काठमाडौं । ग्लोकल प्रा.लि.ले ‘गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५’ का लागि शीर्ष ६ फाइनलिस्टहरूको नाम सार्वजनिक गरेको छ । ११औं संस्करणसम्म आइपुग्दा प्रतियोगितामा देशभरबाट ७८४ किशोरकिशोरीहरूले आवेदन दिएका थिए, जसले शिक्षा, स्वास्थ्य, नवप्रवर्तन, उद्यमशीलता, प्रविधि, वातावरण, सामाजिक क्रियाशीलता, एआई अनुसन्धानसहित विभिन्न क्षेत्रमा समाजमा सकारात्मक योगदान पु¥याइरहेका छन् ।
समीक्षापछि निर्णायक मण्डलले कृष्ण यादव (धनुषा–सामग्री निर्माता), मानुषी न्यौपाने (स्याङ्जा–यौन तथा प्रजनन स्वास्थ्य अधिकार अधिवक्ता), निश्चल ढुंगाना (कपिलवस्तु–जलवायु न्याय अधिवक्ता), अक्सफोर्ड आचार्य (जुम्ला–नीति अधिवक्ता), रेणुका सिंह (सर्लाही–कृषि उद्यमी) र सफल पौडेल (रुपन्देही–एआई विकासकर्ता) लाई फाइनल राउन्डका लागि छनोट गरेको हो ।
छनोट प्रक्रियामा कोका-कोला नेपालकी कन्ट्री डाइरेक्टर चन्द्रिका कालिया, डब्लुडब्लुएफ नेपालका कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुङ, गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छा, भोइथ अध्यक्ष सुरज वैद्य, र युरोपियन युनियनका चार्ज डी’अफेयर्स थोमस मिलर निर्णायकका रूपमा संलग्न थिए। उनीहरूले आवेदन, उपलब्धि, निरन्तरता र समाजमा पारेको प्रभावका आधारमा उत्कृष्ट ६ जनालाई सर्टलिस्ट गरेका हुन् ।
फाइनलिस्टहरूले आगामी दिनमा सेल्फ-कम्पिटेन्सी वर्कसपमा भाग लिनेछन् र विभिन्न कर्पोरेट कम्पनी, दूतावास तथा उद्योग प्रशिक्षकहरूसँग अन्तरक्रिया गर्ने अवसर पाउनेछन् । निर्णायक मण्डलले सेप्टेम्बर १ मा अन्तर्वार्ता लिनेछ भने एसएमएस मतदान अगस्ट २१ देखि ३१ सम्म खुला रहनेछ ।
मनपर्ने फाइनलिस्टलाई समर्थन गर्न एसएमएसमार्फत मतदान गर्न सकिनेछ। उदाहरणका लागि, कृष्ण यादवलाई भोट गर्न “GTH2025 KY” लेखी ३५००१ मा पठाउन सकिनेछ। अन्य फाइनलिस्टहरूका लागि पनि यस्तै कोड प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
ग्लोकल टिन हिरो नेपाल २०२५ को ग्रान्ड फिनाले सेप्टेम्बर १ मा ललितपुरको द प्लाजामा आयोजना हुनेछ । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, शिक्षाविद्, उद्यमी, युवा नेता, कूटनीतिज्ञ तथा सेलिब्रेटीहरूको उपस्थिति रहनेछ ।
यस संस्करणलाई सफल बनाउन युरोपियन युनियन, भारतको दूतावास, प्लान इन्टरनेसनल, नेपाल पर्यटन बोर्ड, होन्डा, कोका-कोला, पञ्चकन्या ग्रुप, टोयोटा, केएफसी, ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल एसबीआई बैंकलगायतका संस्था साझेदार बनेका छन् ।
Comments are closed.