काठमाडौंं । सिद्धार्थ बैंक लिमिटेडले जारी गरेको ऋणपत्रमा आवेदन दिने आज (असार ३२ गते) अन्तिम दिन रहेको छ। बैंकले असार २९ गतेदेखि ‘एसबिएल डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको थियो।
बैंकले १० वर्ष अवधिको यो ऋणपत्र वार्षिक ७.२५ प्रतिशत ब्याजदरमा निष्काशन गरेको हो। ऋणपत्रको अंकित मूल्य प्रतिकित्ता १,००० रुपैयाँ रहेको छ। कुल २५ लाख कित्ता (२ अर्ब ५० करोड रुपैयाँ बराबर) ऋणपत्रमध्ये १५ लाख कित्ता (६० प्रतिशत) व्यक्तिगत तवरबाट र बाँकी १० लाख कित्ता (४० प्रतिशत) सर्वसाधारणलाई बिक्री गरिनेछ। सर्वसाधारणलाई छुट्याइएको हिस्सा मध्ये ५ प्रतिशत अर्थात् ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
ऋणपत्रमा लगानी गर्न चाहनेले न्यूनतम २५ कित्ता खरिद गर्नुपर्ने र अधिकतम कुनै सीमा नराखिएको बैंकले जनाएको छ।
यस ऋणपत्रको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरु वा ‘मेरो शेयर’ सफ्टवेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्लस (ICRANP IR BBB+) प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षा रहेको संकेत गर्दछ।
ब्याज रकम हरेक आर्थिक वर्षको पहिलो अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ। बैंकले लगानीकर्तालाई आजभित्र आवेदन दिन आग्रह गरेको छ।
Comments are closed.