कोरोना प्रभावित पर्यटनलाई गति दिन सरकार-निजी क्षेत्र साझेदारी

गण्डकी । कोरोना प्रभावित पर्यटनलाई गति दिनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक भएकामा जोड दिइएको छ । बुधबारदेखि सुरु पोखरा–सिमराबीच सिधा हवाई उडानसँगै नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजनमा वीरगञ्जमा बिहीबार आयोजित छलफल एवं अन्तक्र्रियामा थलिएको पर्यटनलाई बचाउनु पहिलो आवश्यकता भएको जनाउँदै वक्ताहरूले यसका लागि सरकार र निजी क्षेत्रबीच साझेदारी आवश्यक भएको बताए ।

पर्यटन क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी भएको र कोरोनाको त्राससँगै सो लगानी जोखिममा परेको उल्लेख गर्दै कार्यक्रमका सहभागीले पर्यटनलाई कसरी जोगाउने भन्ने चिन्ता व्यक्त गरेका छन् । धेरैजसो व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइसकेको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्दै तत्काल सीमानाका खुलाउनुपर्नेमा वक्ताहरूको जोड छ ।

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्यमन्त्री मणिभद्र शर्मा कँडेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटनमैत्री कानुन निर्माण एवं सहजीकरण गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे । गण्डकी प्रदेश र प्रदेश नं २ बीच युगौँदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै उनले पोखरा–सिमरा सिधा उडानले दुई प्रदेशबीचको सम्बन्धलाई अझै नजिक तुल्याएको बताए ।

jutta mela

पर्यटकका लागि सामाजिक सुरक्षाका साथै भौतिक पूर्वाधार राज्यको दायित्व भएको जनाउँदै मन्त्री कँडेलले त्यसका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताए । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताले पर्यटकीय नगरी र आर्थिक नगरीबीचको सिधा हवाई सम्पर्कले पर्यटकीय एवं आर्थिक गतिविधि बढेर जाने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं २ का अध्यक्ष गणेशप्रसाद लाठले पर्यटकलाई स्वदेशी एवं विदेशी भनेर विभेद गर्न नहुने उल्लेख गर्दै पोखरासँगको पर्यटकीय साझेदारीमा आफूहरू तयार रहेकामा जोड दिउ । विवाहलगायतका समारोह गर्ने गरी पूर्वाधार विकास गर्न सकेमा पनि पर्यटनमा टेवा पुग्ने उनले बताए ।

नाट्टा सेन्टरका अध्यक्ष अच्युत गुरागाईँले पोखरा–सिमरा सिधा उडानले गण्डकी प्रदेश र प्रदेश नं २ को पर्यटकीय साझेदारीमा महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गरे । कोरोनाका कारण प्रभावित पर्यटनलाई बचाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सरकारले नियम बनाउने तर कार्यान्वयनमा नल्याउनेजस्ता समस्या रहेकामा जोड दिए। उनले पर्यटनका लागि कर्मचारीलाई बिदा दिने विषयको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए । पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य आवश्यक भएको उनको भनाइ छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले पर्यटनका लागि कनेक्टिभिटी अपरिहार्य हुने बताउँदै प्रदेश–प्रदेशबीचको सिधा हवाई सम्पर्कलाई विस्तार गर्नुपर्ने बताए । प्रदेश नं २ का साथै भारतीय पर्यटकलाई पोखरा भित्र्याउन सिधा हवाई सम्पर्क महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै उनले दुवै प्रदेशबीचको पर्यटकीय साझेदारी आवश्यक भएको उल्लेख गरे ।

नाट्टा प्रदेश नं २ का अध्यक्ष मोहन शर्माले पोखरा–सिमरा सिधा उडानका लागि नाट्टाले लामो समयदेखि पहल गरेको र यो सम्भव भएको बताउँदै आगामी दिनमा दुवै प्रदेशबीचको पर्यटकीय सम्बन्ध र सहकार्य बढेर जाने बताए ।

बुद्ध एयरका सञ्चालक परासरजङ्ग पाण्डेले पोखरा–सिमरा उडानले दुई प्रदेशलाई जोड्ने काम गरेको जनाउँदै यस उडानलाई व्यवस्थित गर्दै लगिने बताए । नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष एवं आन्तरिक पर्यटन पुनःउत्थान कार्यक्रमका संयोजक हरिराम अधिकारीले थलिएको पर्यटनलाई बचाइराख्न सरकार र निजी क्षेत्रबीच साझेदारीको विकल्प नभएको उल्लेख गर्दै सरकारले राहत एवं पुनःउत्थानका कार्यक्रमलाई नीतिगतरूपमा मात्र नभई तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए ।

कोरोनाले थलिएको पर्यटनलाई बचाउनु अहिलेको आवश्यकता भएको पश्चिमाञ्चल होटल संघका द्वितीय उपाध्यक्ष दीपक श्रेष्ठले बताए । ‘सरकार र निजी क्षेत्रबीच साझेदारी गर्दै थलिएको पर्यटनलाई बचाउनु अपरिहार्य छ,’ मम्स गार्डेन रिसोर्टका सञ्चालकसमेत रहेका श्रेष्ठले भने, ‘सरकारले पर्यटन लक्षित प्याकेजका कार्यक्रम घोषणा मात्र गरेर हुँदैन त्यसलाई तत्काल कार्यान्वयनमा ल्याउनु जरुरी छ ।’

नाट्टा गण्डकी प्रदेशका महसचिव कमला गिरीका अनुसार पर्यटन, उद्योग तथा वाणिज्यमन्त्री कँडेलसहितको पोखरेली टोलीले आज सरोकारवालाबीच थप अन्तक्र्रिया एवं औद्योगिक क्षेत्रको भ्रमण गरी पोखरा फर्कने कार्यक्रम छ ।

You might also like

Comments are closed.