पोखरा पर्यटनको राजधानी

सुरेन्द्र पौडेल

बिगत लामो समयदेखि पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नुपर्छ भन्ने बहसहरु हुँदै आएको थियो । जनप्रतिनिधिहरुले पनि पोखराको सन्दर्भमा पर्यटनलाई नै मुख्य एजेन्डा बनाउँदै राजधानी घोषणा गर्ने प्रतिबद्धतासमेत जनाउँदै आएका थिए । पर्यटन व्यवसायी तथा निजी क्षेत्रबाट पनि यसका लागि निरन्तर दबाबसमेत दिने काम भइरहेको थियो । अन्तत अब पर्यटनको राजधानी घोषणाको अभियान सफल भएको छ । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटनको राजधानी शहर भनेर निर्णय नै गरिसकेको छ । त्यसको औपचारिक घोषणा २०८० चैत ४ गते आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा हुँदैछ ।

लामो बहस, छलफल र तयारी पछि पोखरालाई पर्यटनको राजधानी घोषणाले सार्थक रुप पाएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य बताउँछन् । ‘म निर्वाचित भएर आइसकेपछि पोखरालाई पर्यटनको राजधानी बनाउन आवश्यक पहलकदमी लिने र यही कार्यकालमा पुरा गर्ने निर्णय पनि ग¥यौं । त्यही निर्णयलाई कार्यान्वयन गर्ने सन्दर्भमा हामी राजधानी घोषणालाई औपचारिक रुप दिन सफल भएका छौं,’ उनले भने । पोखरालाई मुख्य पर्यटकीय गन्तव्य बनाउन ब्राण्डिङ आवश्यक रहेको र ब्राण्डिङका लागि नै पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न लागिएको आचार्यले बताए ।

‘पोखरा साच्चै नै नेचर, कल्चर र एडभेन्चरको शहर हो । प्राकृतिक हिसाबले मनोरम छ । सांस्कृतिक हिसाबले पनि वैभवपूर्ण छ,’ मेयर आचार्य भन्छन्, ‘पोखरा संसारको अलौकिक ठाउँ हो । यति राम्रो र सुन्दर ठाउँ पोखरा हो र सम्पदाहरु पनि प्रशस्त छन्, प्राकृतिक गन्तव्यहरु पनि प्रशस्त छन् । हामीले नयाँ सम्भावनाहरु पनि बढाउन सकिन्छ । अब ब्रान्डिङ गर्दै पर्यटन प्रवर्द्धन अभियान चलाउने हो ।’ राजधानी घोषणापछि रणनीतिक योजनाका साथ पूर्वाधार विकासका क्षेत्रमा पनि काम हुने आचार्यको भनाइ छ ।

अन्तर्राष्ट्रिय जगतमा पोखराको प्रचारप्रसार बढाउन र पर्यटकलाई नेपाल तथा पोखरा भित्र्याउन राजधानी घोषणाले योगदान पु¥याउने गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे बताउँछन् । ‘पर्यटकीय राजधानी तथा अन्य विभिन्न नामबाट शहरहरुको ब्राण्डिङ गर्ने चलन संसारका विभिन्न देशहरुमा छ । हामीले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुको मुख्य उद्देश्य पनि ब्राण्डिङ नै हो,’ मुख्यमन्त्री पाण्डेले भने, ‘अब पोखरालाई संसारले नेपालको पर्यटकीय राजधानी शहर भनेर चिन्नेछ ।’ पोखरालाई राजधानी घोषणा गर्ने कार्यक्रमलाई प्रदेशमा क्याबिनेटबाटै निर्णय गराइएको उनले जानकारी दिए । ‘केन्द्र सरकारले पनि यो अभियानमा साथ दिएको छ र अपनत्व पनि लिएको छ,’ उनले भने ।

पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि प्रयाप्त आधारहरु तय भएको पनि पाण्डेले बताए । ‘पूर्वाधारहरु छन् । अब राजधानी घोषणा पछि आवश्यक थप पूर्वाधारहरुको विकास क्रमशः हुँदै जान्छ । स्थानीय तह, प्रदेश र केन्द्र सरकारले क्रमशः ती पूर्वाधारहरुको व्यवस्था गर्छ,’ उनले भने । पर्यटनको राजधानीको ब्राण्डसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न सक्दा पर्यटकको आकर्षण बढ्ने उनले बताए । ‘विशेष गरी हामीले विदेशी पर्यटकलाई जति सक्दो धेरै पोखरा ल्याउन सक्नुपर्छ । पोखरा महानगरपालिकासहित सरकारले पनि सोही अनुसारको योजना बनाउनुपर्छ,’ उनले भने, ‘पर्यटन क्षेत्र चलायमान हुँदा सबै आर्थिक गतिविधि बढ्छ र यसको लाभ पोखरा, प्रदेश र समग्र देशले लिन सक्छ ।’

घोषणा अगाडि समिति बनाएर अध्ययन

पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि अध्ययन गर्न तथा सुझाव दिन समिति गठन भएको थियो । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा गठित ११ सदस्यीय उक्त समितिले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सकिने आधारहरु तय गरेको छ । समितिले राजधानी घोषणा पश्चात गर्नुपर्ने कामहरुलाई रणनीतिक सुझाव पनि प्रतिवेदनमा दिएको छ । ‘पर्यटन क्षेत्रका विज्ञ र सरोकारवालाहरुको सुझाव प्रतिवेदनमा समेटेका छौं,«’ उपाध्यक्ष देवकोटाले भने । समितिले सर्ट टर्म, मिड टर्म र लङ टर्मको रणनीति तय गरेको छ । सोही अनुसार अब पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र संघ सरकारले नीति तथा कार्यक्रम ल्याउन जरुरी रहेको उनले बताए ।

उत्साही छ निजी क्षेत्र

पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नका लागि पर्यटन व्यवसायी तथा निजी क्षेत्रले माग गर्दै आइरहेको थियो । यो कार्यक्रमलाई सफल बनाउन निजी क्षेत्रको साथ र दबाबले पनि काम गरेको मान्न सकिन्छ । पर्यटन व्यवसायीले लामो समयदेखि राखेको माग अहिले आएर पुरा भएको बताउँछन् पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ । ‘पोखरालाई पर्यटनको राजधानी शहर बनाउने हाम्रो चाहना पुरा भएको छ । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नका लागि पहल कदमी लिने प्रदेश सरकार र पोखरा महानगरपालिकाप्रति हामी आभारी छौं,’ उनले भने ।

पर्यटन व्यवसायीसहित निजी क्षेत्र यो अभियानबाट उत्साही बनेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए । ‘पोखरा सहासिक पर्यटन तथा पदयात्राका लागि उत्कृष्ट गन्तव्य हो,’ उनले भने, ‘पदयात्रा पर्यटनमा जोड दिनसक्दा पर्यटन विकासमा छिटो फड्को मार्न सकिन्छ ।’

यस्तो छ कार्यक्रम

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आथित्यतामा फेवातालको किनार बाराहीघाटमा चैत ४ गते आाइतबार पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने औपचारिक समारोह हुँदैछ । औपचारिक समारोह अगाडि बिहान १० बजे बसुन्धारा पार्कदेखि विभिन्न झाँकी सहितका ¥याली निस्कने शनिबार आयोजित पत्रकार सम्मेलनमा पोखराका मेयर धनराज आचार्यले जानकारी दिए ।

सम्मान कार्यक्रम

प्राकृत पोखराका लेखक वरिष्ठ साहित्यकार, भाषाविद् प्रा.डा मुकुन्द शरण उपाध्यायलाई सम्मान गर्ने कार्यक्रम छ । भूगोलविद् स्व. डा.हर्क गुरुङ र सुप्रसिद्ध गायक, सङ्गीतकार तथा साहित्यकार स्व.प्रेम प्रकाश मल्ललाई मरणोपरान्त सम्मान गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा कलाकारहरुको प्रस्तुति पनि रहनेछ ।

lcci
You might also like

Comments are closed.