वान गरेको समेत छ। नेपाली बजारका विशिष्ट आवश्यकता र चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यसहित टिङ टिङले चारवटा मुख्य प्रडक्ट लाइन सार्वजनिक गरेको छ ।
यस इकोसिस्टमको केन्द्रमा रहेको ‘रिरी’ नेपालमै शून्यबाट निर्माण गरिएको टेक्स्ट(टु(स्पीच इन्जिन हो । टिङटिङको आफ्नै डाटा फाउन्ड्री प्रयोग गरेर स्थानीय लवज, भाव र भाषिक विशेषतालाई ध्यानमा राखी तयार गरिएको ‘रिरी’ले रोबोटिक वा विदेशी उच्चारण होइन, मौलिक नेपाली आवाजमा संवाद गर्छ ।
नेपालको सबैभन्दा ठूलो एसएमएस पूर्वाधारसँग एकीकृत यो प्रणालीले सार्वजनिक सूचना, सेवा अपडेट तथा सूचनाहरू छिटो र भरपर्दो रूपमा लाखौँ प्रयोगकर्तासम्म पुर्याउने सुनिश्चित गर्छ ।
ग्राहक प्रतिक्रिया संकलन गर्ने परम्परागत तरिकालाई परिवर्तन गर्दै यसले प्रयोगकर्तालाई आवाजमार्फत आफ्ना विचार व्यक्त गर्ने सुविधा दिन्छ । एआईले बोलेको नेपाली भाषालाई तुरुन्तै व्यवस्थित र कार्ययोग्य डाटामा रूपान्तरण गर्ने भएकाले झन्झटिला डिजिटल फर्महरूको आवश्यकता पर्दैन ।
लन्चको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको यो प्रणालीले पुरानो शैलीको ‘सपोर्टका लागि १ थिच्नुहोस्’ जस्ता मेनुहरूलाई विस्थापित गर्दै प्राकृतिक दुईतर्फी संवाद सम्भव बनाउँछ । २०० मिलिसेकेन्डभन्दा कम समयमा नेपाली लवज, आशय र भावना बुझेर प्रतिक्रिया दिन सक्ने क्षमताले ग्राहक अनुभवलाई नयाँ स्तरमा पुर्याउने कम्पनीको दाबी छ ।
टिङटिङ नेपालको अग्रणी एआई सञ्चार प्लेटफर्म हो । नेपालमै जन्मिएको र विश्वका लागि निर्माण गरिएको यस प्लेटफर्मले आफ्नै एआई भ्वाइस इन्जिन र अत्याधुनिक प्रविधि संरचनामार्फत व्यवसायहरूलाई आफ्ना ग्राहकलाई अझ गहिरो रूपमा बुझ्न सशक्त बनाउँछ ।




Comments are closed.