पर्यटकीय नगरी पोखरा लगायत देशका विभिन्न स्थानमा पछिल्लो समय मेला महोत्सवहरु आयोजना भइरहेका छन् । मेला महोत्सव आयोजना हुँदाका फाइदा लगायत विविध विषयमा केन्द्रित रहेर संस्कृतिकर्मी एवं कवि तीर्थ श्रेष्ठसँग गरिएको कुराकानी :
यो समयमा अली बढी मेला महोत्सव किन गरिन्छ होला ?
विशेष गरी असोज देखि यता नेपालीले महत्व दिने ठूला पर्व दशैं तथा तिहार मनाउने गरिन्छ । जुन आफैमा रमाइलो समय हो, यसको सन्दर्भ पारेर धेरै तिर रमाइलो गर्ने र घुमफिर तथा रमाइलोको लागि समय निकाल्ने प्रचलन नै छ । त्यसयता खेतीपातीबाट फुर्सदिला बनेर किसानले समेत यस्ता मेला महोत्सवमा समय दिन सक्छन् । अर्कोतिर पुस–माघ तिरको समय चिसोको समय पनि हो । चिसो समयमा घाम ताप्दै रमाउने र यो समयमा विवाह लगायतका शुभकर्म कम हुने हुँदा पनि यस्ता मेला महोत्सको रमाइलोमा समय दिन सक्छन् ।
साहित्य, कला, संस्कृतिको संरक्षणमा यस्ता मेला महोत्सवले कति महत्व राख्छन् ?
यस्ता मेला महोत्सवले साहित्य, कला, संस्कृतिको संरक्षणमा महत्व राख्दैनन् भन्न मिल्दैन र महत्व धेरै राख्छ भन्दा अतिसयोक्ति हुन्छ । यस्ता मेला महोत्सवको पहिलो आर्कषणको रुपमा संगीत रहेको हुन्छ । मेला महोत्सवमा व्यवसाय बढाउनको लागि पनि कला, संस्कृतिलाई माध्यम बनाएका हुन्छन् । अझ हाम्रा मेला महोत्सवमा धेरै आर्कषणको रुपमा लोक दोहोरी गीतलाई पनि लिएको देखिन्छ । यो अवसरमा नाम चलेका गायक गायिका स्टेजमा जाने प्रस्तुति दिने र आफ्नो रोजीरोटीको जोहो गर्ने काम भएको छ तर उनीहरुको उद्धेश्य नेपाली गीत, संगीतको प्रवद्र्धन भन्दा पनि मेला आयोजकको व्यापारिक उद्देश्य पुरा गर्ने मात्र भएको छ, गीत, संगीत सहयोगी मात्र बनेका छन् । यस हिसाबले हेर्दा मेला महोत्सवमा दर्शक जुटाउन सांस्कृतिक कृयाकलापले योगदान पुराउने र यसमा आश्रितले लाभ लिएका छन् तर नेपाली कला, संस्कृतिको निर्माणमा खासै योगदान दिएको देखिँदैन ।
अहिले मेला महोत्सवमा देखाइने कला संस्कृति कति नेपाली कला संस्कृतिको मर्म अनुरुप छन् ?
नेपाली कला, संस्कृतिको संरक्षणको चासो र चिन्ता हुन्थ्यो भने राम्रा गीतकार, संगीतकारको खोजी गर्ने र यसका विषयमा बहस चलाउने भन्दा पनि दर्शक रमाउनको लागि कस्ता कुराको माग बढी हुन्छ, त्यसकै व्यापार गर्ने काम बढी हुन्छ ।
यस्ता मेला महोत्सवका कला, संस्कृतिको नाममा पस्किने गीत र नृत्यले के सन्देश दिन्छन् ? त्यसले कला, संस्कृतिको संरक्षणमा के योगदान दिन सक्छन् ? आयातित गीत, संगीतको प्रभाव कस्तो छ ?
संस्कृति यस्तो चिज हो जसले बिस्तारै आफूले आफैलाई परिमार्जित गर्दै लैजान्छ । हामीले मौलिक संस्कृतिको नाममा कुनै पनि खालको परिवर्तन चाहेनौं भने समय काल परिस्थितिमा त्यो लोप पनि हुन्छ । त्यस्तै नचाहिँदो परिवर्तनको उचाई लिन खोज्दा पनि कला, संस्कृति लोप हुन्छ । जस्तै पपलाई आयातित मान्ने हो भने पपलाई लोकगीतमा आधारित बनाएर पनि गाइएका छन् । त्यसमा नेपाली आफ्नोपन भेटेर रमाएका छन् तर हाम्रो मौलिकता मास्ने खालका सांस्कृतिक व्यवहारबाट भने टाढा रहनुपर्छ ।
मेला महोत्सवमा कला संस्कृतिको प्रर्दशन गर्दा गरिने तयारी अभ्यासलाई कसरी हेर्नुभएको छ ?
यसमा आयोजकको भन्दा पनि कार्यक्रममा सहभागी हुने कलाकारको भूमिकाका कुरा हो । कति कलाकारले आफ्नो प्रस्तुतिमा धेरै तयारी गरेको पनि पाइन्छ । तर आयोजकले पनि कस्ता कलाकारलाई बोलाउने, कस्ता प्रस्तुतिहरु दिने भन्ने कुराको योजना आयोजकले बनाउनुपर्छ । मेला महोत्सवमा पनि चलेका र राम्रा गीत,संगीत पनि गाउन सकिन्छ । प्रस्तुतिकरणमा अलि ओज दिन सकिन्छ । मानसिकतामा परिवर्तन ल्याएर सस्ता र भद्धा कुरा भन्दा पनि राम्रा कुरा ल्याउनुपर्यो ।
विभिन्न संस्था तथा निजी क्षेत्रको अलि बढी चासो हुन्छ, राज्यको दृष्टि कति परेको छ ?
राज्य संचालन प्रकृयामा राजनीतिक दलको सहभागिता रहन्छ । राजनीतिक दलका घोषणा पत्र हेर्दा साहित्य, कला, संस्कृतिको संरक्षणमा केन्द्रित रहेको पाइदैन । राजनीतिक दलका कार्यक्रममा मान्छे जुटाउनको लागि कला, संस्कृतिको प्रयोग हुन्छ तर जितेर गइसकेपछि त्यही कला, संस्कृतिमा चासो पुराएको देखिन्न । त्यति मात्र होइन कला, संस्कृति झल्किने कुरा सार्वजनिक ठाउँमा पनि प्राथमिकता दिनुपर्ने देखिन्छ । हामीले हेर्यौं भने पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमान सञ्चालनमा आउँदै छ, त्यो विमानस्थलमा कतै पनि नेपालीपन झल्किन्न, त्यहाँ नेपाली झ्याल मात्र राखेको भए पनि नेपालीपन झल्किने देखि रोजगारीको अवसर मिल्थ्यो । अर्को तिर नेपाली कलाको सम्मान पनि हुन्थ्यो । यस्तो कुराहरुका राज्यले नीतिगत रुपमा निर्णय गरेर कला, संस्कृतिसँगै मौलिकताको संरक्षण गर्नु आवश्यक छ ।
Comments are closed.