गण्डकी । कोरोना कहरसँगै भएको बन्दाबन्दीका साथै पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कन नसकेका अवस्थामा पदयात्रामा प्रयोग गरिने सामग्री बिक्री वितरण गर्दै आएका व्यवसायीलाई ती सामग्री कसरी जोगाउने चिन्ता देखिएको छ ।
कोरोना कहरका कारण पदयात्रा क्षेत्र ठप्प हुँदा पदयात्रामा प्रयोग हुने सामग्री गोदाममा नै थन्क्याएर राख्नुपर्ने बाध्यात्मक अवस्थाले हुनसक्ने टुटफुटका साथै विभिन्न प्रकोप आदिबाट जोगाउने विषय यतिखेर चिन्ताको विषय बनेको छ । पोखरा हुँदै आसपासका मर्दी हिमाल, अन्नपूर्ण आधार शिविर, घोरेपानी जस्ता पदमार्गमा बर्सेनि ठूलो सङ्ख्यामा स्वदेशी एवं विदेशी पर्यटक जाने भएकोले ती पर्यटकलाई लक्षित गरी पोखरामा झण्डै १०० को सङ्ख्यामा ट्रेकिङ इक्युपमेन्ट शप सञ्चालनमा आएका छन् ।
पदयात्रामा प्रयोग गरिने सामग्री गुणस्तरीय एवं टीकाउयोग्य हुनुपर्छ भन्ने उद्देश्यका साथ यसको व्यापार व्यवसायलाई व्यवस्थित बनाउन पोखरामा ट्रेकिङ इक्युपमेन्ट शप एशोसिएसन(टेसा) क्रियाशील रहेको छ ।
टेसा पोखराका अध्यक्ष नारायण सापकोटाका अनुसार पदयात्रा पर्यटनमा प्रयोग गरिने सामग्रीको बिक्री वितरणलाई प्रभावकारी बनाउने लक्ष्यका साथ पोखरामा २०५४ सालदेखि संस्थागत रूपमै टेसा क्रियाशील हुँदै आएको छ । हाल ७५ जना व्यवसायी टेसामा आवद्ध भएको जानकारी दिँदै उनले कोरोना कहरका कारण आफूहरूको व्यवसाय प्रत्यक्ष प्रभावित भएको बताए।
पोखरामा टेसा सम्बद्ध ११० जना व्यवसायीले कोरोना विरुद्धको खोप लगाइसकेको बताउँदै उनले बाँकी व्यवसायीका साथै पदयात्रा सम्बद्ध क्षेत्रका सबै व्यवसायी र मजदुरलाई खोपको व्यवस्था गर्नुपर्ने बताए । तथ्याङ्क अनुसार पोखरामा टेसा सम्बद्ध व्यवसायीले यसका लागि लगभग ९० करोड रुपैयाँ आफ्नै लगानी गरेका छन् भने बैकिङ क्षेत्रको लगानी लगभग ५० करोड रुपैयाँ रहेको छ । दुई वर्षदेखि कोरोनाका कारण व्यवसाय लगातार प्रभावित हुँदा यस क्षेत्रका करिब १५ प्रतिशत व्यवसायी पलायनको अवस्थामा पुगेको अध्यक्ष सापकोटाले बताए । उनका अनुसार यस व्यवसायबाट पोखरामा प्रत्यक्ष अप्रत्यक्ष ४५० जनाले रोजगारी पाएका छन् । रासस
Comments are closed.